Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुई बालिका हत्या प्रकरण : आमाद्वारा अपराध स्वीकार

बुधबार, भदौ १९, २०८१

विराटनगर- अस्मिता कार्कीले आफ्ना दुई छोरीलाई आफूले नै मारेको स्वीकार गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय मोरङमा उनलाई सार्वजनिक गर्ने क्रममा संक्षिप्त प्रतिक्रिया लिँदा उनले यस्तो बताएकी हुन् । 

`मैले सुरुमा विष पिएँ । मलाई छाती पोल्न थाल्यो । म मरे भने छोरीहरू जङ्गलमै हुने भए बरु मसँगै लैजान्छु भनेर उनीहरूलाई पनि विष खुवाएँ,´ उनले भनिन्, `श्रीमानले धेरै टर्चर गरेपछि मैले यसो गरेकी हुँ ।´

मोरङ सुन्दरहरैँचा–७ स्थित केरा बगानभित्र १ वर्षकी छोरी आईका र ३ वर्षकी छोरी अर्पणाकी आमा अस्मिता कार्कीलाई प्रहरीले आज पक्राउ गरेको हो। अस्मितालाई प्रहरीले बुधबार बिहान झापाबाट पक्राउ गर्न सफल भएको थियो । उनलाई आजै प्रहरीले सार्वजनिक गरेको छ । 

घटना भएको ५ दिनपछि बिर्तामोडस्थित सडकमा अस्वस्थ अवस्थामा फेला पारेर अस्मितालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । मोरङ प्रहरी प्रमुख नवराज कार्कीले उनलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा म्याद थप गरि अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

अस्मिताले गत शुक्रबार दुई छोरीलाई सँगै लिएर हिँडेकी थिइन् । तर, दुवै छोरीको शव शनिबार दिउँसो केराबारीमा फेला परेको थियो । आमा भने भेटिएकी थिइनन् ।

अस्मिता धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीकी पत्नी हुन् । अर्जुन पत्नी र २ छोरीसहित सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएका थिए । 

उनले नयाँ घर पनि बनाउँदै थिए । निर्माणाधीन घरमा पानी लगाउने विषयमा अर्जुनसँग पत्नी अस्मिताको विवाद भएको थियो । विवादपछि २ जना नाबालिका छोरीलाई लिएर अस्मिता बेपत्ता भएकी थिइन् । प्रहरीले नाबालिकालाई विष खुवाएर हत्या गरेको निष्कर्ष निकालेको छ । 

दुवै नाबालिकाको शवको अन्त्येष्टि गरिसकिएको छ । केरा बगानभित्र दिदीले बहिनीलाई अँगालो हालेको अवस्थामा शव फेला परेको थियो । नाबालिकाहरुको शव भेटिएको स्थानमा कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको थियो ।

 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्