Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँ महानगरपालिकाले फरक शैलीमा मनायो निजामती सेवा दिवस

शुक्रबार, भदौ २१, २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्षको निजामती सेवा दिवस परम्परागत ढाँचा भन्दा भिन्न तरिकाले मनाएको छ । महानगरले एकल सेवा केन्द्रको शुभारम्भ गर्दै सेवाग्राहीलाई छरितो, प्रभावकारी, र विश्वासिलो सेवा प्रदान गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरेर मनाएको हो ।

गत श्रावणमा गरिएको सेवाग्राही सर्वेक्षणमा प्राप्त सुझावहरूको आधारमा सेवा सुधार गर्दै महानगरले एकल सेवा केन्द्रको सञ्चालनलाई मूर्त रूप दिएको हो ।

चार महिनाको अथक प्रयासपछि, २०८१ साल भाद्र २१ गतेबाट ‘एकल सेवा केन्द्र सञ्चालन कार्यविधि, २०८०’ पूर्ण रूपमा कार्यान्वयनमा आएको महानगरले जनाएको छ । यो सेवा केन्द्रको उद्घाटनका अवसरमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले पहिलो सेवाग्राहीलाई फूल गुच्छाले स्वागत गर्दै पालो प्रणालीको पहिलो टोकन हस्तान्तरण गरेका थिए । यस अवसरमा उपप्रमुख, प्रवक्ता, वडाध्यक्ष, विभागीय प्रमुखहरू लगायतका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

शुभारम्भ भएको एकल सेवा केन्द्रले पहिलो दिनमै विपन्न नागरिक उपचार सिफारिस सेवा उपलब्ध गराएको छ, जसमा सेवाग्राहीलाई एक घण्टा भित्र सेवा दिइएको प्रमुख प्रशासकीय अधिकृत परियारले प्रशासनलाई जानकारी दिए । नागरिकलाई छिटो, छरितो र विश्वासिलो सेवा दिने उद्देश्यले स्थापित यो केन्द्रले महानगरका सेवाहरूलाई अझ प्रभावकारी बनाउन भूमिका खेल्ने प्रमुख प्रशासकीय अधिकृत परियारको विश्वास छ । 

एकल सेवा केन्द्रको संरचना र सेवाहरू
एकल सेवा केन्द्रको नेतृत्व नवौँ तहका कर्मचारीले गरेका छन्, जहाँ १३ जना कर्मचारीहरू कार्यरत छन् । यसमा एक जना अधिकृत, ६ जना काउन्टर कर्मचारी, ३ जना नगर प्रहरी र ३ जना कार्यालय सहयोगी रहेका छन् । सेवाग्राहीहरूको सुविधालाई ध्यानमा राख्दै दुई वटा इन्फरमेसन कियोस्क स्क्रिन राखिएको छ, जसको प्रयोगबाट सेवाग्राहीले प्रमुख, उपप्रमुख र अन्य विभागीय प्रमुखहरूसँग अनलाइन मार्फत भेटघाटको लागि समय निर्धारण गर्न सक्छन् ।

यसका साथै, सेवाग्राहीलाई लाइनमा लामो समय उभिनु नपरोस् भनेर स्वचालित विद्युतीय टोकन प्रणाली स्थापना गरिएको छ । सेवा केन्द्रको गतिविधि प्रत्यक्ष अनुगमन गर्न सिसी क्यामरा समेत जडान गरिएको छ । यस सेवा केन्द्रमा ६ वटा काउन्टरहरू प्रयोगमा ल्याइएका छन्, जसले सेवा प्रवाहलाई थप सहज बनाएको छ । 

थप सेवाहरू
एकल सेवा केन्द्रले सेवाग्राहीको सुविधा र स्वास्थ्यलाई ध्यानमा राख्दै विशेष व्यवस्था गरेको छ । यहाँ स्तनपान कक्ष, मनोसामाजिक परामर्शदाता सेवा, र नर्स सहितको प्राथमिक स्वास्थ्य सेवा कक्ष उपलब्ध छ । त्यस्तै, सेवाग्राहीलाई निःशुल्क कफी, चिया, तातोपानी तथा मोबाइल चार्जिङको सुविधा पनि प्रदान गरिएको छ ।

काठमाडौँ महानगरपालिकाले एकल सेवा केन्द्रको माध्यमबाट सेवा प्रवाहलाई थप गुणस्तरीय र सर्वसुलभ बनाउने दिशामा महत्त्वपूर्ण कदम उठाएको छ । यस प्रकारको सेवा सुधारले निजामती सेवा दिवसलाई नयाँ आयाम दिएको छ, जसले नगरवासीको महानगरप्रतिको विश्वास बढाउँदै लैजाने विश्वास गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  २०:३९
प्रतिक्रिया दिनुहोस्