Nic Ad Nic Ad
Nic Ad Nic Ad
श्यामश्वेत

प्रधान कार्यालयलाई प्रश्न– समानान्तर हेडक्वार्टर चलाएका एआईजी ज्ञवालीमाथिको अनुसन्धान कहाँ पुग्यो?

शनिबार, भदौ २२, २०८१

कतिपय प्रश्नहरूको सान्दर्भिकतामाथि प्रश्न नै गर्नुपर्ने हुन्छ। कुनै व्यक्ति विशेषलाई होइन, प्रवृत्तिमाथि पात्रको उदाहरण पेश गरिनुपर्छ।

राजनीतिक हस्तक्षेप, आन्तरिक षडयन्त्रले थिलथिलो बनेको नेपाल प्रहरी संगठनभित्र आगामी दिनमा कस्तो नजीर स्थापित होला? त्यो पनि त प्रश्न हो। 

विविध प्रकारका प्रश्न टिप्पणीकारले कहाँ उठाएको हो र? यो त प्रहरी प्रधान कार्यालयले नै उठाएर छानबिन समिति गठन गरेको होइन र? त्यसैको कसीमा उभिएर केही आन्तर्य र थप प्रश्न उठाउने सुविधा टिप्पणीकारले पाएको छ। 

यहि उपक्रममा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) श्यामलाल ज्ञवालीमाथिका प्रश्न स्वभाविक र सान्दर्भिक हुन आउँछन्। उनी यहि भाद्र २५ गते राति १२ बजेबाट उम्मेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन्। अवकाशको संघारमा उनको बहिर्गमन सुखद देखिरहेको छैन।

२९ बर्ष ५ महिना २० दिन जागिर खाँदा पनि नपुगेर जागिर जोगाउन सर्वोच्च अदालतमा रिट समेत हाल्न भ्याए। 

भाद्र २० गते सम्मानित सर्वोच्च अदालतले उनको निवेदनमाथि सुनुवाई गर्दै ज्ञवालीका पक्षमा स्टे अर्डर जारी गर्न उचित ठानेन। अब प्रहरी युनिफर्म सुटकेशमा थन्क्याउँदै घर जानुको विकल्प उनीसँग छैन। विशेषगरी एआईजी भएदेखि विवादै विवादको चौघेरामा उनको करिअर समाप्त हुने अन्तिम विन्दूमा आईपुगेको छ।

आफ्नै सहोदर दाई ठाकूर ज्ञवाली नेपाल प्रहरीको आईजी भएपछि श्याम ज्ञवालीको महत्वकांक्षा ह्वात्तै बढेर गएको थियो। दाई आईजी हुँदा यिनले शक्तिको व्यापक दुरुपयोग गरेका थिए। प्रहरीको लेखापाल देखि, अधिकृतको सरुवा बढुवामा राम्रै हस्तक्षेप गरे। 

आफ्नो प्यानल भनिएका र कम्फोर्टेवल ठानिएका अधिकृतहरूलाई छानि छानि अवसर दिने र अन्यलाई पाउने अवसरहरूबाट समेत बञ्चित गरेका थिए। ज्ञवालीमाथि रानीपोखरी र परिसरमा बसेर आईजीको सचिवालय चलाएको भन्ने आरोप समेत लागेको थियो। 

श्यामलाल ज्ञवालीका कथाहरू यत्तिमा मात्र सिमित छैनन्। आफ्नै दाई आईजीको आडमा काठमाडौं परिसरमा किलो वान भएर गए। उनको कार्यकालमा प्रहरी प्रधान कार्यालयको बजेट शाखाबाट काठमाडौं परिसरको लागि कति बजेट विनियोजन भएको थियो भनेर खोजनीति गर्दा थाह हुन्छ। 
हेडक्वार्टरले पठाएको बजेट के गरे र प्रहरी संगठनको हितमा कति लगाए भन्ने कुराले अर्थ राख्ने होला। परिसरमा आएको बजेटका बारेमा पहिलेदेखि कार्यरत लेखापालसँग स्वार्थ बाझेपछि लेखापाल परिवर्तन गरि आफूूले भने बमोजिम काम गर्ने मान्छेलाई सरुवा गरि कतिसम्म आर्थिक अनियमितता गरेका थिए भन्ने कुरा अनुसन्धान गर्दा प्रष्ट हुने विषय हो। 

श्याम ज्ञवालीले एसएसपीबाट डिआईजी हुनेवेला पहिलो नम्बरमा बढुवा हुन खुबै जोडवल गरे। माओवादी अध्यक्ष प्रचण्डलाई प्रभावमा पारि अगाडि आउन प्रहरी नेतृत्वलाई दबाब दिन लगाए। 

