Nic Ad Nic Ad
Nic Ad Nic Ad

देउवा र ओलीलाई प्रचण्डले भने- भोलि नै संवैधानिक निकायका सबै रिक्त पदमा सिफारिस गरौँ

बिहीबार, भदौ २७, २०८१

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक निकायका सबै रिक्त पदमा सम्भव भए शुक्रबार नै सिफारिस गर्नुपर्ने बताएका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा दाहालले रिक्त पदमा सम्भव शुक्रबार नै सिफारिस गर्नुपर्ने बताएका हुन् । 

उपसभामुख इन्दिरा राना मगरलाई हटाउन सत्तारुढ दलले कसरत गरिरहेका बेला दाहालले यस्तो प्रस्ताव गरेका हुन् । बिहीबार सिफारिस हुन नसके अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने धारणा व्यक्त गरेको दाहालको सचिवालयले जनाएको छ ।

कांग्रेस र एमालेले दुई तिहाइ सांसदको मत सुनिश्चित गरेर मात्र उपसभामुख इन्दिरा रानालाई हटाउने प्रक्रिया अघि बढाउन लागेका छन् । प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले बुधबार नै उपसभामुखविरुद्ध ‘पदीय अनुकूलको आचरण नभएको’ प्रस्ताव दर्ता गर्ने तयारी अघि बढाएका थिए । तर दुई तिहाइ अनिश्चित र कांग्रेसमा आन्तरिक मतभेद देखिएपछि तत्कालका लागि प्रक्रिया रोकिएको हो ।

संवैधानिक निकायका पदाधिकारी नियुक्तिको सिफारिस गर्ने संवैधानिक परिषद्‍मा प्रतिपक्षी दल निर्णायक देखिएका छन् । प्रधानमन्त्रीको नेतृत्वमा रहने परिषद्‍मा प्रधानन्यायाधीश, सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, राष्ट्रिय सभाका अध्यक्ष र प्रतिनिधिसभाका उपसभामुख गरी ६ सदस्यीय हुन्छन् ।

त्यसमध्ये प्रमुख प्रतिपक्षमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल छन् भने राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल पनि माओवादी पृष्ठभूमिका हुन् । प्रतिनिधिसभाको उपसभामुख रहेकी इन्दिरा राना विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पृष्ठभूमिकी हुन् । संवैधानिक परिषद्‍मा बहुमत नपुगेकैले उपसभामुखलाई हटाउन खोजिएको माओवादी र रास्वपाले आरोप लगाउँदै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १४:३४
प्रतिक्रिया दिनुहोस्