Nic Ad Nic Ad
Nic Ad Nic Ad

पत्नी आरजु र मन्त्री लेखक लिएर बालुवाटार पुगेका कांग्रेस सभापति देउवा के गरेर फर्किए?

सोमबार, भदौ २४, २०८१

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा परराष्ट्रमन्त्री तथा पत्नी आरजु राणा र गृहमन्त्री रमेश लेखक लिएर आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार पुगेका थिए। 

एमाले अध्यक्ष समेत रहेका ओलीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र महासचिव शंकर पोखरेल समेतसँग देउवा नेतृत्वको तीन टोलीले लामो छलफल गरेको थियो। 

कांग्रेस–एमालेबीच सत्ता समीकरणका निम्ति ७ बुँदे सहमति भए पनि सरकार बनेको दुई महिना बित्दा पनि न्युनतम साझा कार्यक्रम नआएको भनी सदनमा प्रश्न उठिरहेका बेला दुई टोलीबीच सोही विषयमा कुराकानी भएको उच्च स्रोतले जनाएको छ। 

सरकारलाई समर्थन गरेका अन्य दल समेतको बैठक प्रधानमन्त्री ओलीले डाक्ने र न्यूनतम साझा कार्यक्रम तयार पार्ने विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ। 

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण अगाडि नै न्युनतम साझा कार्यक्रम बनाउनेगरी काम थाल्ने विषयमा पनि मोटामोटी सहमति भइसकेको छ।  
राष्ट्र संघको महासभामा भाग लिनका लागि ओली असोज ४ गते अमेरिका प्रस्थान गर्नेछन्। त्यससम्बन्धी प्रस्ताव बिहीबारको मन्त्रिपरिषदले स्वीकृत गरेको थियो। 

भदौ २५ देखि असोज १२ गतेसम्म राष्ट्र संघको महासभा हुँदैछ। उक्त महासभामा विभिन्न मुलुकका सरकार प्रमुख, राष्ट्र प्रमुख र विदेशमन्त्रीलगायत उपस्थित हुनेछन्।

त्यता जानुअघि नै कांग्रेस, एमालेलगायत सत्तारुढ पार्टीको कार्यदल गठन भई न्युनतम साझा कार्यक्रम तयार पारिने बताइएको छ।
 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ०५:४०
प्रतिक्रिया दिनुहोस्