Nic Ad Nic Ad
Nic Ad Nic Ad

इजरायलले भारतबाट १५ हजार कामदार लैजाने, तलब झण्डै २ लाख

बिहीबार, भदौ २७, २०८१

काठमाडौं - इजरायल सरकारले आकर्षक सेवा सुविधाका साथ निर्माण र स्वास्थ्य क्षेत्रका लागि १५ हजार भारतीय कामदार माग गरेको छ । इजरायल सरकारले भारत सरकारलाई सम्पर्क गरी १० हजार कामदार निर्माण क्षेत्रका लागि र ५ हजार कामदार स्वास्थ्य क्षेत्रका लागि माग गरेको हो ।

ती कामदारको तलब मासिक झण्डै दुई लाख भारू हुनेछ । खान, बस्न फ्री र हरेक महिना बोनस पनि भएकाले कामदारहरुले मनग्य कमाउन सक्नेछन् ।कामदार छनोटका लागि इजरायली कम्पनीका प्रतिनिधिहरु यसै हप्ता भारत भ्रमणमा आउने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

निर्माण क्षेत्रका कामदार छनोटका लागि महाराष्ट्रमा शिविर सन्चालन हुने छ । इजरायली टोलीले उक्त शिविरबाट आफ्नो मापदण्ड र सिप हेरेर कामदार छनोट गर्ने छ ।

इजरायल सरकारको बोर्डर अथोरिटी (पीआईबीए)ले फ्रेमवर्क, आइरन वेल्डिङ, प्लास्टिङ र सेरामिक टाइलिङमा काम गर्ने भारतीय कामदार आवश्यक परेको जनाएको छ ।

यसका अलावा इजरायलले आफ्नो स्वास्थ्य सेवालाई विस्तार गर्ने उद्देश्यले पाँच हजार केयर गिभर कामदार पनि लैजाने छ । त्यसका लागि १० कक्षा पास गरेको वा कुनै मान्यताप्राप्त भारतीय संस्थानबाट प्रमाणपत्र तह पास गरेको वा कम्तिमा ९९० घण्टासम्म सम्बन्धित विषयमा तालिम लिएको योग्यता तोकिएको छ ।

१ लाख ९२ हजार तलब, हरेक महिना बोनस

इजरायल सरकारका अनुसार छनोटमा परेका कामदारको मेडिकल बीमा, खाने, बस्ने सुविधासहित एक लाख ९२ हजार भारू मासिक तलब हुने छ । ती कामदारहरुले हरेक महिना १६ हजार ५१५ भारू बोनस पनि पाउने छन् ।

इजरायलले यसअघि पनि निर्माण क्षेत्रका लागि १० हजार ३४९ जना भारतीय कामदार छनोट गरेर लगेको थियो । त्यतिबेला उत्तर प्रदेश, हरियाणा र तेलंगनामा शिविर आयोजना गरी कामदार छनोट गरिएको थियो ।

इजरायल र भारत सरकारबीच कामदार लैजाने विषयमा सन् २०२३ मा जीटुजी सम्झौता भएको थियो ।

छनोट भएका भारतीय कामदारहरु इजरायल उड्नुअघि इजरायली संस्कृति, जीवनशैली, सरकारी नीति नियमबारे तालिम पनि लिनुपर्ने छ ।


 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ०७:२५
प्रतिक्रिया दिनुहोस्