Nic Ad Nic Ad
Nic Ad Nic Ad

संवैधानिक परिषद् बैठक बस्दै

शुक्रबार, भदौ २८, २०८१

काठमाडौँ - सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न आज (शुक्रवार) संवैधानिक परिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले परिषद्को बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीले बुधवार बोलाएको बैठक पूर्वतयारी नभएको कारण देखाएर शुक्रवारलाई सारेका थिए । संवैधानिक परिषद्को बैठक बोलाउनेबारे बिहीबार बालुवाटारमा ओलीले पूर्वप्रधानमन्त्रीद्वयसँग छलफल गरेका थिए । परिषद् बैठक बस्नुअघि प्रधानमन्त्री ओलीले सत्तारूढ दल काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा छलफल गरेका हुन् ।

सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ देखि अवकाशमा जाँदै छन् । संविधानको धारा २८४ (३) बमोजिम अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्ले सिफारिस गर्नुपर्ने व्यवस्था छ । संवैधानिक व्यवस्थाअनुसार भदौ १९ मा नै प्रधानन्यायाधीश सिफारिस हुनुपर्नेमा परिषद्को बैठक अहिलेसम्म बस्न सकेको थिएन ।

यसअघि न्यायपरिषद् बैठकले प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउतसहित ८ न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाइसकेको छ । न्यायपरिषद्ले वरीयताअनुसार राउत, नहकुल सुवेदी, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोज शर्मा, कुमार चुडालको नाम परिषद्मा पठाएको हो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्