प्रहरी निरीक्षकमा जागिर खाएदेखि आफूूभन्दा सिनियरलाई गालीको बर्षा गर्ने श्यामलाल ज्ञवालीलाई पहिलो नम्बरमा बढुवा दिनुपर्ने थप कुनै आधार र कारणहरू थिएनन्। खुराफाति कर्म र व्याचीहरूको कुरा लगाएकै भरमा जागिर खाएका ज्ञवाली अत्यन्त गैरव्यवसायिक धरातलमा विश्वास गर्ने अफिसर हुन् भन्नेकुरा उनले गरेका हर्कतहरूबाट प्रमाणित हुन्छ। 

काठमाडौं परिसरको प्रमुख हुँदा सुनधाराको आकाशे पुलबाट बरामद गरिएको चौध केजी सुन समातिएको एक घण्टामै चाँदीमा परिणत भएको थियो। 

बौद्ध प्रहरी वृत्तको डिएसपी हुँदा सी–माला एक्सचेञ्ज गरेको भनिएको विवादमा झण्डै जागिर जानबाट जोगिएका थिए। एकजना तत्कालिन प्रहरी निरीक्षकले बौद्धमा जागिर जोगाई दिएवापत दाई आईजी हुँदा काठमाडौंको महत्वपूर्ण ठाँउमा सरुवा गरि गुण तिरेका थिए भन्नेकुरा प्रहरी वृतमा अहिले पनि चर्चित छ। 

सुनधारामा समातिएको सुन चाँदी भएको प्रकरणमा दरबारमार्गका तत्कालिन डिएसपी रञ्जनकुमार दाहाललाई कार्वाही स्वरुप इञ्चार्जबाट हटाए पनि काठमाडौं प्रहरीको नेतृत्व गरेका ज्ञवालीलाई दाई आईजी भएकैले स्पष्टिकरण समेत सोधिएन। बरामद भएको सुन क्षणभरमै चाँदी भएको विषयमा घटनास्थल परिवर्तन गर्नेदेखि अनेक नाटकहरू मञ्चन गरिएको थियो भन्नेकुरा कसैबाट छिपेको छैन।

एसएसपीबाट डीआईजी हुनेवेला माओवादी सुप्रिमो प्रचण्डले ज्ञवालीलाई एक नम्बरमा बढुवा गर्न दवाब दिए पनि प्रहरी तत्कालिन आईजी धिरजप्रताप सिंहले प्रचण्डको कुरा सुनेनन्।

तत्कालिन गृह सचिव टेक नारायण पाण्डेको जोडवलमा एसएसपीकै मेरिट अनुसार पाँच नम्बरमा डिआइजी बढुवा हुन सफल भए। ज्वाँई जेठान नाता पर्ने टेक नारायण पाण्डे गृह सचिव नभएका भए सायद ज्ञवाली डीआईजीमै घरजाने थिए भन्ने कुरामा कुनै दुविधा छैन।

आखिर आफूैंलाई डीआईजी बढुवा हुन सहयोग गर्ने टेक नारायण पाण्डेलाई कारावासको यात्रा तय गराए। टेक नारायण पाण्डेले गरेको कर्तुतमा हाम्रो भन्नु केहि छैन। सम्मानित अदालतको आदेशले हाल उनी पुर्पक्षको लागि कारागारमै छन्। धिरजप्रताप सिंहले बढुवामा अगाडि नल्याइदिएको बदला लिन अनेक दाउ खोज्दै हिँडे। 

धिरजप्रताप सिंहको विरुद्धमा अवाञ्छित कुरा लगाएर रवि लामिछानेद्वारा पोषित सिधा कुरा अनलाइनमा कैयौं समाचारहरू प्रकाशित गर्न समेत लगाएको तथ्य लुकेको छैन।  

श्यामलाल ज्ञवालीको सबैभन्दा ठूलो कमजोरी भनेकै जोसुकैको आलोचना र गाली गर्ने हो। उनको दिल र दिमागमा नेगेटिभिटी बाहेक अरु जिनिस छैन भन्छन् उनकै सहकर्मीहरू। आफूूभन्दा माथिको अफिसरहरूलाई उनले कहिल्यै मान्छे ठानेनन्। सिनियरलाई गाली गर्ने, ब्याच मेट र मुनिका कुनै पनि प्रहरीलाई मान्छे नठान्ने प्रवृति बडो विचित्रको थियो। आफूमात्र ठिक र अरुसबै गलत भन्ने दुषित मानसिकताले भरिएका ज्ञवालीले जागिरको अन्तिम क्षणमा प्रहरी संगठनमा, आफ्नै ब्याच मेटले आफ्नाविरुद्ध अनुसन्धान गर्लान् भनेर कहिल्यै अनुमान गरेका थिएनन्। 

