राष्ट्र बैंकले यसपाली नयाँको साटो सुकिला नोट दिने निर्णयको एउटा खास कारण
काठमाडौं– नेपालीको महान चाड दशैं भन्नासाथ आकर्षणको एउटा कारण हो– नयाँ नोट।
राष्ट्र बैंकले हरेक बर्ष नयाँ नोटको व्यवस्था गर्दै आएको थियो। तर यस पटक भने नयाँ नोट नछापी सुकिला नोट उपभोक्तालाई उपलब्ध गराउने राष्ट्र बैंकको निर्णय छ।
यसको पनि खास कारण रहेको अधिकारीहरूले जानकारी दिएका छन्। त्यो खासकारण अर्थतन्त्रमा भुक्तानी प्रणालीसँग जोडिएको छ।
केही वर्षयता सरकारले डिजिटल प्रविधिमार्फत् हुने आर्थिक कारोबारलाई क्रमिक रूपमा बढाउँदै लैजाने बताउँदै आएको छ।
सरकारका नीति तथा कार्यक्रम एवं वार्षिक बजेटमा पनि त्यसमा जोड दिइँदै आएको छ।
‘डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पनि यो निर्णय लिइएको हो,’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो।
नेपालमा अहिले सानातिना नोटहरू कारोबारमा प्रयोग नभएर केवल फिर्ता दिनका लागि प्रयोग हुन थालेको छ।
पछिल्ला समय विभिन्न माध्यमबाट नेपालमा डिजिटल प्रविधिमार्फत आर्थिक कारोबारमा उच्च बृद्धि भएको छ। ‘बिस्तारै नेपालको अर्थतन्त्र पनि क्यासलेस बनाउने नीतिअनुसार नै नोटको कारोबार न्यूनिकरणका लागि नयाँ नोट नछापिने भएको हो’, स्रोतले भन्यो।
परम्परागत रुपमा चलि आएको चाड पर्वमा उपभोक्तामा निराशा नआओस् भनेर सुकिला नोटको वितरणचाहिँ गरिन लागिएको राष्ट्र बैंकले जनाएको छ।