काठमाडौंबाट आतंकवादीले अपहरण गरेको विमानमा सवार जनकलाल श्रेष्ठको अनुभव र विवादीत सेरिज
काठमाडौं– काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २४ बर्षअघि आतंकवादीको अपहरणमा परेको भारतीय विमानको विषयमा नेटफ्लिक्सले एउटा सेरिज बनाएको छ। त्यसको नाम हो– ‘आईसी ८१४ः दी कान्दहार हाइज्याक’।
अहिले यो सेरिज विवादमा तानिएको छ। भारतीय सरकारले यस विवादबारे चासो पनि राखेको छ।
डिसेम्बर २४ सन् १९९९ मा नेपालबाट उडेपछि अपहरणमा परेको भारतीय यात्रुवाहक विमानबारे बनेको सेरिजमा उल्लेख गरिएका पात्रका विषयमा प्रश्न उठेको छ भने त्यसैकारण विवादीत पनि बनेको हो।
अनुभव सिन्हाले निर्देशन गरेको वेब सेरिजकोे कथावस्तु काठमाडौंबाट दिल्लीका लागि उडेको भारतीय यात्रुवाहक विमान अपहरणमा केन्द्रित छ।
भारतीय जेलमा रहेका आफ्ना लडाकुहरूको रिहाइ माग गर्दै तालिबानले विमान अपहरण गरेर अफगानिस्तानको कान्दहार लगेको थियो।
विमान आठ दिनसम्म अपहरणकारीको नियन्त्रणमा रहेपछि भारत सरकार र अपहरणकारीबीच सम्झौता भएको थियो। विमान र यात्रु फिर्ता ल्याउन भारतले मसूद अजहरसहित अरू लडाकुहरूलाई मुक्त गरेको थियो।
अजहर र अन्य लडाकुलाई जेलमुक्त गर्ने भारतको निर्णय त्यस बेला विवादित बनेको थियो। सन् १९९९ मा सत्तामा रहेको भारतीय जनता पार्टीले उक्त निर्णयका कारण विपक्षी दलहरूबाट आलोचना खेप्नु परेको थियो।
कुल ६ वटा छोटाछोटा भाग भएका यो सेरिज अपहरित विमानका क्याप्टेन देवी शरणको पुस्तक ‘फ्लाइट इनटू फिअरः द क्याप्टन्स् स्टोरी’मा आधारित छ। उक्त पुस्तक पत्रकार श्रीञ्जय चौधरीसँगको सहलेखनमा प्रकाशित भएको विवरणसहितको समाचार बीबीसीले लेखेको छ।
गत साता प्रदर्शनमा आएको उक्त सेरिज अपहरणकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान चढ्दै गर्दाको दृश्यबाट सुरु हुन्छ।
उक्त विमानमा पाँच अपहरणकारी र चालकदलका ११ सदस्यसहित १७९ जना थिए। उडेको केही मिनेटमै अपहरणकारीहरूले विमान अपहरणमा परेको घोषणा गर्छन्।
यो सेरिज अपहरणकारी, चालकदलका सदस्य र यात्रुहरूबीचको कुराकानीमा केन्द्रित छ। सँगसँगै यसले सङ्कट समाधानका लागि भारतीय सरकारी अधिकारीहरूले गरेको काम पनि देखाएको छ।
यस विमानमा रहेका एक जना नेपाली यात्रीको समेत अनुभवबारे बीबीसी नेपाली न्यूजको अर्काइभमा विवरण फेला परेको छ।
मुखुन्डो लगाएका एक व्यक्तिले चक्कु बोकेको देखेपछि उक्त विमानमा यात्रा गरिरहेका नेपाली यात्रु जनकलाल श्रेष्ठलाई कसैले ख्यालठट्टा गरे जस्तो लागेको थियो।
तर त्यो ठट्टा थिएन। बरु त्यसपछिका आठ दिन हाम्रा लागि चलचित्रका दृश्यजस्तै भइदिए।
श्रेष्ठले दुई दशकअघि भएको “त्रासदीपूर्ण“ घटनाको स्मरणको विषय बीबीसी नेपाली न्यूजले ५ बर्षअघि सन् २०१९ मा प्रकाशित गरेको थियो।
उनी श्रीमतीलाई लिएर दिल्ली हुँदै उपचारका लागि भेलोर जाँदैथिए। उनकी श्रीमतिको त्यो पहिलो विमानयात्रा थियो।
सुरुमा उनले शनिवारको टिकट काटेका थिए। तर बुहारीले शनिवार यात्रा गर्न शुभ नहुने भनेपछि श्रेष्ठ दम्पती एक दिनअघि यात्रा गर्दैथिए।
‘यात्राभरि बुहारीसँग धेरै रिस उठ्यो। तर त्यो हाम्रो लागि हुनै लेखेको थियो र भाग्यले बुहारीको मुखबाट त्यो बोलाइएको थियो’, उनले भनेका थिए।
अपहरण भएपछि विमान पाकिस्तानसँगको भारतीय सीमावर्ती सहर अमृतसर लगिएको थियो।
सुरुमा विमान पाकिस्तानी सहर लाहोर लैजान अपहरणकारीले दबाव दिएका थिए। तर एकातर्फ इन्धनको कमी र अर्कोतर्फ पाकिस्तानले अनुमति नदिएपछि विमान अमृतसरमा रोकियो।
