नेभिगेशन
मनोरञ्जन
फिल्मका कुरा 

व्यावसायीक भनिएका नेपाली फिल्ममा आत्मा हुन्नन्, अस्थिरपञ्जर नाचिरहेका हुन्छन्

काठमाडौं– चलचित्र, फिल्म, टाल्किज, सिनेमा जे भन्नुस्। जे नाम र उपनाम दिनुहोस्। अंग्रेजी भाषा साम्राज्यले थिचेको फेन्सी नेपाली दुनियाँमा अहिले ‘मुभी’ भन्ने भ्रान्ती चलनचल्तीमा छ। केही छैन, कुरा एउटै हो।

भनिन्छ– सिनेमा संसारको सबैभन्दा सुन्दर ठगी हो। त्यसले वास्तविक संसारका रङ्गहरू वास्तिवक लाग्न पनि हलका स्क्रिनहरूमा देखिनुपर्छ भन्ने मान्यता राख्छ, राख्नुपर्छ।

धेरैपछि सिनेमा सन्दर्भमा यो टिप्पणी कोर्दैछु। कुनै फिल्म विशेषलाई लिएर होइन, वास्तवमा नेपाली फिल्म उद्योगभित्रका उत्पादन कस्ता छन्? 

माओवादीले कुनै बेला संसदका बारेमा गरेको ‘खसीको टाउको, कुकुरको मासु’ जस्तो छ कि त्यसभन्दा माथि उक्लियो? खासगरी व्यावसायीक, हिरोइज्मका नाम दिइएका फिल्म कस्ता बनिरहेका छन्? 

सिनेमा घरमा प्रायः गइन्छ। तर नेपाली फिल्मका पोस्टरतिर ध्यान तानिनका लागि त्यसको प्रिभ्यु पनि त राम्रो हुनुपथ्र्यो कि भन्ने लाग्छ। 

कलाकार मरिसकेका छन्। सिनो भइसकेका छन्। यीनले फिल्ममा अभिनय गर्छन् कि अभिनय गरे जस्तो गर्छन् भनेर छुट्याउन कठिन हुन्छ। 

मैले ‘दी डर्टी पिक्चर’को एउटा संवादलाई सँधै स्मरणमा राख्छु। इमरान हस्मी जस्तो एउटा छविमा चिनिने पात्रलाई त्यस फिल्ममा निर्देशकले फरक पहिचानमा स्थापित गरिदिएका थिए। 

तिनको एउटा संवाद छ– हर फिल्ममा एउटै हिरो हुन्छ, त्यो हो निर्देशक!

हो– फिल्मका पात्र, तिनका अभियनको जीवन, त्यसको निर्णायकीदेखि फिल्मलाई हलसम्म जाने निधो गर्ने मुख्य पात्र निर्देशक हुन्छ। निर्देशक त्यो हुन्छ– जसको विश्वासमा निर्माताले करोडौं रकमलाई कागज नगरी खर्च गरेको हुन्छ। 

तर, उत्पादन कस्तो निस्कन्छ?

रावायण भन्ने फिल्मको एउटा संवाद रहेछ,‘कान्छा, मैने तुम्हे प्यार नही किया है, इश्क किया है।’

हिन्दी र उर्दू छुट्याउन नसक्ने निर्देशक, अनि म तबला बजाउँछु तँ नाच मात्रै भन्ने पाराका कलाकार जसले सामान्य अर्थ र ज्ञानको कसी नै राख्दैनन्, यीनीहरूको चित्कार अनि हुंकार हुन्छ– दर्शकले नेपाली फिल्मलाई मन पराएनन्! कतिपय निर्देशकले त के पनि भनेका छन् भने,‘दर्शकले नेपाली फिल्म नै बुझ्दैनन्।’

दर्शकले नबुझ्ने फिल्म किन बनाउनू, अनि किन हलमा लगेर चलाउने झन्झट गर्नू!

फिल्मको जीवन ‘संवाद अर्थात् फिल्मी भाषामा डाइलग’मा बसेको हुन्छ। बलिउडका ९० का दशक र त्यसअघिका फिल्मका डाइलगलाई स्मरणमा ल्याउने हो भने अफगानिस्तानमा जन्मिएका कादर खानलाई ‘भगवान’ भन्दा पनि फरक पर्दैन।

दक्षिण भारतीय फिल्म, बलिउडका सिको गर्दै बनाइएकाभन्दा पनि यहाँ प्रकाश सपूतहरूका म्युजिक भिडिओले चर्चा किन पाउँछन्? यहाँ रावायण होइन ‘बोक्सी’ किन चल्छ? 

यसको कारण खुट्याउन आवश्यक छैन, फिल्म निर्माण टोलीले। नेपाली दर्शकले स्पष्ट भनिरहेका छन् हलमा पुगेर, चेष्टा देखाएर– हामीलाई मौलिकता देऊ! हाम्रा कथा भनिदेऊ!

