Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोशीमा काँग्रेसका मन्त्रीले लिए शपथ

शुक्रबार, भदौ २८, २०८१

काठमाडौँ  - नेपाली काँग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ । काँग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा काँग्रेस सरकारमा सहभागी भएको हो । कृष्णप्रसाद सिटौला समूहका राई भौतिक पूर्वाधार मन्त्री बनेका छन् । सिटौला पक्षकै भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् ।

यस्तै, खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री र सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बनेका छन् । हाङ्गाम सभापति शेरबहादुर देउवा समूहका हुन् भने मण्डल संस्थापन भित्रकै ज्ञानेन्द्र कार्की निकट मानिन्छन् ।

गत साउन १२ मा नै सरकारमा सहभागी हुने निर्णय गरेको काँग्रेस कोइराला समूहको २ मन्त्रीको अडानका कारण सरकारमा सहभागी भएको थिएन । आज भने शेखर समूहविना काँग्रेस सरकारमा सहभागी भएको हो ।

आन्तरिक विवादका कारण काँग्रेसले मन्त्री छान्न नसक्दा यहाँ लामो समय  मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन ।

योसँगै कोशीमा २ राज्यमन्त्रीसहित एमाले(काँग्रेस गठबन्धनको १० सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्