Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुख्यमन्त्री कार्कीलाई पूर्वमुख्यमन्त्रीको ९ बुँदे स्मरणपत्र, ४८ घण्टे अल्टिमेटम

आइतबार, भदौ २३, २०८१

काठमाडौँ - कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ९ बुँदे स्मरणपत्र बुझाएका छन्। उनले पत्रमार्फत ४८ घण्टाभित्र माग पूरा नगरे सरकारविरुद्ध अनशन बस्ने चेतावनीसमेत दिएका छन्।

आफू नेतृत्वको सरकारले ल्याएको कार्यक्रम वर्तमान सरकारले कटौती गरेको भन्दै पूर्वमुख्यमन्त्री कार्कीले हालका मुख्यमन्त्रीविरुद्ध निरन्तर सामाजिक सञ्जालमार्फत र कुनै कार्यक्रममा होस् अभिव्यक्ति दिँदै आइरहेका छन्। 


‘यसअघि कोशी प्रदेशमा तपाईँको दलको समेत समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मेरो नेतृत्वमा सरकार रहेको यहाँलाई अवगत नै छ। त्यस सरकारले नेपाली काँग्रेसको नीति र विचार तथा बिपीको प्रजातान्त्रिक समाजवादी दर्शनलाई आत्मसात् गर्दै तल्लो तहका जनसमुदायको हित र कल्याणका लागि विभिन्न कार्यक्रम ल्याएको तथ्य स्मरण गराउँदछु’ स्मरणपत्रमा उनले उल्लेख गरेका छन्।

पूर्वमुख्यमन्त्री कार्कीले आफूले जनताले तिरेको कर जनताकै लागि उपयोग गर्ने नीति लिएको पनि उल्लेख गरेका छन्। ‘मेरो नेतृत्वको सरकारले जनताले तिरेको राजस्व जनतालाई नै अर्पण गर्ने नीतिअनुसार जनकेन्द्रित बजेट ल्याएको हो। सरकारका विकास कार्यक्रम सीधै तल्लो तहका जनता र भुईंमान्छेसित पुग्ने गरी त्यस सरकारले बजेट प्रस्तुत गरेको थियो। त्यसैले प्रदेशसभाबाट सर्वसम्मतिले बजेट पारित हुन नसकेको हो तर वर्तमान प्रदेश सरकारका तपाईँ माननीय मुख्यमन्त्री हिक्मत कार्कीले ती सबै जनहितकारी कार्यक्रम कटौती गरेर जनविरोधी कृत्य गर्नुभएको छ’ मुख्यमन्त्रीलाई पठाएको स्मरण पत्रमा कार्कीले भनेका छन्। 

पूर्वमुख्यमन्त्री कार्की नेतृत्वको सरकारले प्रदेशभरिका १० वर्षमुनिका बालबालिकाकाका लागि सेवासहित निःशुल्क उपचार कार्यक्रम सञ्चालन गरेको थियो।

हालका मुख्यमन्त्री कार्कीले स्रोतले नधान्ने भन्दै उक्त कार्यक्रम कटौती गरेका छन्।

बजेटमा २५ लाख रुपैयाँभन्दा तलका आयोजना नराख्ने नीति, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता, घिउ तथा धुलो दूध निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम, सुनसरी-मोरङ केसलिया करिडोरको विकास कार्यक्रम, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति‚ डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति तथा जनावरमैत्री जंगल कार्यक्रम कटौती गरिएको पूर्वमुख्यमन्त्री कार्कीको आरोप छ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  २१:३२
प्रतिक्रिया दिनुहोस्