Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमाले-माओवादी आरोप प्रत्यारोपपछि प्रतिनिधिसभा बैठक स्थगित

बुधबार, भदौ २६, २०८१

काठमाडौं- ‘हिंसा’ शब्द असंसदीय नभएको रुलिङ सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधिसभा बैठकमा गरेपछि नेकपा माओवादी केन्द्र विरोधमा उत्रिएको छ ।

माओवादी केन्द्रले सभामुखको रुलिङमा आपत्ति जनाएर विरोधमा उत्रिएपछि सभामुख घिमिरेले प्रतिनिधिसभाको बैठक आगामी भदौ ३० गतेसम्मलाई स्थगित गरेका छन् ।

सभामुखको रुलिङपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाउँदै संविधानले नै स्वीकारेको जनयुद्धलाई अपमान गरेको बताएका थिए ।

त्यसपछि माओवादी सांसदहरू उभिएर विरोध गरेपछि सभामुख घिमिरले बैठक अघि बढाउन खोजेका थिए । तर माओवादी सांसदहरूको विरोध नरोकिएपछि सभामुख घिमिरेले भदौ ३० आइतबार १ बजे बस्ने गरी संसद बैठक स्थगित गरेका हुन् ।

आजको बैठकमा ‘हिंसा’ शब्दलाई लिएर एमाले र माओवादी सांसदहरूबीच जुहारी चलेको थियो । एमाले सांसदहरू रघुजी पन्त र महेश बर्तौलासहितले सभामुखको निर्णयको बचाउ गरे । उता माओवादी सांसदहरू हितराज पाण्डे र देवेन्द्र पौडेलसहित विरोधमा बोले ।

 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्