Nic Ad Nic Ad
Nic Ad Nic Ad
संश्लेषण

रास्वपा एआईपीको डमी भर्सनः जसले देउवा–ओली समीकरणमा परोक्ष हिस्सेदारी खोजीरहेको छ!

आइतबार, भदौ २३, २०८१

काठमाडौं– यसै साता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार र कांग्रेस सभापति शेरबहादुर देउवालाई बुढानिलकण्ठमा भेट गरेका थिए। 

सहकारी ठगी छानबिन प्रकरणमा संसदीय समितिले छानबिन गरिरहेका बेलामा लामिछानेको यो दौडलाई उक्त प्रकरणसँग जोडेर व्याख्या गरियो। तर, यो दौड त्यतिमा सीमित थिएन, अझै छैन भन्ने दाबीहरू अगाडि आइरहेका छन्। यी दाबीको स्वतन्त्र पुष्टिका क्रमहरू पनि चलिरहेका छन्।

सीमित सांसद संख्यामा रहेको उक्त पार्टी दुई पटक सत्तामा पुगिसकेको छ र शक्तिको परिक्षण गरी महत्व थाहा पाएर अहिले प्रतिपक्षको कुनामा पुगेको छ। तर, यसको चरित्र नै जसको अवधारणाबाट प्रभावित भएर गठन भएको थियो, त्योभन्दा पृथक छैन भन्ने उदाहरण सभापति लामिछाने थिए र दाबीहरूअनुसार हुन् पनि।

रास्वपा मौलिक राजनीतिक सिद्धान्तको प्रतिपादनको महासभा होइन। यो, अमेरिकी स्वतन्त्र पार्टी (एआईपी)को डमी भर्सन हो। अर्थात्, प्रजातान्त्रिक भन्न रुचाए पनि सिद्धान्तहिन र परम्परावादी शक्तिको पक्ष पोषक। जसरी एआईपीले अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पलाई सहयोग गरेको थियो त्यहि लयमा रास्वपाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा दुई पटक सहयोग गरिदियो, एमालेको लहैलहैमा लागेर। 

यसको सामान्य सांकेतिक प्रमाणचाहिँ कारबाही गरिएको भनिएका महामन्त्री मुकुल ढकाल हुन् जो अहिले एमालेसँग लहसिएर रास्वपामा आफू आधिकारिक भएको दाबी गरिरहेका छन्। 

यसबाहेक रास्वपाको एआईपीसँगका अनेक विषय समान छन्। चाहे त्यो निलो बस सेवा होस्, घन्टी चुनाव चिन्ह अथवा आकाशे निलो पृष्ठभूमीमा घन्टी राखिएको झन्डा होस्। यो, समान हुनुको अर्थ एआईपीको चरित्र नै रास्वपाको संगती रहेको दाबी गर्न सकिन्छ।

क्यालिफोर्निया केन्द्री एआईपीले पहिलो र दोस्रो पार्टीको दाबी नगरी तेस्रो जनमतलाई बटुल्ने प्रयत्न गरेको थियो। उसको दाबी पनि त्यहि थियो।

क्यालिफोर्नियाका २ करोड २० लाख मतदातामध्ये ४७ प्रतिशत डेमोक्र्याट र २४ प्रतिशत रिपब्लिकनका रूपमा दर्ता भएका छन्। तर राज्यको तेस्रो ठूलो पार्टीको बारेमा के हुन्छ? त्यो अलि बढी अस्पष्ट थियो। ग्रीन पार्टी वा लिबर्टेरियन पार्टी भन्दा धेरै मतदाताहरूसँग एआईपी तीन दशमलव ८ प्रतिशत, वा लगभग ८ लाख ३५ हजार दर्ता मतदाताहरूसँग तेस्रो स्थानमा थियो।

रास्वपा ठ्याक्कै यहि लयमा हिँडेको दलका रुपमा देखिन्छ। खासगरी नेपालमा पहिलो र दोस्रोमा अगाडि पछाडि रहेका कांग्रेस र एमालेसँग रुष्ट भएका मतदाता नै आफ्नो बनाउने रणनीतिका हिसामा रास्वपा र रवि लामिछानेको यात्रा तय भएको देखिन्छ। 

फेरि, यो सदस्यता र मतादातालाई जसरी एआईपीले दोस्रो रहेको रिपब्लिकनका उम्मेदवार डोनल्डका लागि बेच्यो, त्यसरी नै रास्वपाले पनि माओवादी–एमालेलाई दुई पटक बेच्यो, सत्तामा जाने निहुँमा। 

रास्वपाको गठनको अवस्था पनि लगभग एआईपीको अवधारणासँग ठ्याक्कै मेल खान्छ। जब नेपालमा स्थानीय निर्वाचन भयो र खासगरी ठूलो जनमत रहेको काठमाडौं, धरान, धनगढीलगायतका अन्य नगरपालिकामा स्वतन्त्र उम्मेदवारलाई मतदाताले पत्याए, रास्वपाले तिनै मतदाता आफ्ना हुन सक्ने आँकलनअनुसार पार्टी गठन गरेको थियो, यहि नाममा। 

