Nic Ad Nic Ad
Nic Ad Nic Ad

न्यायाधीश रिक्त हुनु एक महिनाअघि नै सिफारिस गर्न सर्वोच्चको आदेश

बुधबार, भदौ १९, २०८१

काठमाडौँ - सर्वोच्च अदालतले न्यायाधीश पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था पालना गर्न न्याय परिषद्लाई आदेश दिएको छ ।

मंगलबार न्यायाधीशहरू हरि फुयाँल र विनोद शर्माको इजलासले न्याय परिषद् ऐन २०७३ को दफा ४ मा भएको व्यवस्था अनुसार सर्वोच्च अदालतका न्यायाधीशको पद रिक्त हुनुभन्दा कम्तीमा एक महिनाअघि नियुक्ति सिफारिस गर्न आदेश दिएको हो ।

२०७५ सालमा सर्वोच्च अदालतमा चार जना न्यायाधीश पद रिक्त हुँदा पनि पदपूर्ति भएको थिएन । अधिवक्ता दीपकविक्रम मिश्रले न्याय परिषद् ऐनको पालना नभएको भन्दै न्याय परिषद् सचिवालय समेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

सो रिट पटक पटक पेशी सर्दै ६ वर्षपछि मंगलबार फैसला भएको हो । सर्वोच्च अदालतमा अहिले पनि ४ जना न्यायाधीश पद रिक्त छ ।

मुद्दा पुरानो भए पनि अहिले पनि सान्दर्भिक रहेको भन्दै न्यायपरिषद ऐनको पालना गर्न आदेश भएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिए ।

सर्वोच्चमा प्रधान न्यायाधीशसहित २१ जना न्यायाधीश रहने संवैधानिक व्यवस्था भए पनि हाल १७ जना मात्र कार्यरत छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  २१:५१
प्रतिक्रिया दिनुहोस्