Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुदूरपश्चिमको विकासका लागि लागिपर्छु : आरजु राणा

बुधबार, भदौ २६, २०८१

काठमाडौँ- परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले मुलुकको सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू सधैँ लागिपर्ने बताएकी छिन् ।

सुदूर पश्चिमाञ्चल सरोकार मञ्च, नेपालका पदाधिकारी एवं सदस्य सम्मिलित प्रतिनिधिमण्डलसँग उनले बुधबार कुरा गर्दै आफूले विगत लामो समयदेखि सो क्षेत्रका नागरिकको स्वास्थ्य, महिला अधिकार, प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्वलगायतका क्षेत्रमा काम गर्दै आएको स्मरण गर्दै आफू कुनै सरकारी पदमा हुँदा या नहुँदा पनि यो क्षेत्रको विकास गरी त्यहाँका नागरिकको जीवनस्तरमा सुधार ल्याउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।उनले पछिल्लो समयमा नेपालमा आत्महत्या गर्ने व्यक्तिको सङ्ख्या बढ्दै गएको देखिएको र आत्महत्याको दर अन्यत्रको तुलनामा सुदूरपश्चिममा धेरै रहेको तथ्य बाहिर आएकाले यो अवस्थाको निराकरणका लागि काम गर्न पनि सो मञ्चलाई आग्रह गरिन् ।

“अहिले आत्महत्या गर्नेमा १५ प्रतिशत जति २० वर्ष मुनिका युवायुवती रहेका तथ्य बाहिर आएको छ । यो निकै गम्भीर अवस्था हो । सुदूरपश्चिमको अवस्था झन् खराब देखिन्छ । अब हरेक पालिका तथा वडा स्तरमै परामर्श केन्द्र राखेर हुन्छ या कसरी हुन्छ मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्नुपर्नेछ । यो उमेर समूहका नागरिकलाई व्यापक मात्रामा परामर्श सेवा दिनुपर्नेछ । यहाँहरू पनि त्यसमा लाग्नुहोला” मन्त्री डा.राणाले भनिन ।

परराष्ट्र मन्त्री डा राणाले सुदूरपश्चिम क्षेत्रको विकासका पक्षमा त्यहाँका केही स्थानीय परियोजना तथा नाकाका विषयमा भारत भ्रमणका क्रममा भारतीय उच्च सरकारी तहसम्म कुरा उठाएकामा सो प्रतिनिधिमण्डलले विशेष धन्यवाद ज्ञापन गरेको थियो ।

उक्त सरोकार मञ्चको प्रतिनिधिमण्डलले मन्त्री डा राणाले भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाबाट नेपालले अधिकतम लाभ लिन सक्ने गरी कुरा उठाई प्रक्रियासमेत अघि बढाएकामा धन्यवाद ज्ञापन गर्दै यसको कार्यान्वयनका लागि थप लागिपर्न आग्रह पनि गरेको थियो । मन्त्री डा राणाले भारत भ्रमणका क्रममा गौरीफन्टा नाकाको पूर्ण क्षमताका साथ सञ्चालन गर्ने गरी स्तरोन्नति तथा धनगढीको फाप्लामा निर्माण हुने बहुउद्देश्यीय खेलमैदानका विषयमा पनि कुरा उठाएकी थिइन् ।

सो प्रतिनिधिमण्डलका सदस्यहरूले गौरीफन्टा तथा गड्डाचौकी नाकाबाट ओहोरदोहोर गर्नेक्रममा नेपालीलाई भारततर्फबाट धरपकड हुने गरेको गुनासो गर्दै त्यहाँ सुरक्षा र थप व्यवस्थापनका लागि आग्रह गरेकी थिइन् । त्यस क्रममा मन्त्री डा राणाले नेपालले आफ्ना छिमेकी देशतर्फका सिमानाका एवम् सीमा सुरक्षा चौकीहरूलाई थप व्यवस्थित बनाउने विषयमा आफूले पहल गर्ने बताइन् । त्यस अवसरमा सो सरोकार मञ्चले मन्त्री डा राणालाई सम्मान प्रदान गरेको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्