Nic Ad Nic Ad
Nic Ad Nic Ad

दशैंका लागि १८०० खसीबोका र च्याङ्ग्रा ल्याइँदै

बुधबार, भदौ २६, २०८१

काठमाडौँ -सरकाले दशैंका लागि १ हजार ८०० वटा खसीबोका र च्याङ्ग्रा राजधानीमा ल्याउने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो दशैंका लागि १ हजार ५०० वटा खसीबोका र  ३०० वटा च्याङ्ग्रा ल्याउने भएको हो । 

उक्त  खसीबोका तथा च्याङ्ग्रा घटस्थापनाको अघिल्लो दिनसम्म ल्याइसक्ने र सोही दिनदेखि बिक्री थाल्ने गरी तयारी गरिरहेको कम्पनीले जनाएको छ । 

अहिले नै कति मूल्यमा बिक्री गर्ने भन्नेबारे निर्णय नभएको र खुला बजारको तुलनामा सहुलियत मूल्यमा बिक्री गरिने कम्पनीको भनाइ छ।

गत वर्ष कम्पनीले जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० र च्याङ्ग्राको मूल्य प्रतिकिलो १२५० रुपैयाँ तोकेको थियो । उक्त मूल्यमा बिक्री नभएपछि पछि भाउसमेत घटाइएको थियो । जसअनुसार खसीको २० रुपैयाँ सहुलियत दिँदै ६५० र च्याङ्ग्राको २५ रुपैयाँ सहुलियत दिएर १२२५ रुपैयाँ कायम भएको थियो ।  यसैगरी गतवर्ष बोकाको भाउ पनि खसीकै बराबर थियो । यो वर्षपनि मूल्य निर्धारण गर्दा खसी र बोका दुवैको भाउ उस्तै उस्तै पर्न सक्ने बताइएको छ । 

कम्पनीले यस वर्ष खसीबोका र च्याङ्ग्रा खरिदका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो वर्ष भने गत वर्षको तुलनामा  बजेट घटाइएको छ । अघिल्लो वर्ष खरिद गरिएका सबै च्याङ्ग्रा बिक्री नहुँदा ठुलो घाटा बेहोर्नु परेकाले यो वर्ष च्याङ्ग्राको परिमाण घटाइएको बताइएको छ ।

कम्पनीले गत वर्ष २ हजार वटा खसीबोका र ५४२ वटा च्याङ्ग्रा ल्याएको थियो । जसका लागि ८ करोड रुपैयाँ बराबर बजेट छुट्याइएको थियो । 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  २२:१४
प्रतिक्रिया दिनुहोस्