Nic Ad Nic Ad
Nic Ad Nic Ad

सन्तानलाई आन्दोलनमा लगाउने बुवाआमा परिवर्तनका संवाहक : अध्यक्ष दाहाल

बिहीबार, भदौ २७, २०८१

काठमाडौँ -नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना सन्तानलाई आन्दोलनमा लाग्न प्रेरित गर्ने बुवाआमा परिवर्तनका संवाहक भएको बताएका छन् ।

चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकाप निवासी बुद्धराम दुलालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले त्यस्ता बुवाआमालाई सधैँ समाजले सम्झिरहने बताए। सन्तानलाई हुर्काउन, बढाउन र पढाउन संघर्ष गर्दै आफूलाई बामपन्थी रुझानबाट अघि बढाउँदै पाँच छोरा, पाँच बुहारी र चार छोरीलाई राजनीतिक, सामाजिक आन्दोलनमा लाग्न प्रेरित गर्ने बुद्धराम प्रेरणाको स्रोत भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले २०४५ सालदेखि बिरामी अवस्थामा रहेका बुवाको सम्मानपूर्वक स्याहारसुसार गर्ने परिवार पनि उत्तिकै उदाहरणीय भएको बताए।धेरै कठिनाइका बीचबाट पनि दुलालले सामाजिक क्षेत्र, बामपन्थी झुकाव हुँदै कम्युनिस्ट आन्दोलनमा गरेको योगदानको चर्चा गर्दै अध्यक्ष प्रचण्डले यस्ता विशिष्ट व्यक्तित्वहरू सधैँ समाजको अग्रस्थानमा रहने बताए।

जुत्ता सिलाउने पेसा अंगालेका बुद्धरामले समाज रूपान्तरणमा गरेको योगदानले सचेत श्रमजीवी वर्गको यथार्थ प्रतिनिधित्व गर्ने उल्लेख गर्दै उनले यसबाट सचेत श्रमजीवी वर्ग नै सामाजिक रूपान्तरणका अगुवा हुन सक्छन् भन्ने थप पुष्टि भएको पनि बताए।

नेपाली समाजको रूपान्तरणका लागि बुद्धरामजस्ता थुप्रै अगुवाले गरेको योगदानका कारण अहिले मुलुकमा समानतायुक्त राजनीतिक व्यवस्था स्थापना भएको चर्चा गर्दै उनले प्राप्त उपलब्धिको उपभोग, रक्षा र विकासमा पनि उत्पीडित समुदायले बढी नै ध्यान दिनुपर्ने बताए।

दिवङ्गत बुद्धरामको जीवनीबारे उनका जेठा छोरा एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य शंकर दुलालले जानकारी दिएका थिए। उनले पञ्चायतकालमै बाम आन्दोलनको समर्थनमा लागेका बुवाकै प्रेरणाका कारण आफ्नो परिवारले राजनीतिक तथा सामाजिक आन्दोलनमा लाग्ने अवसर प्राप्त भएको बताए।

कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटालगायतका नेता कार्यकर्ताको उपस्थिति थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्