जसरी एआईपी पनि नामका कारण विवादमा परेको थियो, रास्वपाको नामको विषयमा पनि निर्वाचन आयोगमा उजुरी परेकै थियो। 

त्यसको उदाहरण यहाँ पेश गर्दछु। 

एआईपीको घोषणा पछि राज्य सिनेटर थोमस जे. उम्बर्ग, सान्ता आनाका डेमोक्र्याटले औंल्याए कि २०१९ मा एउटा विधेयक ल्याएर पेस भयो। जसले क्यालिफोर्नियाका राजनीतिक दलहरूलाई ‘स्वतन्त्र’ शब्दको साथ पार्टीको नाम राख्न निषेध गरेको थियो। नेपालमा पनि रास्वपाका सन्दर्भमा यस्तो विवाद आएको उपर्युक्त वाक्यांशमा व्याख्या गरिसकेको छु।

अर्को खास कुराचाहिँ रास्वपाको राजनीतिक नाफा नोक्सानको हिसाब पनि ठ्याक्कै एआईपीसँग मिल्छ।

त्यसको उदाहरण पनि यहाँ पेश गर्छु। 

अमेरिकी स्वतन्त्र पार्टी (एआईपी)का अध्यक्ष भिक्टर मोरोनीले एक विज्ञप्तिमा भने कि उनको पार्टीले ‘सकारात्मक, दूरदर्शी र स्वतन्त्र उम्मेदवारहरूलाई क्यालिफोर्नियाका मतदाताहरूसँग जोड्दछ।’

ठ्याक्कै, नेपालमा स्वतन्त्रको हावा चलिरहेका बेला यहि महत्वकांक्षा राखेर, यस्तै नाममा लामिछानेले पार्टीको घोषणा गरेका थिए। उनलाई पनि स्थानीय तहमा स्वतन्त्र उम्मेदवारलाई आएको मत जोडिन्छ भन्ने लाग्यो र काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर बालेनको अभियानमा सक्रिय रहेकाहरूलाई पार्टीमा जोडाए ताकि त्यो मत आफूतिर आओस्। 

लभगभ भयो पनि त्यस्तै। समानुपातिकमा देशभरीमा सबैभन्दा बढी मत काठमाडौं उपत्यकाबाट नै रास्वपाले प्राप्त गरेको थियो भने सहरी इलाकामा प्रत्यक्ष तर्फका उम्मेदवार पनि जितायो। उपत्यकाका काठमाडौं–२, काठमाडौं–६, काठमाडौं–७, काठमाडौं–८, ललितपुर–३ मा जित निकाल्यो। 
सोबिता गौतम, शिशिर खनाल, गणेश पराजुली, बिराजभक्त श्रेष्ठ र तोषिमा कार्की प्रत्यक्ष आए। काठमाडौंपछाडिको सहरी इलाका चितवन–२ र चितवन–३ मा रवि लामिछाने र हरि ढकालले जित निकालेका थिए। 

एआईपी त्यहि थियो जसले सन् २०१६ मा डोनल्डलाई समर्थन गर्न पुगेको थियो। 

रास्वपा एआईपीभन्दा तात्विक फरक भएको पार्टी होइन, न यसका सभापति लामिछानेसँग मौलिक भिजनका केही पाटा नै देखा परेका छन्।

जम्माजम्मी पुरातनवादी शक्तिबाट छुटेका, मन नपराएका, घृणाका मतलाई एउटा डालोमा थाप्नका लागि पार्टी खोलिएको थियो, जसको जगचाहिँ बालेन, हर्क र गोपी हमालहरू नै थिए। यदि राजनीतिक दल नै खोल्ने चाहना भएको भए लामिछानेको लोकप्रियता कम थिएन, सहकारीका रकम अपचलन गरी ग्यालेक्सी टिभी होइन, पार्टी खोलेर स्थानीय चुनावमा नै भाग लिने थिएनन् र?

त्यसैले टिप्पणीकारले भन्दै आइरहेको छ– बालेन, हर्क र गोपी हमालको नाबीबाट जन्मिएका अवसरवादीको मुकुन्डो कति लामो समय टिक्ला र? त्यसको उदाहरण मुकुल ढकाल एउटा थिए, विस्तारै स्वर्णिम वाग्ले, मनिष झाहरू जो कांग्रेस पृष्ठभूमीका छन् तिनले समयपरस्त अवस्थामा नदेखाउलान् भन्न सकिन्न। 

यसर्थ हेक्का होस् पूजा भगवान विष्णुको हुन्छ– उनको नाबीबाट जन्मिएर कमलको फूलमा चार मुकुन्डा लिएर बस्दा भगवान मानिए पनि ब्रम्हाको पूजा बिरलै होला– मन्दीर त कतै बन्दै बनेका छैनन्!

यसर्थ लामिछानेले ओली र देउवा भेटेर हिस्सेदारीका कुरा गर्नु अथवा आफूलाई बचाउका निम्ति शरण माग गर्नुलाई नयाँ र नविनतम् अभ्यास भन्ने लाग्दै–लाग्दैन। यो नश्लीय अवसरवादको पराकाष्टको एक उदाहरणभन्दा अर्को टिप्पणीकार मान्दै मान्दैन।  
 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १५:२२
प्रतिक्रिया दिनुहोस्