‘साम्बाला’ निर्देशक भामको कांग्रेससँग राजनीतिक नाताः समानुपातिकमा सर्वसम्मत सिफारिस थिए
काठमाडौं– प्रखर फिल्म मेकर मिनबहादुर भाम यो साता यसकारण पनि चर्चामा रहे कि फिल्म साम्बालाको प्रिमियरका निम्ति बलिउडका अब्बल निर्देशक अनुराग कश्यप र कलाकार नवाजुद्दिन सिद्धिकीलाई सहभागी गराउन सफल भए।
कालो पोथीबाट नाम कमाएका दुर्गमका युवाले फिल्मी क्षेत्रमा नयाँ स्वाद मात्र दिएका छैनन्, ग्रामिण भेगको यथार्थलाई चित्रण गर्छन् भने दैनिकीलाई फिल्मी पर्दाबाट जनतामाझ पुराउँछन्।
नेपालका कलाकर्मी र राजनीतिक दलको कनेक्शन कहिँ न कहिँ हुने गरेको तथ्य पनि रहने गरेको छ। फिल्मकर्मी दिनेश डीसी एमालेसँग आवद्ध रहेकै कारण चलचित्र विकास बोर्डका अध्यक्ष भए।
यस्तै खरो सृजनाकार भाम पनि राजनीतिक विचारसँग प्रत्यक्ष जोडिएका थिए। उनी नेपाली कांग्रेस निकट हुन्।
यसैकारण पनि उनको सृजनामाथि कांग्रेस महामन्त्री गगन थापाले गज्जबको टिप्पणी गरेका छन्।
थापाले भनेका छन्,‘प्रिय भाइ मीन, तिमी हाम्रो पुस्ताको अब्बल सिनेकर्मी हो। ओस्कार ओर्थी चलचित्र ‘साम्बाला’ निर्माण गरेकोमा बधाई र सफलताको शुभकामना।’
महामन्त्री थापा अगाडि जोड्छन्,‘कांग्रेसीहरूले त आफ्नो परिवारको एउटा सदस्य अन्तर्राष्ट्रिय ख्याति प्राप्त सिनेकर्मी हो भन्दा थप गर्व गर्न सक्ने विषय हो । ‘साम्बाला’ सिनेमा हलमा आउने प्रतीक्षामा छु। सबैलाई हेर्न आग्रह पनि गर्दछु।’
निर्देशक भामलाई नेपाली कांग्रेसले गत निर्वाचनमा उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको थियो।
मीनबहादुर भाम गत संसदीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारमा सिफारिस भएका थिए। कांग्रेसले मुगुको छायाँनाथ रारा नगरपालिका–४ का भामलाई पिछडिएको क्षेत्र र खस आर्यतर्फको क्षेत्रबाट सर्वसम्मत सिफारिस गरेको थियो।