Nic Ad Nic Ad
Nic Ad Nic Ad
पोलिटब्युरो बैठकमा कठोर अध्यक्ष

ओलीको निशानामा महेश बस्नेत, ऐन महरदेखि गुलावजङ्गसम्म, दिए यस्तो चेतावनी

नैतिक आचरण गुमाएका, पार्टीको बदनाम गरेका नसच्चिए निस्कनसमेतको उर्दी!
बिहीबार, भदौ २०, २०८१

काठमाडौं– बाहिर आलोचना खेपिरहेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्यदेखिका नेता कार्यकर्तामाथि चरित्रको प्रश्न उठाएका छन्। 

पार्टीमा काम नगर्ने भए, इन्जोय मात्र गर्ने भए एमाले छाड्नका लागि उनले कडा चेतावनी दिएका हुन्। पछिल्ला चरणमा एमालेका कतिपय नेताहरूमाथि विभिन्न प्रकारका आरोप, अभियोगका उजुरी ओलीको सचिवालयसम्म नै पुगेको थियो। 

कार्यकर्ताहरूमा अनुशासनहीन, चरित्रहीन र नैतिकहीन गतिविधि बढेको पोलिटब्युरो बैठकमा ओलीले उठाएका थिए। 

‘कि राजनीति गर्नुपर्छ, कि इन्जोय रोज्नुपर्छ । दुवै एकैपटक गर्न पाइँदैन’, बैठकमा ओलीले भनेका थिए,‘एमाले कुनै ढल होइन, आचरणहीन, नैतिकहीन, चरित्रहीन कुरालाई कुनै हालतमा सहँदैन र त्यो व्यक्ति एमाले हुन सम्भव छैन।’

पछिल्लो चरणमा पोलिटब्युरो सदस्य महेश बस्नेत, केन्द्रीय सदस्य ऐन महर र गुलावजंग शाहबारेको उजुरी ओलीकहाँ पुगेको थियो। विभिन्न महिलासँग नाम जोडिएर पुगेका त्यस्ता उजुरी र भिडिओ प्रमाण नै सचिवालयमा पुगेको बताइएको छ। 

केही समयअघि मात्र नेता बस्नेतले यौन शोषण गरेको भनी शोभा पाठकले ओलीको सचिवालयमा उजुरी गरिनन् मात्र, आफूमाथि आक्रमण गराइएको भनी अभियोग समेत लगाइन्। 

यो विषय यत्तिमा टुंगो नलगाई पाठकले अभियन्ताका नाममा बिख्यात बन्न थालेका दुर्गा प्रसाईको घर र शरणसम्म पुगेकी थिइन्।

यसबाहेक ऐन महरको पनि पार्टीका दुई महिला कार्यकर्तासँगको सम्बन्धको विषय विवादमा आएको थियो। सोही विवादका कारण केही समय उनलाई केन्द्रीय सदस्यबाट हटाइएको थियो। 

पछि मात्र उनको उक्त पदलाई खुला गरिएको थियो। सचिवालय बैठकले महरको केन्द्रीय सदस्य पद फिर्ता गरेको थियो। तर, ओलीले उक्त अभियोग र नैतिक चरित्रका विषयमा अहिलेसम्म प्रश्न उठाइरहेका छन्। 

कर्णालीका गुलावजङ्ग शाहमाथि पनि ओली खनिएको बैठकमा सहभागी स्रोतले जनाएको छ। 
 

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्