सबै हवाई दुर्घटना जाँच आयोगका प्रतिवेदन अध्ययन गर्न समिति बनाइने
काठमाडौँ- सरकारले अहिलेसम्म भएका हवाई दुर्घटनामा बनेका जाँच आयोगका प्रतिवेदनले उठाएका सवालबारे अध्ययन गर्न उच्चस्तरीय समिति बनाउने भएको छ ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा दिवंगत भएकाहरूको सम्झनामा आइतबार राजधानीमा आयोजित अन्तरक्रियामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले यस्तो जानकारी गराएका हुन् ।न्यायिक क्षेत्रका व्यक्तिको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति बनाउने र समितिले उठाएका विषयलाई सरकारले कार्यान्वयन गर्ने उनले बताए ।
‘हवाई दुर्घटनाबारे विगतमा थुप्रै अलग-अलग अध्ययन र अनुसन्धान भएका छन्, तिनीहरूलाई एकीकृत गरी राख्नु पर्ने छ,’ उनले भने ।
उनले सौर्य एयरलाइन्सको दुर्घटनाबारे प्रारम्भिक प्रतिवेदन प्राप्त भइसकेको भन्दै प्रतिवेदन सत्य, तथ्य नजिक पुगेको बताए ।
मन्त्री पाण्डेले हवाई क्षेत्रलाई सुरक्षित बनाउन नियामक निकाय र सेवा प्रदायक निकायलाई छुट्याउने गरी ल्याएको विधेयक अर्थ, कानुन हुँदै मन्त्रालय पुगेको जानकारी दिए । उनले यो विधेयक मन्त्रिपरिषद् मार्फत संसदमा पेस गरिने बताए ।
उनले दुर्घटनाका पीडितले पाउनु पर्ने बीमाका विषयमा बीमा सम्बन्धी ऐन निर्माण गर्नु पर्ने र पछिल्लो सन्धिहरूको मस्यौदाको क्रममा रहेको बताए । हवाई ऐनलाई समेत समय सापेक्ष हुने गरी परिमार्जन गरिने बताए ।