Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपसभामुख रानाविरुद्ध महाअभियोगको चर्चाः यस्तो छ प्रमुख प्रतिपक्षी माओवादी र राप्रपाको जवाफ

मंगलबार, भदौ २५, २०८१

काठमाडौं–  उपसभामुख इन्दीरा रानालाई सत्तारुढ पार्टीले महाअभियोग दर्ता गराएर हटाउने विषय चर्चामा आएपछि प्रतिपक्षी दलले पनि प्रतिक्रिया जनाएका छन्। 

प्रस्तावबारे सांकेतिक रुपमा सबैतिर चर्चा भएपछि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले यसलाई गलत गर्न लागिएको टिप्पणी गरेको छ। 

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले क्यानडा नेपालसँग भने,‘यो चर्चा सुनियो, जे भइरहेको छ, गलत हुँदैछ। यसमा माओवादीको बिरोध रहन्छ।’

प्रतिपक्षमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने यस विषयको कडा प्रतिवाद गरेको छ। राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले क्यानडा नेपाललाई प्रतिक्रिया दिँदै भने,‘कांग्रेस र एमालेलाई खान नपुगेर उपसभामुखलाई महाअभियोग लगाउन लागेका हुन्। खासमा यो व्यवस्था नै ठिक छैन, यस्तै खाने काम हुन्छ। नउल्ट्याई हुन्न।’

उपसभामुख निर्वाचित गराउनका लागि राप्रपाले समेत मत हालेको स्मरण गरेका शाही जोड्छन्,‘हामीले मतदान गरेको उपसभामुख हटाउन पाइन्न, रास्वपाका साथीहरुलाई यो व्यवस्था खराब छ ढालौं भन्दा मान्दैनन्।’ 

केही समयअघि विवादमा तानिएकी उपसभामुख इन्दीरा राना मगरविरुद्ध अविश्वासको प्रस्ताव सदनमा दर्ता गराउने विषयले मंगलबार सदन समेत तान्ने भएको छ। 

यहि मेसोमा शाही थप्छन्,‘उपसभामुख संवैधानिक परिषदको सदस्य हुन्छन्। संवैधानिक निकायको नियुक्तिमा उहाँको भूमिका हुन्छ। यसमा रास्वपाले पनि भागवन्डा मागिरहेको छ नदिनका लागि हटाउन खोजिएको हो। कांग्रेस एमाले मिलेर खाने तयारी गरेका छन्। सक्ने भए।’

प्रतिनिधि सभाको बैठकलाई समान हिसाबले सञ्चालन नगरेको, सरकारी लेटरहेडको दुरुपयोग गरी केही मानिसलाई अमेरिका लगेकोलगायतका अभियोग, त्यस अभियोगलाई राजनीतिक आवरणमा प्रतिरोध गरेको लगायतका आरोप लगाउँदै सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमालेसहितका दलले उक्त प्रस्तावमा छलफल गरेको विषय सतहमा आएको थियो। 

उपसभामुख राना मगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट निर्वाचित भएकी थिइन्। अहिले प्रतिपक्षी खेमामा रहेका नेकपा माओवादी केन्द्र र रास्वपा समर्थित उपसभामुख रहेका कारण संवैधानिक परिषदमा सत्ता पक्षको बहुमत पुग्दैन। 

उक्त परिषदमा प्रधानमन्त्री ओली अध्यक्ष हुन्छन् भने प्रधानन्यायाधीश, प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपसभामुख राना सदस्य हुन्छन्। 

रानालाई पदमुक्त गर्न पाएको खण्डमा सत्तारुढ कांग्रेसका प्रतिनिधिलाई उपसभामुखमा निर्वाचन गराउनेगरी प्रस्ताव आएको थियो। यसैकारण पनि देउवा सहमत देखिएको बताइन्छ। 

यसै सन्दर्भमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले क्यानडानेपालसँग भने,‘प्रस्तावकै विषयमा त केही भन्न सक्ने छैन। तर, उहाँ (उपसभामुख)को विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रश्न उठेको हो। त्यस विषयमा उहाँले विचार गर्नुपर्ने हुन्छ।’

बर्तौलाले अगाडि भने,‘आफूमाथि प्रश्न उठेपछि के गर्ने भन्ने विषय स्वयम् उपसभामुखले सोच्ने कुरा हो, अन्य विषयबारे हामी अहिलेसम्म जानकार भइसकेका छैनौं।’

यता, नेकपा एमालेले आन्तरिक रुपमा आफ्ना सांसदलाई आगामी असोज ३ गतेसम्म काठमाडौं नछाड्नका लागि ह्वीप जारी गरेको बताइन्छ।
 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १३:०५
प्रतिक्रिया दिनुहोस्