नेपाली राजनीतिका इपिसेन्टर प्रचण्डले स्थापित गरेका ‘स्लग’हरू
काठमाडौं– नेपाली केन्द्रीय राजनीतिमा ३५ बर्षदेखि चर्चा र १८ बर्षदेखि सत्ताको ‘इपिसेन्टर’ हुन् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड।
खुला राजनीतिमा आएपछि केशी शव्दलाई स्लगका रुपमा प्रचण्डले मानक मात्र बनाएका छैनन्, चर्चाको विषय पनि बनाइसकेका छन्।
पार्टी विभाजन, फेरि एकीकरण अनि टुटफुटपछिको गठबन्धनलगायतका काममा प्रचण्ड माहिर खेलाडीका रुपमा अभ्युदय भए।
कम्युनिस्ट पार्टीको गठबन्धनदेखि एकीकरण र कांग्रेसलगायतसँगको गठबन्धन गराउने काममा उनको भूमिका केन्द्रमा नै रहेको थियो।
प्रचण्डले केन्द्रीय सत्ता राजनीतिमा केही शव्दको मानक स्थापित गरेका छन्।
उनको भाषाको ‘जनयुद्धकाल’मा नेकपा माओवादी पार्टीबाट नेतृत्वमा उदाएका प्रचण्डले शान्ति प्रक्रियापछि संविधान सभाको पहिलो निर्वाचन ०६४ मा जाँदा नारायणकाजी श्रेष्ठसँग एकीकरण गरी पार्टीको नाम एकीकृत नेकपा माओवादी बनाए।
यो पार्टीलाई मोहन वैद्यहरूले विभाजन गरिदिए। तर, पछि रामबहादुर थापा बादल, पम्फा भुसाललगायतका नेता फर्किएर आएपछि फेरि पार्टीको नाम नेकपा माओवादी केन्द्र बनाए।
०७४ को निर्वाचनमा एमालेसँग गठबन्धन गरी राम्रो नतिजा ल्याएपछि पार्टी एकीकरणको चरणमा पुग्दा प्रचण्डको प्रस्ताव थियो– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)। यहि नाम स्थापित भयो।
यद्यपि, पार्टी विभाजनपछि उनी नेकपा माओवादी केन्द्रकै नाममा छन्, अहिले।
यी सबै यात्राको उतारचढावलाई उनले ‘निरन्तरताको क्रमभङ्ग’ भनेका छन्। यसको यति मात्र अर्थ छैन, उनले सत्ता राजनीतिमा चलेको निरन्तरतामा धावा बोल्नुलाई पनि यहि नामको उपज दिए। जुन अहिले राजनीतिक केन्द्रविन्दुमा यो शव्दले स्लगका रुपमा चर्चा पाएको छ।
प्रचण्डले तयार पारेको अर्को स्लग हो– व्याख्यात्मक टिप्पणी।
नेपाली राजनीतिमा यो शव्दको प्रयोग या बयानबाजी भएकै थिएन। जब नेपालमा अमेरिकन आर्थिक सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनबाट पास गर्ने कि नगर्ने भन्ने विवाद उठ्यो, प्रचण्डले चलाखी गरे।
यसको बिरोधमा माओवादी पनि सडकमा थियो। तर सदनमा पास गर्नुपर्ने बाध्यतामा प्रचण्ड थिए। ब्यापक बिरोधकाबीच यो सम्झौता पास गर्ने बेला केही दलसँग बसेर प्रचण्डले नयाँ आइडियाको जन्म गराए– व्याख्यात्मक टिप्पणी।
योसहित एमसीसी पास गराउन प्रचण्डको भूमिका रह्यो। यो शव्दको प्रयोग अहिले पनि प्रचण्डले जारी राखेका छन्। जुन सर्वाधिक चर्चा भयो।
उनले संविधान जारी हुँदा लेखिएको ‘सशस्त्र संघर्ष’को विषयको आन्तर्यमा जनयुद्ध भनेर ब्याख्यात्मक टिप्पणी भएको भनी कार्यकर्तामाझ बताउने गरेका छन्।
प्रचण्ड जुन तामझाम र शैलीका साथ हिंसात्मक आन्दोलनबाट शान्तिको राजनीतिमा उदय भए, उनले अर्को शव्दलाई पनि स्लगका रुपमा स्थापित गरिदिए।
०६४ को बेलुनजस्तो फूलेको पार्टी रहेका बेला उनले एमालेप्रति लक्षित गर्दै ‘हिङ बाँधेको टालो’ भनेका थिए भने कांग्रेसलगायतका अन्य दललाई ‘चल्ला’ भनी माओवादीलाई चीलको संज्ञा दिएका थिए।
प्रचण्डले भनेका थिए,‘माओवादी भनेको हिङ हो, अब राजनीतिमा पूरै हिङ नै आएपछि एमाले जस्तो हिङ बाँधेको टालोको काम छैन।’
खुलामञ्चको अर्को सभामा प्रचण्डले थपेका थिए,‘माओवादी भनेको चील हो। अरु पार्टी भनेका चल्ला हुन्। चीलले माथिबाट नियाँलेर चल्लामाथि आक्रमण गर्न सक्छ।’
राजनीतिको उतार चढावमा प्रचण्ड नेतृत्वको पार्टी धुलिसात हुने स्थितिमा पुग्न लागे पनि उनको हुंकार भने कम छैन। उनले पार्टी अझ बलियो हुने सन्दर्भमा एउटा कन्क्लेभमा भनेका थिए,‘विभाजन अनि फेरि समायोजन मेरो नीति हो।’ प्रचण्डको विभाजन र समायोजन भन्ने शव्द पनि केन्द्रीय राजनीतिमा स्लगका रुपमा स्थापित भइसकेको छ।