Nic Ad Nic Ad
Nic Ad Nic Ad

पोखरा र भैरहवामा उडान भर्न चाइना साउदर्न एयरलाइन्स तयार

बिहीबार, भदौ २०, २०८१

काठमाडौं–संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्नेबारे कुरा भएको छ।

विहीबार चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिले मन्त्री पाण्डेलाई भेटेर पोखरा र भैरहवामा उडान भर्न आफूहरू उत्साहित रहेको बताएका हुन् ।

४० भन्दा बढी मुलुकमा सेवा दिँदै आएको चीनको चर्चित एयरलाइन्स चाइना साउदर्नले नेपालमासमेत आफ्नो सेवा उत्कृष्ट रहेको दाबी गरेको छ ।

चीनको ग्वान्झावबाट काठमाडौंमा नियमित उडान भर्दै आएको उक्त एयरलाइन्सले पोखरा र भैरहवा उडानका लागि मन्त्री पाण्डेले नीतिगत रूपमा गरेको सुधारबारे जानकारी लिएको थियो।चाइना साउदर्न एयरलाइन्सले पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने कुराको मन्त्री पाण्डेले स्वागत गरे ।

‘तपाईंहरू पर्यटकीय राजधानी पोखरा र भगवान गौतम बुद्धको जन्मस्थल भैरहवा उडान भर्ने कुरामा स्वागत गर्न चाहान्छु’, उनले भने, ‘यसले द्विपक्षीय हित आपसी सम्बन्ध विस्तारमासमेत फाइदा पुग्ने छ । तपाईंहरूको नियमित उडानले दुवै मुलुकलाई फाइदा पुग्ने छ ।’

मन्त्री पाण्डेले नेपाल एयरलाइन्सले चाइना साउथ एयरलाइन्सबाट हवाई सुरक्षाबारे लाभ लिनेसमेत प्रस्ट पारेका छन् ।

मन्त्री पाण्डेले हवाई उडानका क्रममा नेपाली पक्षबाट केही कमजोरी भए जानकारी गराउन भनेका छन् ।


 

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्