यो नितान्त उनले गरेका कर्महरूको परिणाम हो भन्ने कुरामा कुनै शंका छैन।

प्रहरीमा जीवनभर यिनले केवल आफ्नो व्यक्तिगत स्वार्थ मात्र हेरेको टिप्पणी समकालिनहरूले गरेका छन्। आफूुलाई फाइदा कसरी हुन्छ भन्ने सिद्धान्त प्रतिपादन गरे। परेको समयमा गधाको पाउसम्म मोल्नु पर्छ भन्ने कुत्सित प्रवृत्तिलाई आत्मसाथ गर्दै आएको प्रहरीभित्र नै चर्चा छ। 

टिप्पणीकारसँग एकजना पूर्व मन्त्रीको भेट हुँदा किस्सा सुनाएका थिए– श्यामलाल ज्ञवाली एसएसपी हुञ्जेल हरेक दशैंमा टीका थाप्न घरमै आईपुग्थे। डीआईजी भएपछि शक्तिकेन्द्र जब अन्यत्र ठाँउमा पुग्या,े उनले फोन समेत उठाउन छोडिदिए! 

यो कुराले समेत उनी शक्तिका कतिसम्म चाकरी गर्ने र औचित्यतासहित सान्दर्भिकता सकिएपछि कस्तो व्यवाहार गर्छन् भन्ने प्रमाण दिन्छ।
ज्ञवालीले प्रहरी करिअरको करिव साढे २९ वर्ष प्रहरीको काम थोरै र प्रायजसो पार्टीको आडमा रहेको विवरण नै छन्। 

छद्म भेषमा कहिले कांग्रेस, कहिले एमाले, कहिले माओवादी हुँदै जागिरको अन्तिम क्षणमा रास्वपा समेत हुन भ्याउँदा विवादीत गृहमन्त्री रहेका रवि लामिछानेका प्यारा बन्न पुगे। आज आएर ज्ञवालीले कसरी भ्रमको भूमरीमा जाक्दा रहेछन् भन्नेकुरा रवि लामिछानेलाई थाहा भएको हुनुपर्छ। 

आफूुलाई नेपालको सबैभन्दा अब्बल र चतूर खेलाडी ठान्ने पूर्वसञ्चारकर्मी तथा रास्वपाका सभापति लामिछानेको ढिलै भए पनि घैंटोमा घाम लागेको पंक्तिकारले पत्तो लगाइसकेको छ।

ज्ञवालीका अनेक दाउपेचका सहयात्री लामिछाने, अहिले आएर श्यामलालको नाम सुन्दा तर्सिने अवस्थामा पुगेका छन्। ज्ञवालीको गलत सल्लाह र जीबी राईको धोकाधडीका कारण सहकारी प्रकरणमा जोगाई दिन कहिले बालुवाटार र कहिले बुढानिलकण्ठ पुग्नु लामिछानेको दैनिकी बनेको छ। 

संसदीय छानबिन समितिले बयान लिएको समयको अन्तरमा नै उनले त्यसरी प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट गरेका विवरण सतहमा आइसकेका छन्।

कथित सुन आयोगका अध्यक्ष डिल्लीराज आचार्यलाई समेत अनेक प्रलोभन र जालझेल गरेर व्यवसायिक प्रहरी अफिसरहरूको बदनाम गर्न उक्साएको यसअघि नै टिप्पणीकारले अनेक आलेखमार्फत सार्वजनिक गरिसकेको छ। सबै कुराको कारकतत्व श्यामलाल ज्ञवाली थिए भन्नेकुरा रवि लामिछाने र डिल्ली आचार्यसहित सबैले विस्तारै  बुझ्दै गएका छन्। 

कथित सुन आयोगको प्रतिवेदन केवल झुट र षडयन्त्रको पुलिन्दा थियो भनेर थाहा पाएकै कारण रवि लामिछानेले भंसार प्रमुख अरुण पोख्रेललाई आफूु गृहमन्त्री हुदै नवलपरासीको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएका थिए।  

डीआईजी हुँदा ज्ञवाली कोशी प्रदेश प्रहरी प्रमुखको रुपमा सरुवा भए। कोशीमा सरुवा गरेर लैजाने तिनै रवि लामिछाने थिए। षडयन्त्र र ज्ञवालीले विराटनगरमा वस्दा प्रचण्ड पुत्री गंगा दाहाल र ज्वाँई जीवन आचार्यसँग गुलियो सम्बन्ध बनाए। 