स्क्रिप्टको ढङ्ग नपुग्दा पनि कथाको सार र संवादको रोचकताका कारण दीपकराज गिरी र दीपाश्री निरौलाहरूले बनाएको ‘छक्का पञ्जा–५’ सम्म पुग्न सक्षम छन् भन्ने तिनै दर्शक होइनन् र? 

मौलिकतालाई बोक्यो र जीवनका ढङ्गहरुको कथ्य उन्यो भने ‘कबड्डी’ गनुन्जेलसम्म बन्नका लागि दर्शकले प्रेरित गर्ने रहेछन् भन्ने उदाहरण छन् कि छैनन्?

कथा, संवाद र अभिनयको तालमेल र दर्शकको मनभित्र प्रवेश गर्ने द्वार खोल्नका लागि जात्रा, जात्रै जात्रा मात्र होइन महाजात्रा गर्दा नि हुने रहेछ नि!
खैर, यी केही उदाहरण हुन्। 

फिल्म भनेको तनाव दिने उत्पादन होइन। सामान्य वयस्कताको आदर्श र उद्देश्यहरूतर्फ मनोरञ्जनको क्षेत्रमा युवा जीवनलाई आकार दिन फिल्महरूले ठूलो प्रभाव पार्न सक्छन् र गर्न सक्छन्।

यहाँ हल्ला हुन्छ। एकै पटक सिनेमा घरमा चार–पाँच वटा फिल्म जुधाएर विध्न बाधा भयो, उद्योग पनि होइन अहिले ईण्डष्ट्रि भइसकेको क्षेत्र खत्तम पारियो। हलले ‘शो’ दिएनन्।

फिल्म एक उत्पादन हो। यसको मार्केटिङ बलियो भएर मात्र हुन्न। यसलाई उपभोक्ता (दर्शक)ले स्वादिष्ट पनि मान्नुपर्छ।

वाई–वाई निक्कै बिक्रि भयो तर रमपम किन बिकेन होइन। यीनका मौलिक स्वाद र बजार छन्। त्यसमा यीनिहरूको मार्केटिङ र स्वादलाई रुचाउने समुदाय पनि छन्। उनीहरूले निश्चित ग्राहकको मापन गरिसकेका छन्। 

उत्पादक कम्पनीले कस्तो स्वाद दिन्छन् भन्ने उपभोक्ताले पर्खेर बसेका हुन्छन्। 

बलिउड निर्देशक अनुराग कश्यप र नवाजुघिन सिद्धिकी नेपाल आएका रहेछन्। उनीहरूले दिने निर्देशन र अभिनयको स्वादको प्रयोग बलिउडले कसरी गरेको छ भन्ने चिजलाई नेपाली फिल्म क्षेत्रमा लागेकाले ग्रहण गर्न सके कि सकेनन्? भन्ने पनि हुन्छ।

९० को दशकमा नेपाली फिल्म क्षेत्रमा चलेका निर्देशक थिए, तुलसी घिमिरे। उनले त्यसबेलाको समाज र सन्दर्भलाई पर्दामा उतारे। कतिपय पात्रका डविङ उनी आफैंले गर्दा पनि समाज र प्रस्तुती अनि कथाका कारण दर्शकले नजरअन्दाज गरेर सफल बनाएका नै हुन्। 

लाहुरे, देउता, दुई थोपा आँसुदेखि लिएर दर्पण छायाँसम्म आउँदा त्यसबेलाको समाज झल्किन्थ्यो। समाज परिवर्तनशिल हुँदा आजको समाजको अध्ययनको गहिरा नपुगेका कारण त्यस्ता निर्देशक दर्पण छायाँ दुई लगायत दुई किनारा यावत फिल्ममा लड्नु परेको यथार्थ पनि छन्। 

फिल्म कथा जस्तै भन्दा पनि संगीत जस्तै बन्नुपर्छ भनिन्छ। यो संवेदना र भावनाको एक प्रगति हुनुपर्छ। विषयवस्तु र अर्थ भावनापछाडि आउँछन्। 

यसर्थ व्यावसायीक भनिने नेपाली फिल्म कस्तो बनाउने भन्ने त्यो त्यहि क्षेत्रका मानिसले अध्ययन, विश्लेषण र समाजसुहाउँदो परिवेशका विषयमा मन्थन गर्ने होला। तर, आजभोली व्यावसायीक भनिएका फिल्ममा आत्मा हुन्नन्, अस्थिरपञ्जर मात्र नाचिरहेका हुन्छन्। 

सुधारका लय समातेका फिल्मकर्मी पनि छन्। तिनका उत्पादन समाज सुहाउँदो पनि छन्। बजारको माग, उपभोक्ताको स्वादअनुसारको उत्पादनलाई कसैले बजार दिनु पर्दैन, बजार आफैंले ग्रहण गर्छ। यसको उदाहरण थियो– निश्चल बस्नेतले निर्देशनमा डेब्यु गरेको फिल्म– लूट।

फिल्मकर्मीको जय होस्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप मनोरञ्जन