Nic Ad Nic Ad
Nic Ad Nic Ad

माओवादीसँग माधव नेपालले एकीकरण गरे एकीकृत समाजवादीमा ठूलो बिद्रोहको पूर्वाभ्यास

बुधबार, भदौ १९, २०८१

काठमाडौं– समाजवादी मोर्चा हुँदै नेकपा माओवादी केन्द्रसँग एकीकृत समाजवादीको एकीकरणको विषय अहिले सेलाउने स्थितिमा पुगेको छ। 

एमालेसँगको विभाजनको औचित्य पुष्टि गर्न नसकेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादीसँग सहकार्य नभई पार्टी एकीकरणमा जाने एकल निर्णय गरे दोस्रो तहका नेतादेखि धेरैले बिद्रोह गर्ने तयारी गरेका छन्। 

भर्खरै महाधिवेशनबाट पदाधिकारी समेत छनौट गरिसकेको पार्टीका अध्यक्ष नेपालका लागि संगठन विस्तार फलामको च्यूरा चपाउनुसरह बनेको छ भने माओवादीसँगको एकता पनि दाँतमा ढुङ्गा लाग्ने स्थिति बन्ने पक्कापक्की भएको छ। 

पोलिटब्युरो सदस्य तथा उपाध्यक्ष पदमा पराजित नेत्री रामकुमारी झाँक्रीले भनिन्,‘मोर्चाबन्दीसम्म ठिक हुन्छ। तर, एकीकरण नै गर्ने नेतृत्वको निर्णय भयो भने त्यसमा ठूलो पंक्ति सहमत हुने स्थिति छैन।’

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा हुँदै बामपन्थी शक्तिको एकीकरणको प्रस्ताव पनि अगाडि सारेका छन्। त्यस क्रममा एकीकृत समाजवादीसँग एकीकरणका निम्ति माधवकुमार नेपालसँग तीन चरणको वार्ता समेत भइसकेको छ। 

प्रचण्डले बुधबार मात्र पनि दुई दलीय व्यवस्था ल्याउने प्रयास भएका कारण बामपन्थी एकीकरणसहित संघर्षमा जानुपर्ने बताएका थिए। ‘एकीकरण हुने भए एमालेसँग विभाजन हुनासाथ गरिन सक्थ्यौं। तर, हामी गठबन्धन र मोर्चामा मात्र गयौं, एकीकरणको सम्भावना छैन’, एकीकृत समाजवादीका एक नेता भन्छन्,‘त्यसो भयो भने ठूलो पंक्ति एमालेमा समाहित हुने सम्भावना छ।’
 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १४:४१
प्रतिक्रिया दिनुहोस्