Nic Ad Nic Ad
Nic Ad Nic Ad

डोनाल्ड ट्रम्पमाथि प्रभाव बढाउँदै इलोन मस्क

बुधबार, भदौ २६, २०८१

गत महिना इलोन मस्कले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्समा संवाद गरे । सोही संवादका क्रममा मस्कले ‘सरकार दक्षता आयोग’को विचार उठाएका थिए । यस्तो निकायले करदाताले तिरेको पैसा ‘उचित रूपमा प्रयोग भए–नभएको सुनिश्चित गर्न सक्ने’ मस्कले बताएका थिए । दुई घण्टाभन्दा लामो सो संवादका क्रममा मस्कले अघि सारेको सो विचार आफूलाई मन परेको ट्रम्पले जवाफ दिएका थिए । गत बिहीबार ट्रम्पले यस सम्बन्धमा थप निर्णय गरेका छन् । न्युयोर्कस्थित ‘द इकोनोमिक क्लब’मा सम्बोधन गर्ने क्रममा ट्रम्पले उनी नोभेम्बरको राष्ट्रपति चुनावमा विजयी भए भने मस्कलाई एक नयाँ दक्षता आयोग गठन गरेर त्यसको प्रमुख बनाइने घोषणा गरे । 

आयोगले ‘सबै संघीय निकाय’को अडिट गर्ने र ‘व्यापक सुधार सम्बन्धमा सुझाब दिने’ ट्रम्पले बताए । ट्रम्प र मस्कबिच हप्तौँ छलफल भएपछि उक्त घोषणा भएको यी दुईजनासँग रहेका व्यक्तिले द न्युयोर्क टाइम्सलाई बताए । मस्कले ट्विटर किनेपछि जसरी त्यस कम्पनीको खर्च कटौती गरेका थिए, त्यसैगरी सरकारको पनि अनावश्यक खर्च कटौती गर्न सघाऊन् भन्ने ट्रम्पले चाहेको तिनले जानकारी दिए । नोभेम्बरको राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा विश्वका सबैभन्दा धनी व्यक्ति मस्कको ट्रम्पमाथिको प्रभाव बढ्दै गएको छ ।

तथापि, दुईजनाबिचको राजनीतिक मित्रताले भविष्यमा समस्या पनि जन्माउन सक्छ । विशेष मस्कले धेरै व्यवसायमा हात हालेकाले ट्रम्पको प्रशासनमा उनी कुनै निकायमा चुनिए भने ‘स्वार्थको द्वन्द्व’को सवाल उठ्नेछ । मस्कले उनको रकेट निर्माण व्यवसाय ‘स्पेस–एक्स’ र विद्युतीय वाहन निर्माता शाखा टेस्लाका लागि अर्बौं डलर संघीय सम्झौता तथा अनुदान हासिल गरेका छन् । सरकारी अनुबन्धकै कारण मस्क र उनका केही कम्पनी पछिल्लो समय विभिन्न कानुनी उल्लंघनको मुद्दामा ‘डिपार्टमेन्ट अफ जस्टिस’, ‘फेडरल ट्रेड कमिसन’ र ‘सेकुरिटी एन्ड एक्स्चेन्ज कमिसन’को निगरानीमा पनि छन् । ‘स्पेस–एक्स सरकारी सम्झौतामा अनुबन्धित भएको र टेस्लाले संघीय कर छुटको लाभ लिइरहेको अवस्थामा मस्कको सरकारी नियुक्तिमा स्पष्टतः स्वार्थको द्वन्द्वको विषय उठ्नेछ,’ सान्टा क्लारा युनिभर्सिटीको ‘मरक्कुला सेन्टर फर एप्लाइड इथिक्स’की शीर्ष निर्देशक एन स्किटले भनिन् । 

५३ वर्षीय मस्क अहिले विश्वभरका दक्षिणपन्थी नेताको तारिफ गर्ने र उनीहरूसँग नजिकिए उनको कम्पनीका लागि फाइदा लिने चक्करमा देखिन्छन् । ब्राजिलमा स्पेस–एक्सलाई फाइदा हुने देखेपछि उनी तत्कालीन राष्ट्रपति जेयर बोल्सोनारोसँग नजिकिए । त्यस्तै अहिले उनी अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईका उग्र समर्थक भएका छन् । अर्जेन्टिना टेस्लाजस्ता विद्युतीय वाहनमा प्रयोग हुने ब्याट्री बनाउन आवश्यक खनिज ‘लिथियम’को ठुलो भण्डारण भएको देश हो । मिलेईले सरकारी खर्च कटौती गर्ने र खानी सञ्चालनलाई बढावा दिने वाचा गरेका छन् । 

