Nic Ad Nic Ad
Nic Ad Nic Ad
१०८ औं जन्म जयन्ती 

वीपीको यौन बिम्बः पत्नीले घोडा सुम्सुम्याइन्, पतिमाथि यौन इर्ष्याको भावना जाग्यो

विश्वेश्वरप्रसाद कोइरालाले सकम्बरीमाथि गरेका थिए यस्तो टिप्पणी 
सोमबार, भदौ २४, २०८१

काठमाडौं– २०१५ सालमा नेपालमा पहिलो पटक जनताबाट निर्वाचित प्रधानमन्त्री थिए, विश्वेश्वरप्रसाद कोइराला उर्फ वीपी। 

नेपाली कांग्रेसले आदर्श पुरुषका रुपमा राजनीतिक मान्यतामा व्याख्या गर्ने वीपी कोइराला नेपाली साहित्य र जन–जनका लागि सर्वमान्य साहित्यकार पनि थिए।

वीपी कोइराला प्रजातान्त्रिक राजनीतिका आधुनिक युगपात्र थिए नै, कालजयी साहित्यकारका रुपमा उनलाई खोट लगाउने ठाउँ छैन। 

विक्रम सम्बत् १९७१ साल भदौ २४ गते जन्मिएका उनै वीपीको सोमबार १०८ औं जन्म जयन्ती हो। यस अवसरमा उनको राजनीतिक र साहित्यिक विषयको संक्षेप टिप्पणीलाई जोड्ने कोशिश गरिएको छ। 

वीपीलाई नजिकबाट देखेका चिनेका प्राध्यापक अभि सुवेदीले रजनीतिक र साहित्यका विषयमा लेखेका थिए,‘बीपीले अदालतको बयानमा भनेका छन्, “मेरो प्रधानमन्त्रीत्वको आधार तीनवटा थिए... यसरी म जनता, संविधान र राजाको आधारमा प्रधानमन्त्री भएको थिएँ। नेपालको इतिहासमा आजसम्म म केवल म त्यस्तो एकमात्र प्रधानमन्त्री भएको हुँ।’’ अथवा सारमा बीपीले वैधानिक, प्रजातान्त्रिक र मानवीय गुणहरूले मण्डित उनको प्रधानमन्त्रित्वको राजाद्वारा निर्मम समाप्ति गरिनु एक अनुचित कर्म भएको कुरालाई प्रष्टसँग राखेका छन्।’

वीपीलाई राजा महेन्द्रले प्रजातन्त्र हरण गरी २०१७ मा पञ्चायती व्यवस्था लागू गरेसँगै जेलमा राखेका थिए। त्यसपछि साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाका कृति भटाभट आउन थालेका थिए। 

प्राध्यापक सुवेदी अगाडि लेख्छन्,‘बीपीको साहित्य साधनामा र उनको जीवन दर्शनमा यही अनेकौं गुणले मण्डित शक्तिको अनुशीलन गरिएको छ। उनको साहित्यको मीमांसाको आधार नै यही बहुल चेतनाको संगम हो।’

बीपीको जीवन दर्शन अर्को बृहत् विषय हो। एक ठूला साहित्यकार, राजनीतिज्ञ, नेता र नित्य कर्मशील द्रष्टाको जीवन दर्शन बहुआयामिक हुन्छ। त्यसका आधार साहित्यिक दार्शनिक, राजनैतिक, आध्यात्मिक र भौतिक हुन्छन्। 

सुवेदीले जोडेका छन्,‘बीपी कोइरालाको जीवन दर्शन बहुआयामिक छ र त्यसको एक महत्त्वपूर्ण स्वरुप उनले सिर्जना गरेको साहित्यमा देखिन्छ भन्ने मेरो धारणा छ। त्यो कसरी व्यक्त भएको छ र त्यसका स्वरूपहरू कसरी रचना भएका छन् भनेर हेर्नुपर्छ। साहित्यमा व्यक्त हुने लेखकको जीवन दर्शन हेर्न साहित्यिक विधाहरूकै आधार लिनु पर्छ। हामी बीपी कोइरालाको जीवन दर्शन उनले विभिन्न विधामा लेखेका साहित्यिक रचनाहरूको आधारमा हेर्छौं।’

वीपी विभिन्न साहित्यकारका कृतिप्रति पनि विचार राख्ने एक आयामिक व्यक्तित्व थिए। 

सुवेदी थप जोड्छन्,‘बीपी सुयोगवीरलाई जीवनप्रति उदासीन व्यक्तिको रुपमा लिँदैनन्। तर त्यसका स्मृतिले ऊ सधैं समातिएको छ। बीपीले पारिजातको उपन्यासमा शून्यवाद छ भन्न मिल्दैन भनेका थिए। बीपी सकम्बरीलाई लिएर भन्छन्– सकम्बरी नराम्री छ र सायद त्यसैले उसमा हीनताभाव –इन्फेरियोरिटी छ। ऊसँग नारीसुलभ प्रेमको प्यास छ। ऊ भावुक छ। यही भावुकता र हीनताभावले गर्दा उसको ट्रयाजेडी भएको हो।’
सकम्बरी पारिजातको साहित्यिक कृति थियो। 

ओशोले भनेका थिए,‘कुनै पनि स्वस्थ्य मानिसमा रहेको यौन उर्जा विविध प्रकारले प्रष्फुटन हुन्छ।’ सम्भवतः साहित्यकारका रुपमा विश्वेश्वरप्रसाद कोइरालामा ओशोको भनाई लागु भए जस्तो देखियो। 

विश्वेश्वरप्रसाद कोइरालाले नेपाली साहित्यमा यौन मनोवैज्ञानिक कथाहरू लेखेर त्यसको प्रयोग प्रशस्त मात्रामा गरेका छन्। साहित्यकार कृष्णहरि बराल भन्छन्,‘कर्णेलको घोडामा प्रयोग भएको विम्ब कति सशक्त छ। त्यसमा पतिप्रति यौन ईष्र्या जगाएको छ। उसले घोडालाई सुमसुम्याउने, घोडालाई हेर्ने, घोडालाई चलाउने गर्छे । अनि घोडाले पनि उसलाई टेर्ने, बूढो पतिलाई नटेर्ने हुन्छ।’

जे होस्, साहित्यमा वीपीको लगाव र सृजना जुन हिसाबमा सशक्त थियो, नेपाली जनता, प्रजातन्त्र र राजाप्रति पनि उति नै सहनशील थियो। त्यसैले उनले आफूलाई काराबासमा राखे पनि राजा महेन्द्रबारे भनेका थिए,‘जनता, राजा र मेरो घाँटी जोडिएको छ।’

नेपाली कांग्रेसलगायतले वीपी जयन्तीका अवसरमा विभिन्न औपचारिक कार्यक्रम विविध स्थानमा गरिरहेका छन्।
 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्