Nic Ad Nic Ad
Nic Ad Nic Ad

कैद कट्टाका लागि ४९२ कैदीमाथि उजुरी आह्वान

बिहीबार, भदौ २०, २०८१

काठमाडौं - विभिन्न कसुरमा कैदमा रहेका ४९२ कैदीबन्दीको कैद कट्टाका लागि सार्वजनिक सूचना आह्वान गरिएको छ । कारागार व्यवस्थापन विभागले एक सूचना जारी गर्दै कैदीबन्दीको नामावलीसहित ७ दिने सूचना निकालेको हो । कैद कट्टा गर्न लागिएका व्यक्तिमाथि कुनै गुनासो तथा उजुरी भए ७ दिनभित्र दिन विभागले सूचना जारी गरेको छ ।

जसमा ५० प्रतिशत कैद भुक्तान गरेका ४१९ जना, ज्येष्ठ नागरिक २ जना, मलुकी फौजदारी अपराध संहिता कार्यान्वयन हुनभन्दा पहिला भएका घटनामा संलग्नहरु ७१ जना गरी ४९२ जनाको नाम रहेको छ ।

फौजदारी संहिता कार्यान्वयन हुनु भन्दा पहिला भएको घटनामा ४० प्रतिशत कैद भुक्तान पछि बाँकी कैद कट्टा गर्न सकिने व्यवस्था छ । त्यसअघि ९ असारमा पनि ६२० जनाको कैद कट्टा गर्ने भन्दै सार्वजनिक सूचना निकालिएको थियो । त्यसको दुई महिनापछि फेरि ४९२ जनाको कैद कट्टा गर्ने भन्दै सूचना सार्वजनिक गरिएको छ । उनीहरु दुबै जना ३ असोजमा संविधान दिवसको अवसरमा छुट्ने गरी प्रक्रिया अघि बढाइएको कारागार व्यवस्थापन विभागका जयनारायण आचार्यले बताए ।

‘सरकारले एक वर्षमा विभिन्न उपलक्ष्यमा चार पटकसम्म कैद कट्टा गरेर कैदीहरुको रिहा गर्न सक्छ । यसअघि १५ जेठमा गणतन्त्र दिवसमा कैद कट्टा गरेर रिहा हुनुपर्नेमा केही कानुनी जटिलता भएर रोकिएको थियो’,‘कानुनी प्रक्रिया सल्टाएपछि गणतन्त्र दिवसको अवसरमा छुट्नेहरु ६२० को सूची निकालिएको थियो । अहिले संविधान दिवसमा छुट्नेहरुको सूची सार्वजनिक गरिएको हो ।’

१५ जेठमा गणतन्त्र दिवसको अवसरमा कैद कट्टा गरी कैदीबन्दी रिहा हुँदै आएका थिए । तर यस वर्ष गणतन्त्र दिवशमा कैदी रिहा भएका छैनन् ।

कैद कट्टासम्बन्धी नियमावली २०७६ संशोधन नभएकाले ६२० जनाको सूचना ढिलो निकालिएको थियो ।यसअघिसम्म कैदीबन्दी रिहा गर्दा उनीहरुविरुद्ध उजुरी आह्वान गर्ने र पीडितको सहमति लिने प्रचलन थिएन । तर व्यक्ति हत्यामा सजाय भुक्तान गरिरहेका बाँकेका योगराज ढकाल (रिगल) रिहा भएपछि पीडित पक्षले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

 

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १८:१९
प्रतिक्रिया दिनुहोस्