Nic Ad Nic Ad
Nic Ad Nic Ad

अरुन्धतीसहित सप्तऋषिको पूजा गरेर बिदा गरियो तीज

आइतबार, भदौ २३, २०८१

काठमाडौँ - भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् ।

महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् ।  वाग्मती, मनोहरा, रुद्रमतीलगायत नदी किनारको मुहान क्षेत्रमा स्नान गर्न प्रत्येक वर्ष ऋषि पञ्चमीका दिन अपामार्गसहित विधिपूर्वक स्नान गर्न धेरै महिला जाने गरेका छन् । आज पनि राजधानीका नदीका मुहान स्थलमा स्नान गर्न महिलाको भीड लागेको थियो । 

स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरेका छन्, जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भनिएको हो ।

आजको दिनमा अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले पापबाट मुक्त भइने धार्मिक विश्वास रही आएकाले यस पर्वलाई वैज्ञानिक मान्नुपर्ने धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बत्ताउँछन् ।

आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल  र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रत विधि छ । प्रत्येक वर्ष ऋषि पञ्चमीका दिन काठमाडौँको टेकु, मूल पानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्छ । ऋषि पञ्चमीसँगै चार दिन लामो तीज पर्व पनि आजैदेखि समापन भएको छ ।

यस वर्ष गत बिहीबार दर खाएर सुरु भएको तीज पर्व आज सकिएको हो । पहिलो दिन भाद्र शुक्ल द्वितीयामा छोरी, चेलीलाई घरमा बोलाएर दर खुवाइएको थियो । दोस्रो दिन भदौ २१ गते भाद्र शुक्ल तृतीयामा निराहार व्रत बसी उमामहेश्वर पूजा आराधनासहित पारिवारिक कल्याणको कामना गरिएको थियो । 

तेस्रो दिन भदौ २२ गते अर्थात् भाद्र शुक्ल चतुर्थीका दिन हरितालिका व्रत समापन गरी भगवान् गणेशको पूजा आराधना गरिएको थियो । आज खोला, नदी, ताल, तलाउ, पोखरीमा गई अपामार्गले स्नान गरेर अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरेपछि तीज समापन भएको हो ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १८:४३
प्रतिक्रिया दिनुहोस्