गंगा र जीवनसँगको सम्बन्धले प्रचण्ड समेतलाई भ्रममा पार्न सफल भए तथापी आईजी नियुक्ति प्रकरणमा बुढानिलकण्ठको अगाडि प्रचण्ड निरीह भए। परिणामस्वरुप प्रहरी महानिरीक्षकमा बसन्त बहादुर कुँवरले बाजी मारेकै थिए। जति नै हतकण्डा अपनाए पनि ज्ञवालीको आईजी हुने चाहना सपनामै सिमित रह्यो।  

अनेक प्रयासका बाबजुद प्रहरी प्रमुख हुन नसकेपछि एआईजी भएर प्रचण्डको ठाडो आदेशमा रानीपोखरी प्रमुख भएर गए। भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको क्रममा आईजी फाल्ने खेलको असफल रणनीति पनि बनेकै थियो। 

बहालवाला आइजीलाई विवादमा ल्याउनका लागि आफ्ना नजिकका प्रहरीहरूको व्यापक दुरुपयोग गरे। 

नेपाल प्रहरीको ६९ बर्षे ईतिहासमा बहालवाला आईजीले गलत गरेर हैन, अनेक जालझेल गरेर विवादित बनाई आईजी हुन खोज्नेमा ज्ञवालीको नाम अभिसप्त पात्रका रुपमा चर्चा हुने नै छ। 

श्यामलाल ज्ञवालीले शुरुमा आफूुलाई आईजी बन्न तगारो ठानेका अशोक सिंहलाई सबैसँग मिलेर सक्काउने काम गरे। रवि लामिछानेलाई कुरा लगाएर अशोक सिंहको सुदूरपश्चिम पोष्टिङ्ग गराउने ज्ञवाली नै थिए। अशोक सिंहलाई सक्काउनेमा उनकै ब्याचमेटहरू ज्ञवालीदेखि प्रायको सहभागिता रहेको चर्चा प्रहरी वृत्तमा छ। 

नागरिकताको उमेर विवादमा भन्नु पर्दा श्यामलाल ज्ञवाली र अशोक सिंह बीचमा कुनै भिन्नता थिएन। विवादको विषय उस्तै हुँदा पनि अशोक सिंह घर जान बाध्य बनाईए। तर ज्ञवालीको कसैले जरा हल्लाउन सकेनन्। 

संसदको राज्य व्यवस्था समितिदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म उजुरी पर्दा समेत कार्वाही गर्ने आँट कसैले गर्न सकेनन्। यसकारण पनि ज्ञवालीको दम्भ चुलिएको थियो भन्ने जानकारहरू बताउँछन्। अख्तियारले सहानुभुति प्रकट नगरेको भए ज्ञवाली अवकाश भएको छ महिना भइसक्थ्यो।

पछिल्लो समयमा अनेकौं विषयहरूमा प्रहरी प्रधान कार्यालयले उनीमाथि अनुसन्धान गरिरहेको समाचारहरू आइरहेका छन्।  सरकारले सीआईवीबाट तानेर प्रहरी प्रधान कार्यालयमा सरुवा गरेपछि उनको काम दिन गन्ने बनेको थियो। योसँगै अदालतसम्म पुग्न पनि भ्याए। 

प्रहरी प्रधान कार्यालयमा हाजिर भएको २५ दिनमा २ पटक विदा लिसकेका छन्। उनी विरुद्ध शुरु भएको भनिएको अनुसन्धान कहाँ पुग्यो, कसैलाई पनि अवगत छैन। प्रधान कार्यालयले बनाएको एआईजीको समितिले के–कति छानबिन गरेको छ? 

प्रहरी प्रधान कार्यालय प्रशासन विभागका एआईजी टेकप्रसाद राईले अनुसन्धान गरिरहेका भन्ने खबरहरू छापा माध्यममा आइरहेका थिए। अनुसन्धान प्रतिवेदन आईजीलाई बुझाई सके वा छैन?

प्रयाप्त प्रमाणहरू नभएकोले हो वा कार्वाही गर्न हिच्किचाउनुको भित्रि रहस्य के हो? प्रहरी प्रधान कार्यालय समेत नजानिदो तबरले अनभिज्ञ बनिरहेको छ। सीआईवी प्रमुख भएर रवि लामिछानेको आडमा समानान्तर हेडक्वार्टर चलाउने ज्ञवालीप्रति आईजी किन नरम छन्? वा के हुँदैछ? यी प्रश्न पनि जीवित छन्।

श्यामलाल ज्ञवाली आईजी बसन्तबहादुर कुँवरको ब्याच मेट हुन्। आफ्नो समकक्षी भएकोले हो वा निकट भविष्यमै अवकाश हुने भएकोले हो?