ट्रम्पप्रतिको समर्थन भने उनले जुलाईमा सार्वजनिक गरेका हुन् । ट्रम्पको उम्मेदवारीलाई समर्थन जनाउने क्रममा उनले एक्समा एक पोस्ट गर्दै भनेका थिए, ‘अवसर आयो भने म अमेरिकाको सेवा गर्न तयार छु । तलब, उपाधि वा पहिचान नलिई ।’ दक्षता आयोगबारे ट्रम्पको पछिल्लो घोषणाबारे स्पष्टीकरण दिँदै उनका शीर्ष चुनावी सल्लाहकार ब्रायन हुग्सले एक वक्तव्य जारी गरेका छन् । त्यसमा भनिएको छ, ‘मस्कले राष्ट्रपति ट्रम्पसँग काम गर्ने चाहना व्यक्त गरेर आफूलाई अमेरिकाको भविष्यका लागि समर्पित गरेका छन् । उनी हाम्रो सरकारले थप प्रभावकारी काम गरोस् र अमेरिकी करदाताको हरेक डलर प्रभावकारी रूपमा प्रयोग होस् भन्ने सुनिश्चित गर्न चाहन्छन् ।’ ट्रम्प अमेरिकी सरकारको दक्षताको विश्लेषण गर्ने यस्तो आयोगको नेतृत्व मस्कले पाउनुपर्छ भन्नेमा प्रतिबद्ध रहेको पनि उनले बताए । 

मस्कले लामो समयदेखि एक्सको खातालाई उनको राजनीतिक विचार प्रस्तुत गर्न प्रयोग गर्दै आएका छन् । पछिल्लो समय १९ करोड फलोअर्स रहेको आफ्ना एक्स एकाउन्टलाई उनले बाइडेनका सरकारको नीतिको आलोचना गर्न र डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसको चुनावी वाचाको विरोध गर्न प्रयोग गरिरहेका छन् । कहिलेकाहीँ उनका केही पोस्ट अस्थिर देखिन्छ । जस्तो, गत आइतबार उनले सेयर गरेको एक पोस्टले महिलामा आलोचनात्मक क्षमता नहुने भएकाले उनीहरूलाई सरकार वा प्रजातन्त्रमा सहभागी हुन दिइनुहुँदैन भनेको छ । त्यसको अर्को दिन उनले कमला ह्यारिसको एक फोटो सेयर गरेका छन्, जसमा उनी कम्युनिस्ट पहिरनमा देखिन्छिन् । 

मस्कले सरकारी खर्च कटौतीबारे पनि पोस्ट गरिरहेका हुन्छन् । ट्रम्पको घोषणा आएकै दिन उनले एक्समा गरेको पोस्टमा भनिएको छ, ‘सरकारी खर्चले अमेरिकालाई टाट पल्टने अवस्थातर्फ लगिरहेको छ ।’ विगतमा उनले आफ्नै व्यवसायमा हुने अनावश्यक खर्चबारे पनि चासो व्यक्त गर्ने गर्थे । ट्विटर स्वामित्वमा लिएलगत्तै उनले कम्पनीको कटौती गर्न भन्दै झन्डै ७५ प्रतिशत जनशक्ति कटौती गरे । तर, मस्कले कम्पनी खरिद गरेसँगै विज्ञापनदाता सो प्ल्याटफर्मबाट टाढिन थालेपछि नाम बदलेर ‘एक्स’ बनाइएको कम्पनीको बजार मूल्यांकन झन्डै ५५ प्रतिशतले अवमूल्यन भएको छ । 

मस्क र ट्रम्प एक–अर्काका प्रशंसक थिएनन् । मस्कले रिपब्लिकन पार्टीबाट राष्ट्रपतीय उम्मेदवार चयनका लागि प्रतिस्पर्धा सुरु हुँदा फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसलाई समर्थन जनाएका थिए । उनले त्यो समय ट्रम्पको विरोध गर्दै उनले अवकाश लिने वेला आएको टिप्पणी गरेका थिए । त्यस्तै ट्रम्पले पनि मस्कलाई आडम्बरीको संज्ञा दिएका थिए । तर, गत मार्चबाट दुईबिचको सम्बन्धमा सुधार आउन थाल्यो । मार्चमा ट्रम्पले उनको चुनावी अभियानका लागि आवश्यक रकम जुटाउन फ्लोरिडा राज्यको पाम बिचमा दाताहरूको भेला आयोजना गरेका थिए । त्यसमा मस्क पनि आमन्त्रित थिए । 

