Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपसभामुखलाई देवेन्द्र पौडेलले भने-हामी छौँ, ढुक्क हुनुहोला

मंगलबार, भदौ २५, २०८१

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले उपसभामुख इन्दिरा रानालाई ह्यूमिलीएशन नगर्न सत्तारुढ दलका सांसदहरूलाई आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले उपसभामुख राना पदबाट हटाउने भनेर अगाडि नबढ्न आग्रह गरे । यस्तो प्रयास भए प्रतिवाद गर्ने उनको चेतावनी छ । भिसाको विषय सदनसँग सम्बन्धित नरहेको उनले बताए । ‘उपसभामुखज्युले भिसा प्राप्त गर्ने यो सदनको कुनै पनि सदस्यको स्वीकृति लिएर होइन । योभन्दा पहिला गएकाहरूले के के गर्नुभयो ? त्यो पनि हिसाबकिताब लिएर अगाडि बढ्नको निम्ति म अनुरोध गर्न चाहन्छु’ उनले भने ।

नैतिकताको प्रश्न उठाइएको भनेर हतोत्साहित नहुन उपसभामुख रानालाई सांसद पौडेलको आग्रह छ । ‘‘उहाँलाई नैतिकताको प्रश्न उठाएर, नैतिकताको विषय उठाएर ह्यूमिलिएशन गर्न खोज्ने ? म उपसभामुखलाई भन्न चाहन्छु, ‘हामी छौँ तपाईँको साथमा, हामी प्रतिवाद गर्छौँ, ढुक्क हुनुहोला ।’

सामाजिक क्षेत्रमा काम गरेको र एउटा जिम्मेवारी निर्वाह गर्छु भनेर आएको एउटा महिलालाई ह्यूमिलीएशन गर्न नहुने उनको आग्रह छ । उनले सत्तारुढ दलहरूलाई भनेका छन्, ‘‘ ह्यूमिलीएशन नगर्न र यस प्रकारका विषयमा हात हाल्न आग्रह गर्न चाहन्छु ।’ नैतिकताको विषय उठाउँदा आफूतिर पनि हेर्न उनको आग्रह छ ।

‘प्रश्न उठेर राजीनामा दिने हो भने, दशौं मन्त्रीका प्रश्न उठेका छन् । राजीनामा दिन तयार हुनुहुन्छ ?’ उनले प्रश्न गरे, ‘लाउडामा प्रश्न उठ्यो, वाइडबडीमा प्रश्न उठ्यो, नक्कली भुटानी शरणार्थीमा प्रश्न उठ्यो, बालुवाटार प्रकरणमा प्रश्न उठ्यो । गिरिवन्धु टीस्टेटमा प्रश्न उठ्यो , राजीनामा दिन तयार हुनुहुन्छ ?’ लोकतन्त्र भनेको प्रतिपक्षीलाई समेत विश्वासमा लिएर जाने व्यवस्था रहेको उल्लेख गर्दै उनले यही रूपमा अगाडि बढ्न आवश्यक रहेको बताए ।

उपसभामुखलाई पदबाट हटाउने प्रयासको विरोध गर्दै उनले दोहोर्‍याए, ‘यसले लोकतन्त्र अगाडि बढ्न सक्दैन । यसले सुदृढ लोकतन्त्र र सहकार्यको प्रणाली यो देशमा अगाडि बढ्न सक्दैन । त्यसकारण यस प्रकारका कुराहरू सरकारले गम्भीरतापूर्वक सुनोस्, यदि हो भने त्यसो नगर्नको निम्ति हामी खबरदारी गर्न चाहन्छौँ ।’

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्