Nic Ad Nic Ad
Nic Ad Nic Ad

इमान्दारिताका साथ जिम्मेवारी सम्पादन गर्न गृह सचिवको निर्देशन

बिहीबार, भदौ २७, २०८१

काठमाडौँ- गृह सचिव गोकर्णमणि दुवाडीले आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकको निरीक्षण भ्रमण गरेर सशस्त्र प्रहरी बलले सम्पादन गरेका काम एवं गतिविधिका बारेमा जानकारी लिएका छन् ।

सो अवसरमा उनले सीमा सुरक्षा, विपद् उद्धार तथा व्यवस्थापनलगायत देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए गरेका काम कारबाही र संगठनको समस्या तथा चुनौतीका बारेमा जानकारी लिएका थिए। सोही अवसरमा गृह सचिव दुवाडीले सशस्त्र प्रहरीले स्थापना भएको छोटो अवधिमै उल्लेख्य कार्य गर्न सफल भएको बताए ।उनले सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बलले राजश्व चुहावट तथा सीमा अपराध नियन्त्रण कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको उल्लेख गर्दै सदैव जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउन सकेमा मात्र कार्य क्षेत्रमा परिचालित भएको सार्थकता हुने बताए ।

सशस्त्र प्रहरी बल नेपालमा स्रोतसाधन तथा जनशक्ति व्यवस्थापन, कर्मचारीहरूको सेवा, सुविधा र वृत्तिविकासमा मन्त्रालयको सदैव साथ रहने जनाउँदै उनले राज्यले सुम्पिएको जिम्मेवारीलाई इमान्दारिता र जबाफदेहितासहित थप प्रभावकारी रूपमा कार्यसम्पादन गर्न निर्देशन समेत दिए।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गृह सचिव दुवाडीबाट भएको निर्देशन लगायत नेपाल सरकारले अवलम्बन गरेका नीतिहरूलाई दृढताका साथ पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफू परिचालित कार्यक्षेत्रमा इमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्न सशस्त्र प्रहरी बलका सम्पूर्ण कर्मचारीहरूलाई निर्देशन दिए।

निरीक्षण भ्रमणका क्रममा गृह सचिव दुवाडीले प्रधान कार्यालयमा रहेको बोर्डर रिसोर्स एण्ड रिसर्च सेन्टर, केन्द्रीय परिचालन कक्ष, एपिएफ म्युजियम र सशस्त्र प्रहरी बल नेपालद्वारा हाल प्रयोगमा ल्याइरहेका विपद् उद्धार सामाग्रीहरूको अवलोकन गरेका थिए ।कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल,चन्द्रप्रकाश गौतम र वंशीराज दाहाल, गृह मन्त्रालयका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १७:२२
प्रतिक्रिया दिनुहोस्