Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपसभामुख इन्दीरा रानाविरुद्ध अविश्वासको प्रस्ताव लैजान सत्तारुढ दलमा छलफल, प्रधानमन्त्रीको प्रस्ताव

मंगलबार, भदौ २५, २०८१

काठमाडौं– केही समयअघि विवादमा तानिएकी उपसभामुख इन्दीरा राना मगरविरुद्ध अविश्वासको प्रस्ताव सदनमा दर्ता गराउने तयारी गरिएको छ। 

प्रतिनिधि सभाको बैठकलाई समान हिसाबले सञ्चालन नगरेको, सरकारी लेटरहेडको दुरुपयोग गरी केही मानिसलाई अमेरिका लगेकोलगायतका अभियोग, त्यस अभियोगलाई राजनीतिक आवरणमा प्रतिरोध गरेको लगायतका आरोप लगाउँदै सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमालेसहितका दलले उक्त प्रस्तावमा छलफल गरेका छन्। 

संवैधानिक परिषदमा बहुमत पुराउने उद्देश्यसाथ गरिएको प्रस्तावमाथि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समर्थन रहेको बताइन्छ। 

प्रस्तावकका रुपमा भने प्रधानमन्त्री केपी शर्मा ओली रहेको पनि बुझिएको छ। यो विषयको प्रधानमन्त्री ओलीका सल्लाहकारले स्वतन्त्र पुष्टि नगरे पनि क्यानडा नेपाललाई त्यस्तो प्रस्ताव जान सक्ने संकेत दिए।

क्यानडा नेपालले यस विषयमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलालाई बारम्बार सम्पर्क गरे पनि स्थापित हुन सकेको छैन। 

उपसभामुख राना मगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट निर्वाचित भएकी थिइन्। अहिले प्रतिपक्षी खेमामा रहेका नेकपा माओवादी केन्द्र र रास्वपा समर्थित उपसभामुख रहेका कारण संवैधानिक परिषदमा सत्ता पक्षको बहुमत पुग्दैन। 

उक्त परिषदमा प्रधानमन्त्री ओली अध्यक्ष हुन्छन् भने प्रधानन्यायाधीश, प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपसभामुख राना सदस्य हुन्छन्। 

रानालाई पदमुक्त गर्न पाएको खण्डमा सत्तारुढ कांग्रेसका प्रतिनिधिलाई उपसभामुखमा निर्वाचन गराउनेगरी प्रस्ताव आएको थियो। यसैकारण पनि देउवा सहमत देखिएका हुन्। 
 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्