Nic Ad Nic Ad
Nic Ad Nic Ad

राजनीतिक परिवर्तनप्रति कर्मचारीहरूले गरेको योगदान प्रशंसायोग्य छ : प्रधानमन्त्री

शनिबार, भदौ २२, २०८१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरूले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य भएको बताएका छन् । 

निजामती सेवा दिवसका अवसरमा सम्पूर्ण निजामती कर्मचारीलाई बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले तानाशाही विरुद्धको सङ्घर्ष, त्यस सङ्घर्षमा खेप्नु परेको पीडा र गर्नु परेको बलिदान एवं आफ्ना पेसागत हकहितका भएका आन्दोलन उल्लेखनीय रहेको बताए । निजामती सेवाले कानुनी रूपमा संस्थागत स्वरूप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ गते यो दिवस मनाउने गरिएको छ ।

प्रधानमन्त्री ओलीले कर्मचारीहरूले सहभागिता जनाएका र योगदान पुर्‍याएका आन्दोलनहरू सफल भएका र कर्मचारीका मागहरू क्रमशः पूरा हुँदै गएका उल्लेख गरेका छन् । “आज देशमा लोकतन्त्र छ, लोकतान्त्रिक संविधान छ र जनतामा सार्वभौमसत्ता रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली छ । अब हामी जो जहाँ छौँ, त्यहीँबाट सबैले यस प्रणालीलाई सफल पार्नु छ । यतिबेला समस्त कर्मचारीले स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ राष्ट्रिय एकताको भावधारामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटोमा अग्रसर हुनु जरुरी छ”, उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । 

यसका लागि आफ्नो दक्षता अभिवृद्धि गर्न र देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुनसमेत जरुरी रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सम्पूर्ण निजामती कर्मचारीमा उच्च नैतिक आचरण, इमान्दारिता र पेसागत निष्ठामार्फत जनताप्रति उत्तरदायी र असल शासनको व्यावहारिक अनुभूति प्रदान गर्न सफलता मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् । नेपालको विभिन्न शासकीय व्यवस्थामा निजामती सेवाले आफ्नो सहभागिता जनाउँदै आएको भन्दै उनले लोकतान्त्रिक शासन व्यवस्थामा यसको भूमिका र जिम्मेवारी अझै गहन तथा व्यापक हुँदै गएको बताएका छन् । 

“लोकतन्त्रका लाभहरूको वितरण आम नागरिकसम्म पुर्‍याई जनताको सेवा गर्न, राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि गर्न निजामती सेवाको भूमिका महत्त्वपूर्ण हुन्छ । निजामती सेवाको यस्तो भूमिकामार्फत नै मुलुकको आर्थिक–सामाजिक विकास गर्न सकिन्छ र त्यसैको माध्यमबाट हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नुपर्नेछ”, प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा उल्लेख छ ।

राष्ट्रको यस आकाङ्क्षा पूरा गर्न सम्पूर्ण निजामती कर्मचारीले आफ्नो क्षमता अभिवृद्धि गर्ने ज्ञान, सीप, दक्षता एवं त्यस क्षमतालाई निष्ठा र इमान्दारीपूर्वक व्यवहारमा प्रदर्शन गर्नुपर्ने उनको भनाइ छ । निजामती कर्मचारीहरूमाथि लाग्ने गरेका तमाम गुनासालाई चिर्दै पेसागत मूल्यमान्यता, व्यावसायिकता र निष्ठालाई आत्मसात् गरी उच्च नैतिक आचरण र व्यवहारमार्फत सेवा प्रदान गर्न प्रत्येक निजामती कर्मचारीले आफूलाई समयानुकूल ढङ्गले रूपान्तरण गर्नुपर्ने प्रधानमन्त्री ओलीको सुझाव छ । उनले मुलुकमा उत्पन्न हुने प्राकृतिक प्रकोप बाढी, पहिरो, आगलागीजस्ता विपद्जन्य घटनामा राष्ट्रसेवकले देखाएको परोपकारी भावना र सम्पादन गरेको काम प्रशंसनीय रहेको उल्लेख गरेका छन् । जनताले अनुभूत हुनेगरी सेवा प्रवाहलाई सरल, सहज र समयानुकूल बनाउँदै अगाडि बढ्न प्रधानमन्त्री ओलीले सबै राष्ट्रसेवकलाई आग्रह गरेका छन् ।  

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  ०७:०९
प्रतिक्रिया दिनुहोस्