त्यसै वेलाको वरपर मस्कले उनका एक मित्रलाई आफूले ट्रम्पलाई बाहिर हल्ला नगरी आर्थिक सहयोग गर्ने बताएको ती मित्रले स्मरण गरे । यही अवधिमा गत वसन्तमा मस्कले ट्रम्पलाई समर्थन गर्ने एउटा ‘सुपर प्याक’लाई (राजनीतिक कार्य समिति) झन्डै १८ करोड डलरसम्म सहयोग दिने योजना बनाएको सूचना बाहिर आयो । साथै मस्कले जो लोन्सडेललगायत उनका मित्रलाई ट्रम्पको अभियानमा आर्थिक सहयोग गर्न मनाएका थिए । यसबिच मस्कले राजनीतिक कदममा सल्लाह लिन शीर्ष रिपब्लिकन राजनीतिक अभियन्ता क्रिस योङलाई नियुक्त गरे । त्यसपछि जुन महिनामा भएको टेस्लाको वार्षिक सेयरहोल्डर बैठकमा उनले ट्रम्पसँग कुराकानी भइरहेको जानकारी गराएका थिए । ‘उनीसँग कुराकानी भइरहेको थियो, अकस्मात् विनाकुनै कारण उनले मलाई फोन गरे,’ मस्कले भनेका थिए । 

त्यसपछि जुलाईमा पेन्सिलभेनिया राज्यमा भएको एक भेलामा ट्रम्पमाथि गोली प्रहार भएपछि मस्कले उनलाई खुला समर्थन जनाउने निर्णय गरे । ‘म ट्रम्पलाई पूर्ण समर्थन जनाउँछु र उनको शीर्ष स्वास्थ्य लाभको कामना गर्छु,’ घटनालगत्तै मस्कले एक्समा लेखेका थिए । फेरि उनले ट्रम्पको रगतपच्छे तस्बिर सेयर गर्दै लेखे, ‘अन्तिमपटक अमेरिकाले यति दह्रो उम्मेदवार थियोडोर रुजबेल्टमा पाएको थियो ।’ गत महिनाको ‘एक्स’ संवादमा ट्रम्पले हडतालमा उत्रिन लागेका श्रमिकलाई बर्खास्त गरेकोमा मस्कको प्रशंसा गरे । सो संवादको केही समयपछि अर्को एक पोडकास्टमा बोल्ने क्रममा ट्रम्पले मस्कलाई ‘असाधारण व्यक्ति’ बताउँदै उनी आफ्ना भावी सरकारमा सहभागी हुन सक्ने बताए । 

बिहीबारको घोषणामा ट्रम्पले किफायती आयोगको कार्यक्षेत्रबारे केही उल्लेख गरेनन् । तथापि उनले ‘धाँधलीपूर्ण तथा अनुचित भुक्तानी’को कारण करदताले ‘सयौँ अर्ब डलर’ तिरिरहनुपरेको बताए । उनले सो जिम्मेवारी निभाउँदा मस्कले आफ्नो कम्पनीबाट बिदामा बस्नेछन् वा लगानी झिक्नेछन् भन्नेबारे केही बताएनन् । ‘यस आयोगले काम सुरु गरेको ६ महिनाभित्र धाँधली तथा अनुचित भुक्तानी पूर्ण रूपमा हटाउनेछ । खर्बौं अर्ब डलर वचत गर्नेछन्,’ ट्रम्पले कुनै प्रमाण नदिई भने । 

म्याक प्रविधि उत्तरदायित्वबारे लेख्छन् भने स्केइफेर अमेरिकी राजनीतिमा अर्बपतिको प्रभावलाई पछ्याउँछन् । त्यस्तै शीर्ष राजनीतिक संवाददाता हेबरम्यान सन् २०२४ को राष्ट्रपतीय चुनावका लागि भइरहेको चुनावी अभियानबारे लेखिरहेकी छिन् । 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ०९:४७
प्रतिक्रिया दिनुहोस्