Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रहरी कर्मचारीलाई अनुमतिबिना बाहिरी भेटघाट गर्न रोक

आइतबार, भदौ २३, २०८१

काठमाडौँ - नेपाल प्रहरीले मातहतका कर्मचारीहरूलाई आफूभन्दा माथिल्लो कार्यालय तथा अधिकारीको पूर्व स्वीकृतिबिना राजनीतिकलगायत विभिन्न शक्तिकेन्द्रसँग भेटघाट गर्न रोक लगाएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार एक आन्तरिक परिपत्र जारी गरी तालुक कार्यालयको स्वीकृतिबिना कसैले अमुक व्यक्ति तथा शक्तिकेन्द्रसँग भेट गर्न नपाउने व्यवस्था गरेको हो । 

प्रहरी प्रधान कार्यालयबाट जारी परिपत्र उल्लङ्घन गरी अनुमतिबिना भेटघाट गर्ने कर्मचारीलाई अभिलेखमा जनिने गरी हदैसम्मको विभागीय कारबाही गर्ने चेतावनी पनि दिइएको छ । सरुवा, बढुवा, पुरस्कारलगायत विभिन्न वृत्ति विकाससम्बन्धी निर्णयमा अधिकृत तथा जवानहरूले विभिन्न शक्ति केन्द्रबाट प्रहरी प्रधान कार्यालयमा दबाब दिएपछि यो परिपत्र जारी गर्नु परेको एक उच्च प्रहरी अधिकृतले प्रशासनलाई जानकारी दिए ।

‘कर्तव्य पालनाको सिलसिलामा बाहेक अन्य कुनै अमुक शक्तिकेन्द्र वा व्यक्तिसँग भेट गर्नुपर्दाको प्रयोजन खुलाइ तालुक कार्यालयमा जाहेरी गरी पूर्वस्वीकृति लिएर गरिने सम्पर्कबाहेक संगठनको मूल्यमा व्यक्तिगत स्वार्थपूर्तिका लागि गरिने अशोभनीय भेटघाट, सांगठनिक कामकारबाहीमा बाह्य प्रभाव पुर्नेलगायतका कुनै पनि गैर व्यावसायिक अनुशासनहीन एवं आत्म केन्द्रित क्रियाकलापमा कुनै पनि प्रहरी कर्मचारी संलग्न रहे भएको पाइएमा त्यसलाई नै प्रमाणका रूपमा लिई अभिलेखमा जनिने गरी प्रहरी नियमावलीबमोजिम हदैसम्मको सजाय हुने हुँदा सो ब्यहोरा गम्भीरतापूर्वक हृदयंगम गरी कार्यालय प्रमुख तथा मातहतमा काम गर्ने सबै प्रहरी कर्मचारीलाई सुनी सुनाइ सोको ब्यहोरा यस सचिवालयमा प्रेषित गर्नु हुन निर्देशानुसार अनुरोध छ,’ प्रहरी प्रधान कार्यालयले देशभरका मातहत युनिटमा गरेको आन्तरिक परिपत्रमा भनिएको छ ।

परिपत्रमा पेशागत अनुशासनयुक्त स्वच्छ एवं व्यावसायिक प्रहरीको रूपमा मुलुक र नागरिकको सेवामा खटिनु पर्ने प्रहरीमा आबद्ध केही सदस्यहरू सांगठनिक मूल्य र मान्यताको बर्खिलाप संगठनको गरिमा तथा मर्यादामा आँच आउने गरी व्यक्तिगत स्वार्थ तथा अभिलाषा पूर्तिको लागि सांगठनिक मूल्य मान्यता एवं आदेशको शृङ्खलालाई बेवास्ता गरी विभिन्न शक्तिकेन्द्र तथा व्यक्तिलाई भेट गर्दै हिँड्ने तथा विभिन्न माध्यमबाट सम्पर्क स्थापित गर्ने कार्यमा संलग्न हुँदा सांगठनिक अनुशासनको क्रम भंगता भएको पनि उल्लेख छ ।

‘विभागीय नीति नियमको धज्जी उडाउने, सांगठनिक गोपनीयता भङ्ग गर्ने, नागरिक-प्रहरीबिचको अनुसन्धानात्मक एवं व्यावसायिक विश्वासको प्रतिकूल एवं पदीय दायित्वअनुसारको जिम्मेवारी निर्वाह गर्दा खरो रूपमा उत्रनु पर्नेमा सो नगरी शक्तिका अगाडि समर्पित हुने गरी कुनै विशेष व्यक्ति र शक्तिको अगाडि नतमस्तक भई सङ्गठनमाथि अनावश्यक दबाब र प्रभावको सिर्जना गरी जिम्मेवारी प्रति उदासीन रहने गरेको भन्ने घटनाप्रति प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ परिपत्रमा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १८:३६
प्रतिक्रिया दिनुहोस्