Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज तीजको दर खाने दिन

बिहीबार, भदौ २०, २०८१

काठमाडौँ - हरितालिका तीज व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला आज (बिहीबार) दर खाने तयारीमा छन् ।

भाद्र शुक्ल तृतीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन बेलुकी दर खाने परम्परा छ । दरलाई तीजको व्रतको ‘पूर्वतयारी’को रूपमा पनि लिइन्छ ।


 विशेषगरी नेपाली नारीहरूले मनाउने हरितालिका तीजको अघिल्लो दिन माइतीले आफ्ना चेलीलाई बोलाएर वा लिन गई दर खुवाउने परम्परा छ । दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने र उपलब्ध भएसम्मका खानेकुरा खाने गर्छन् । कर्म घरमै रहेका महिलाले पनि परिवारका सदस्यसँगै दर खाने गर्छन् ।

भोलिपल्ट व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ । विशेषगरी दूधबाट बनेका खिर, ढकनेका साथै चाम्रे, सेलपुरी, पुआ र गुँदपाकका साथै फलफूल खाने चलन छ । यस्तै मौसमी तरकारी–अचार बनाएर पनि खाने चलन छ ।

दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने मान्यता रहेको छ । तर, केही वर्षदेखि नेपालमा एकडेढ महिना अघिदेखि नै पार्टी प्यालेसमा भोज गर्ने र दरका नाममा तामसिक पदार्थ खाने चलन बढ्दै गइरहेको छ ।

आज दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १०:१४
प्रतिक्रिया दिनुहोस्