अपहरणकारीहरूले भारतीय भूमि छाड्न दबाव दिएकै कारण अमृतसरबाट निकै कम इन्धनका भरमा विमान पुनः लाहोरका लागि उड्यो। पाकिस्तानले अन्ततः अवतरण अनुमति दिएको थियो।
त्यहाँबाट इन्धन भरेर विमान अफगानिस्तान जान खोजेको भए पनि काबुलमा राति अवतरण गर्ने सुविधा नहुँदा उक्त विमान दुबई गयो।
त्यहाँबाट भने विमानलाई तत्कालीन तालिवान शासन रहेको कान्दाहार पु¥याइयो। र त्यहीँबाट भारत सरकारका प्रतिनिधिसँग उनीहरूले महत्त्वपूर्ण वार्ता गरे।
त्यहाँ भएका वार्तामा सघाउन र नेपाली पक्षका कुरा राख्न भनेर पाकिस्तानस्थित नेपाली दूतावासका एकजना कूटनीतिज्ञ युगनाथ पौडेललाई समेत कान्दाहार पठाइएको थियो।
जनकलाल श्रेष्ठ सम्झन्छन्, ‘विमानभित्र हामीलाई भने कहाँ छौँ, कता गइरहेका छौँ भन्ने केही थाहा थिएन।’
‘सुरुमा मैले कति पटक उडेको र ओर्लिएको भनेर विचार गर्न खोजेको थिएँ। तर पछि अरू कुराको तनाव हुन थालेपछि त्यो पनि छाडिदिएँ’, उनले भनेका थिए।
उनकी श्रीमती शान्ति श्रेष्ठले नियमित औषधि सेवन गर्नुपर्थ्यो। तर अपहरणकारीले सबैका झोलाहरू खोसेर अलग्गै राखिदिएका थिए।
चौबीस घण्टापछि बल्ल उनलाई औषधि खाने अनुमति दिइयो।
सुरुको २४ घण्टा सबैभन्दा त्रासदीपूर्ण रहेको श्रेष्ठ बताउँछन्। बिरामीहरूलाई समेत शौचालय जाने अनुमति नदिँदा छेउमै बसेका एक भारतीय यात्रुले पहिल्यै माफी मागेर बीअरको बोतलमा पिसाब फेरेको उनी अहिले पनि सम्झिन्छन्।
कान्दाहारमा वार्ता चलिरहेका बेला डिसेम्बर ३० मा एक पटक ती अपहरणकारीले ‘कुरा मिलेन म अब एकएक गरेर मार्छु, ईश्वरको नाम लिऊ’ भन्दा आफूलाई सबैभन्दा धेरै डर लागेको उनले बताएका थिए।
‘तैपनि नेपाली भएकाले अन्तिम समयसम्म हामीलाई चाहिँ केही नगर्लान् कि भन्ने झिनो आशा भने थियो’, श्रेष्ठले स्मरणबारे उल्लेख गरिएको छ,‘सुरुमा मारेनन् भने त कुनै न कुनै बेला वार्ता मिल्ला भन्ने आशा थियो।’
उक्त अपहरण प्रकरणमा ज्यान गुमाउने भारतीय नागरिक रूपन कात्याललाई उनीहरूको मार्ने नै उद्देश्य भए जस्तो श्रेष्ठलाई लाग्दैन थियो।
श्रेष्ठका अनुसार छुरी हानेर पीडितको आर्तनाद भारत सरकारलाई सुनाएर दबाव दिन उनीहरूले खोजेका थिए तर अत्यधिक रक्तस्राव भएर उनले ज्यान गयो।
पाकिस्तानमा अपहरणकारीले एक व्यक्ति बिरामी परेको भन्दै शरण दिन आग्रह पनि गरेका थिए। तर त्यहाँको सरकारले नमानेको हुँदा दुबई पुग्दासम्म उनको ज्यान गएको थियो।
आठौँ दिन वार्ता टुङ्गोमा पुगेपछि नयाँ वर्षसँगै भारतबाट गएका दुई विमानले यात्रुहरूलाई दिल्ली फर्काए। उक्त विमानमा राम्ररी खाना खान पाउँदाको क्षणबारे पनि उनले उल्लेख गरेको छ।
जनकलाल श्रेष्ठ भनेका थिए,‘आठ दिन त सबथोक भद्रगोल थियो। कहिलेकाहीँ थोरै रोटी खान पाउँदा पनि फेरि खाना आउने हो कि हैन भन्ने सोचेर त्यो पनि बचाएर राख्नुपर्थ्यो।’
अरूले थोरैथोरै भए पनि कुखुराको मासु र रोटी पाउँदा कान्दाहारमा एक शाकाहारी दम्पतीलाई भने एउटा सुन्ताला भाग लगाएर खान दिएको देख्दा आफूलाई निकै चित्त दुःखेको उनले बताएका थिए।
आठ दिन त्यसरी पूरा संसारसँग छुटिएर बस्नुपर्दा एक विमानचालकले ‘यहाँबाट मुक्त हुन पाए साइकल चलाएर बस्थेँ’ भनेको पनि श्रेष्ठले स्मरण गरेका थिए।
त्यत्तिका दिन शौचालय सफा नभएकाले पूरै दुर्गन्धित भएको थियो। दिल्ली आएपछि भने श्रेष्ठ दम्पती उपचारका लागि भेलोर नगई फर्किएका थिए।
यो सामग्री र तस्बिर बीबीसी नेपाली न्यूजबाट लिइएको हो।