Nic Ad Nic Ad
Nic Ad Nic Ad

पोखरामा अहिले कालो झन्डा व्यहोरेका रवि लामिछानेले कुन घरमा झुन्डाएका छन् त्यो खोया?

बुधबार, भदौ २६, २०८१

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पोखरामा बहिस्कार जस्तो गर्न थालिएको छ। सहकारी ठगी प्रकरणको विषयमा विवादमा तानिएपछि लामिछानेले अहिले यस्तै व्यवाहार भोग्नु परेको छ। 

मंगलबार उनलाई कालो झन्डा देखाइयो। पार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन पुगेका पूर्वगृहमन्त्री लामिछानेलाई पोखराको बिरौटामा सहकारीका बचतकर्ताले कालो झण्डा देखाएका थिए। 

रास्वपा गण्डकी प्रदेशको विस्तारित बैठक बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटमा चलिरहेको छ। बैठकस्थलमा छिर्ने क्रममा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले लामिछानेलाई कालो झण्डा देखाएका थिए।  सहकारी ठगलाई राजनीतिक संरक्षण मिलेको भन्दै नाराबाजी गरेका थिए।

लामिछानेले उक्त बिरोध कसैले उचालेर गरेको बैठकका क्रममा बताएका थिए। यो विषयबारे उनले मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगेर सुनाएका थिए। 

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसहित सहकारीका पूर्व र वर्तमान सञ्चालक तथा कर्मचारी गरी १९ जनालाई प्रतिवादी बनाएर प्रहरीले १ अर्ब ११ करोड रुपैयाँ बिगो मागदाबीसहित २०८० असोज १८ मा कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

लामिछानेले पोखरामा भोगेको यो पहिलो बिरोध थिएन। यसअघि उनलाई एक सर्वसाधारणले भाषण गर्ने क्रममा खोयाले प्रहार गरेका थिए। 
यस विषयलाई पनि रास्वपा र रवि लामिछानेले प्रायोजित समेत भनेका थिए। 

लामिछाने पोखराको अमरसिंह चोकको खेलमैदानमा सभालाई सम्बोधन गरिरहेका थिए। उनी बोल्दै गर्दा सभामा सहभागी हूटिङ गरिरहेका थिए। कतिपय ताली बजाइरहेका थिए।

लामिछानेले भाषण गरिरहेकै वेला स्टेज अघिल्तिर उभिइरहेका एक युवकले मकैको खोयाले प्रहार गरे। मकैको खोयाले लामिछानेलाई त लागेन तर स्टेजमा लाग्यो।

मकैको खोया प्रहार गर्ने युवकलाई रास्वपा कार्यकर्ताले कुटपिट गर्न खोजेका थिए। नजिकै सुरक्षामा खटिएका प्रहरीले रास्वपा कार्यकर्ताबाट जोगाउँदै युवकलाई नियन्त्रणमा लिए।

रास्वपा सभापति लामिछानेमाथि मकैको खोया प्रहार गर्ने युवक लमजुङ घर भई पोखरा बस्दै आएका २८ वर्षीय सन्तोष रानाभाट थिए।

सोही सभामा लामिछानेले जनतालाई आश्वस्त पार्दै भनेका थिए,‘यो खोया होइन सम्झना हो। म यस खोयालाई घरमा, ढोकामा झुन्डाएर राख्नेछु।’ राजनीतिक प्रशंशाका लागि लामिछानेले त्यसो भने पनि उनका घरमा कुनै खोया झुन्डाइएको छैन।
 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ०९:२२
प्रतिक्रिया दिनुहोस्