संगठन भित्र मौलाएको गुटबन्दीलाई अन्त्य गर्ने हो भने उनीप्रति सहानुभूती देखाउनुपर्ने कुनै कारण छ? एकपटक हैन पटक–पटक वहालवाला आईजीलाई अपदस्त गर्न खोजेर आईजी हुन खोज्ने श्यामलाल ज्ञवालीलाई कार्वाही नगर्नु भनेको प्रहरी भित्र जरा गाड्दै गैरहेको अनुशासनहिनतालाई प्रश्रय दिनु नै हुनेछ। यो, एउटा नजीर भोलीका दिनमा पनि नबन्ला भन्न सकिन्न। 

तत्कालिन गृहमन्त्री रवि लामिछानेको आडमा शक्तिको चरम दुरुपयोग गरी बुढानिलकण्ठ देउवा निवास घेर्न लगाउने, सीआईवीले रवि लामिछानेका विरुद्ध पोखरा गएर अनुसन्धान गरेको अनुसन्धान प्रतिवेदन लुकाउने, प्रहरीका व्यवसायिक अफिसरहरूसँग प्रतिशोध साँधेर करिअरमा आँच ल्याउने जस्ता काम भएकै हुन्।  

जीवन चलाउनेसँग आइजिपी बन्नको लागि अनुचित आर्थिक लेनदेनको बार्गेनिङ्ग गर्ने, ठमेलमा अवस्थित एल.ओ.डि. डिस्कोमा नावालिका प्रवेश गराएको विषयमा मुद्दा नचलाउन प्रहरीलाई दवाब दिने, अमेरिकन ग्रीनकार्ड प्रकरण, अपराधिक पृष्ठभूमिका भएका मानिससँगको अनैतिक उठबस्, बेचन झालाई पक्राउ गरेको विषयमा कसैलाई जानकारी नदिई आरजु राणा देउवा र आईजी बसन्तबहादुर कुँवरविरुद्ध कागज गर्न दवाब दिने, बालमन्दिर जग्गा प्रकरणका प्रतिवादिसँग अस्वभाविक भेटघाट गर्ने, सेञ्चुरी बैंकका सञ्चालकहरूलाई पक्राउ गरी हाजिर जमानीमा छोड्ने, आरजु देउवा, प्रेम राईलगायत विशिष्ट ब्यक्तिहरूको अनुसन्धानको अधिकार नै नभएको प्रहरी कार्यालय रानीपोखरीबाट गोप्य रुपमा कल डिटेल्स माग गर्ने जस्ता गम्भिर आक्षेप उनीमाथि लागेकै छन्। 

२० बर्षसम्म प्रहरीको विशेष युनिटमा बसेर अनुसन्धान गरेको अनुभव छ भन्दै फूर्ति लाउने टेकप्रसाद राई श्याम ज्ञवालीको अनुसन्धान गर्न असक्षम सावित हुन मिल्दैन। 

अन्तमा, ज्ञवालीबिरुद्ध अनुसन्धान गर्नुपर्ने कतिपय यस्ता विषयहरू छन्। जुन प्रहरीले चाह्यो भने केहि दिनमै पत्ता लाग्छन्। अमेरिकन ग्रीनकार्ड लिएको छ, छैन भनेर अमेरिकन दूतावासले क्षणभरमा जवाफ दिने विषय हो। 

नागरिकताको विषयमा आजका दिनसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बस्नुको रहस्य बेग्लै हुन सक्ला। अकुत सम्पत्तिको विषयमा ज्ञवालीका आफन्त, नातागोतादेखि काठमाडौं, पोखरा, दाङ, प्यूठान र बुटवलसम्म उनले गरेका लगानीका बारेमा बुझ्ने हो भने केहि दिनमै पत्ता लाग्छन्। 

ईन्द्रको अगाडि स्वर्गको बयान भनेजस्तै प्रहरीलाई अनुसन्धानका बारेमा सिकाउन पनि उचित नहोला। तैपनि माथि उल्लेखित यावत प्रश्नहरूको प्रहरी प्रधान कार्यालयले जवाफ दिनुपर्ने समय घर्कि सकेको छ। 
 

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  ११:१७
प्रतिक्रिया दिनुहोस्