Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपसभामुख इन्दीरा रानाविरुद्ध अविश्वासको प्रस्तावको चर्चाः यसो भन्छन् एमाले प्रमुख सचेतक बर्तौला

मंगलबार, भदौ २५, २०८१

काठमाडौं– केही समयअघि विवादमा तानिएकी उपसभामुख इन्दीरा राना मगरविरुद्ध अविश्वासको प्रस्ताव सदनमा दर्ता गराउने तयारीको चर्चा चलेको छ। 

प्रतिनिधि सभाको बैठकलाई समान हिसाबले सञ्चालन नगरेको, सरकारी लेटरहेडको दुरुपयोग गरी केही मानिसलाई अमेरिका लगेकोलगायतका अभियोग, त्यस अभियोगलाई राजनीतिक आवरणमा प्रतिरोध गरेको लगायतका आरोप लगाउँदै सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमालेसहितका दलले उक्त प्रस्तावमा छलफल गरेको विषय सतहमा आएको छ। 

सत्तारुढ पार्टीको बैठकमा सहभागी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले क्यानडानेपालसँग भनिन्,‘संविधान संशोधनका विषयमा छलफल भएको हो, म अगाडि नै बैठकबाट निस्किएँ पछाडि के चर्चा भयो भन्ने जानकारी नै भएन।’

उपसभामुख राना मगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट निर्वाचित भएकी थिइन्। अहिले प्रतिपक्षी खेमामा रहेका नेकपा माओवादी केन्द्र र रास्वपा समर्थित उपसभामुख रहेका कारण संवैधानिक परिषदमा सत्ता पक्षको बहुमत पुग्दैन। 

उक्त परिषदमा प्रधानमन्त्री ओली अध्यक्ष हुन्छन् भने प्रधानन्यायाधीश, प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपसभामुख राना सदस्य हुन्छन्। 

रानालाई पदमुक्त गर्न पाएको खण्डमा सत्तारुढ कांग्रेसका प्रतिनिधिलाई उपसभामुखमा निर्वाचन गराउनेगरी प्रस्ताव आएको थियो। यसैकारण पनि देउवा सहमत देखिएको बताइन्छ। 

यसै सन्दर्भमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले क्यानडानेपालसँग भने,‘प्रस्तावकै विषयमा त केही भन्न सक्ने छैन। तर, उहाँ (उपसभामुख)को विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रश्न उठेको हो। त्यस विषयमा उहाँले विचार गर्नुपर्ने हुन्छ।’

बर्तौलाले अगाडि भने,‘आफूमाथि प्रश्न उठेपछि के गर्ने भन्ने विषय स्वयम् उपसभामुखले सोच्ने कुरा हो, अन्य विषयबारे हामी अहिलेसम्म जानकार भइसकेका छैनौं।’
 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्