७० हजारमा आफ्नै मिर्गौला बेचेपछि तस्करीका नाइके बनेछन् परियार, कथा यस्तो छ
काठमाडौं– नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले मिर्गौला तस्करीको आरोपमा तीन जनलाई पक्राउ गरेको थियो।
ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३७ वर्षीय शंकर खत्री, मकवानपुरको भीमफेदी गाउँपालिका–२ की ४२ वर्षीया शान्तिमाया घलान र काठमाडौंको नैकापका ५५ वर्षीय नारायण परियारलाई ब्युरोले पक्राउ गरेको थियो।
यसपछि मिर्गौला तस्करीको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो। यस क्रममा परियार मुख्य नाइके भएको ठम्याईमा पुग्यो, ब्युरोको अनुसन्धान टोली।
परियारले एक युवकलाई मिर्गौला बेच्न राजी गराएर १० लाख आउने भन्दै काठमाडौंको बल्खुदेखि स्थलमार्ग हुँदै वीरगञ्ज रक्सौल हुँदै कोलकत्ता पुराएका रहेछन्। १० लाख दिने भने पनि ४ लाख ३० हजार मात्र ति युवकले पाएको सूचनाका आधारमा प्रहरी मिर्गौला तस्करीको अनुसन्धान गर्न सफल भएको थियो।
यसक्रममा अनौठा सूचना हात लागेको प्रहरी स्रोतले जानकारी दियो।
स्थलमार्गबाट भारत जाँदा प्रहरीले केरकार गरे सपिङ गर्न हिँडेको भन्नु भन्दै ति युवालाई परियारले कोलकत्ता लगेका थिए। पक्राउ परेका परियारविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ९ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ।
अनुसन्धानका क्रममा परियार आफैंले समेत मिर्गौला बेचेको पाइएको ब्युरोले जनाएको छ। उनले ७० हजारमा एउटा मिर्गौला बेचेको स्वास्थ्य परिक्षणबाट पुष्टि भइसकेको छ भने उनले प्रहरीलाई खत समेत देखाएका थिए।
८–९ बर्षअघि आफूले मिर्गौला बेचेपछि यसको तस्करीको धन्दाको बाटो परियारले पत्ता लगाएका थिए। यसपछि परियार यहि धन्दामा लागेको अहिलेसम्म खुलेको छ।
ब्युरो उच्च स्रोतका अनुसार अझै पनि यस विषयमा अनुसन्धानको काम जारी छन्।