Nic Ad Nic Ad
Nic Ad Nic Ad
राजदूत नियुक्ति

कांग्रेस नेत्री चित्रलेखा यादव ‘प्रथम श्रेणीकी कर्मचारी’, ओरालो राजनीतिको यथार्थ यस्तो छ

मंगलबार, भदौ २५, २०८१

काठमाडौं– एमाले–माओवादी गठबन्धनले कोरियाका लागि नेपालका राजदूतमा सिफारिस गरेका सुशील प्याकुरेलले उक्त पद नलिने घोषणा गरेका थिए। सरकारलाई धन्यवाद दिए पनि प्रष्ट कारण नखुलाएका प्याकुरेलले उक्त पदलाई ‘डिमोशन’का रुपमा लिएको प्रष्ट थियो। 

राष्ट्रपति विद्यादेवी भण्डारी रहँदा सल्लाहकार रहीसकेका प्याकुरेल राज्यमन्त्री सरहको पदमा पुगेर नेपाल सरकारको निजामती कर्मचारीमा पनि ‘प्रथम श्रेणी’को सह–सचिव सरहको नियुक्तिमा जान चहाँदैन थिए, यसकारण अस्वीकार गरेका थिए। 

हुन त नेपालमा कनिष्ठ पद नै भए पनि राजदूत बन्नका लागि हानाथाप हुने अनेक उदाहरण छन्। सचिव पदबाट राजीनामा दिएर राजदूत बन्ने लोकदर्शन रेग्मीदेखि अनेक छन्। यहाँसम्मकी परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालिसकेका एमालेका महेन्द्रबहादुर पाण्डे त चीनका लागि नेपाली राजदूत नै बनेर गए। 

यहि उपक्रमकी पात्र बनेकी छन्, नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादव। यीनको विषय अझ रोचक मान्नुपर्छ। 

सरकारले अस्ट्रेलियाका लागि नेपालको राजदूतमा नियुक्त गरेकी यादवको संसदीय सुनुवाई त हुनेछ। तर, संवैधानिक परिषदको सदस्यको जिम्मेवारी सम्हालिसकेकी भेरी भेरी इम्पोर्टेन्ट पर्सन (भीभीआईपी)बाट सह–सचिव स्तरीय राजदूत बन्नका लागि यादव कसरी तयार भइन्? 

यादवको राजनीतिक उत्तरार्धको यो सबैभन्दा अन्तिम पद हुने सम्भावना रहेको छ। यादवको राजनीति कांग्रेस भित्र र बाहिर निरन्तर गिर्दो अवस्थामा थियो।

०७४ को निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पुष्पा भुसाललाई उपसभामुखमा निर्वाचित गराएपछि यादवलाई प्रमुख सचेतक बनाएका थिए। उनको राजदूत नियुक्तिअघिको अन्तिम पद यहि थियो। 

तर समयमा नै नेपालको प्रतिनिधि सभाको उपसभामुख भइसकेकी यादव राजदूत बन्नका लागि किन तयार भइन्? अहिलेसम्म यादवको प्रतिक्रिया आइसकेको छैन। परराष्ट्रमन्त्री आरजु राणाले उनको नाम राजदूतका लागि प्रस्ताव गरेपछि मन्त्रिपरिषदले अनुमोदन गरेको थियो।

यादवको राजनीतिक यात्रा ओरालो लागेका अनेक उदाहरण छन्। 

कांग्रेसको १३औं महाधिवेशनमा सभापति देउवाको प्यानलबाट कोषाध्यक्षको उम्मेदवार रहेकी उनलाई एक साधारण नेत्री सीतादेवी यादवले पराजित गरेकी थिइन्। 

विवादमा तानिएकी युवा नेतृ तथा त्यसबेलाकी कोषाध्यक्ष चित्रलेखा यादवलाई ८ मतले पराजित गर्दै सीतादेवी यादव कोषाध्यक्षमा निर्वाचित भएकी थिइन्।

श्रीमानलाई सशस्त्र द्वन्दवकालमा माओवादीले मारिदिएपछि राजनीतिमा प्रवेश गरेकी सीतादेवी तराई आन्दोलनबाट पनि पीडित थिइन्, उनको घर जलाइएको थियो।

त्यसपछि सिराहा जिल्लामा दुई कार्यकाल जिल्ला सभापति बनेकी सीतादेवी कांग्रेसकी पहिलो महिला जिल्ला सभापतिसमेत थिइन्।

पार्टीको केन्द्रीय समितिमा नपुगेकी सीतादेवी यादवले चित्रलेखालाई पछारेर पहिलोपटकमै महत्वपूर्ण पद निर्वाचित कोषाध्यक्ष बन्न सफल भएकी थिइन्। 

यसबेलाबाट चित्रलेखाको राजनीतिको ओरालो यात्रा थप तिव्र गतिमा अघि बढेको थियो। 

०७९ को निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतको गठबन्धनकी साझा उम्मेदवार बनी सिरहा–२ बाट प्रतिनिधि सभाको उम्मेदवारी दिएकी चित्रलेखा यादवलाई एमालेको समर्थनमा उठेका जनता समाजवादी पार्टी नेपालका राजकिशोर यादवले पराजित गरेका थिए। 

यसपछि त उनी कांग्रेसभित्रकै राजनीतिमा पनि छायाँमा पर्न थालिसकेकी थिइन्। राजकिशोर यादवले २४ हजार १७८ मत ल्याउँदा चित्रलेखा यादवको २३ हजार २८ मत मात्र आएको थियो।

राजदूत नियुक्ति समावेशी नभएको भनी मधेसी समुदायबाट यादवको सिफारिस गरिएको तर्क कांग्रेस संस्थापनले अगाडि सारेको छ। तर, कतिपय कांग्रेसका नेताहरू नै प्रश्न गर्छन्,‘कांग्रेसको सक्रिय राजनीति वा कांग्रेसमा मधेसी समुदायका अन्य महिला थिएनन् र?’

देउवा क्याम्पमा रहेका कारण नै चित्रलेखा यादवले निक्कै अवसर पाएकी थिइन्। सामान्यतया, उपसभामुख भएको मानिस पार्टीको मूल जिम्मेवारीमा फर्किने नैतिक चलन पनि हुँदैन। तर, नेपाली राजनीतिमा त्यसलाई मनासिव कहाँ मानिन्छ र? सबै पार्टीका नेता कार्यकर्ता उस्तै नै थिए र छन् पनि। 

कांग्रेसबाट उपसभामुख, सुशील कोइरालाको पालामा शिक्षामन्त्रीको जिम्मेवारी, ०७४ मा प्रमुख सचेतक हुँदै अहिले चित्रलेखा राजदूत बनाइनु कांग्रेसमा योगदान गरेका अन्य महिलाको अपमान गरिएको सन्दर्भमा पनि टिप्पणी हुन थालेका छन्।
 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्