Nic Ad Nic Ad
Nic Ad Nic Ad

पर्यटन बोर्डको सीईओ नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

मंगलबार, भदौ २५, २०८१

काठमाडौँ- नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत छनौटमा धाँधली गरेर कम नम्बर पाएकालाई नियुक्ति दिइएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

लिखित परीक्षा र प्रस्तुतिलगायत विज्ञहरूको टीमले दिएको नम्बरअनुसार पहिलो भएका डा. धनञ्जय रेग्मीको साटो दोस्रो नम्बरका दीपकराज जोशीलाई बोर्डको सीईओ नियुक्त गरिएको जनाइएको छ ।पर्यटन मन्त्री बद्री पाण्डेको निर्देशनमा सीईओ छनौट समितिले प्राप्त नम्बरका आधारमा नभई वर्णानुक्रमअनुसार सिफारिस गरेर दोस्रो नम्बरका जोशीलाई नियुक्त गरेको भन्दै डा. रेग्मीले मंगलबार सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

निवर्तमान सीईओ रहेका रेग्मी विज्ञहरूको नम्बरका आधारमा पहिलो भए पनि मन्त्री पाण्डेले अनुचित प्रभावमा परेर जोशीलाई सीईओ नियुक्त गर्न छनौट उपसमितिलाई निर्देशन दिएको आरोप छ । पर्यटन मन्त्रालयकी उपसचिव इन्दू घिमिरेको संयोजकत्वमा रहेको उपसमितिमा बोर्डका सदस्य मदन आचार्य र मिलन देवकोटा सदस्य थिए ।

रिट निवेदनमा रेग्मीले आवेदकले परीक्षामा पाएको प्राप्तांक नै नहेरी गरिएको नियुक्ति र नियुक्ति पत्रले वैधानिक प्राप्त गर्न नसक्ने जिकिर गरेका छन् । उनले कार्यकारी पदमा नियुक्ति गर्दा यसअघि सर्वोत्कृष्ट अंक ल्याउनेलाई नियुक्ति दिइएको दृष्टान्तको समेत यसपटक अवज्ञा भएको दाबी गरेका छन् ।

उनले प्रत्येकले पाएको अंक सार्वजनिक गरी नतिजा प्रकाशन, सिफारिस र नियुक्त गर्नुपर्नेमा सो नगरी अपारदर्शी ढंगले जोशीलाई गरिएको नियुक्ति बदर गर्न उत्प्रेषणको आदेश माग गरेका छन् ।

रेग्मीले बोर्डका एकजना सदस्यले यो निर्णय प्रक्रिया अवैधानिक रहेको भन्दै असहमति जनाएको समेत स्मरण गराएका छन् । सीईओ छनौट सिफारिस उपसमितिका सदस्य मदन आचार्यले नोट अफ डिसेन्ट लेखेका छन् । उनले मेरिटलाई लत्याइएकोलगायतका विषय उठाएर असहमति जनाएका हुन् ।

रेग्मीको रिटमा १६ जना आवेदकमध्ये ३ जनालाई छनौट गर्दा अंकको आधार बनाइएको भन्दै तीनबाट एकको नियुक्ति गर्दा पनि बढी अंक ल्याउनेलाई नै आधार बनाइनुपर्ने माग गरेका छन् । उनले जोशीको नियुक्ति बदर गरी आफूलाई नियुक्त गर्न आदेश माग समेत गरेका छन् । रेग्मीको रिटमाथि सुनुवाइका लागि बुधवार पेशी तोकिएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १४:१६
प्रतिक्रिया दिनुहोस्