Nic Ad Nic Ad
Nic Ad Nic Ad
सहकारी घोटालामा प्रमुख चार राजनीतिक दलका नेता

रवि लामिछानेबाट सुरु भएको सहकारी ठगीको राजनीतिक कनेक्शन शक्ति बस्नेत, धनराज हुँदै ऋषिकेशसम्म

शनिबार, भदौ २९, २०८१

काठमाडौं– प्रतिनिधि सभाका चार मुख्य दलका शीर्षदेखि पदाधिकारी हुँदै राम्रो जिम्मेवारी पाएका नेता सहकारी घोटाला प्रकरणमा जोडिएका छन्। 

पछिल्लो पटक कांग्रेस उपसभापति धनराज गुरुङ, सार्वजनिक लेखा समितिका संयोजक तथा एमाले नेता ऋषिकेश पोखरेलको नाम सहकारी ठगी प्रकरणमा जोडिएको छ। 

त्यसअघि नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतसहितको नाम सहकारी घोटाला प्रकरणमा जोडियो। यो क्रम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, उपसभापति डोरप्रसाद अर्याल, कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्यसहिको नामबाट सुरु भएको थियो। 

प्रतिनिधि सभामा बनेको संसदीय छानबिन समितिले नाम जोडिएका नेतासँग बयान लिइसकेको छ भने गुरुङको नाम जोडिएको सहकारीको विषयमा जानकारी लिएको थियो। ललितपुरका मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङसँग यस विषयमा बुझिएको समितिका एक सदस्यले क्यानडा नेपाललाई जानकारी दिए। 

रास्वपा सभापति जोडिएको भनिएको पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम र चितवनको सहारा सहकारीको विषय यसअघि नै व्यापक चर्चामा आइसकेका छन्। त्यसैकारण सदन अवरोध हुँदै छानबिन समिति गठन भएको थियो। 

पछिल्लो पटक भने सत्तारुढ कांग्रेस र एमालेका नेता पनि जोडिएपछि सहकारी ठगी, घोटाला जस्ता काममा सदनमा रहेका प्रमुख चार दल नै जिम्मेवार रहेको भन्ने देखाउँछ। 

यद्यपि यस विषयमा स्वतन्त्र छानबिन गरी पुष्टि हुने क्रम जारी रहेको छ। सहकारी ठगीको विषयमा रास्वपा सभापति लामिछानेले भने आफू निर्दोष रहेको भनी प्रतिवाद गरिरहेका छन्। यस्तो प्रतिवाद शक्ति बस्नेत, धनराज गुरुङ र ऋषिकेश पोखरेलले पनि गरिरहेका छन्। 

कांग्रेस उपसभापति गुरूङले एक महिना अघिसम्म सम्बन्ध विच्छेद गरेकी श्रीमती ज्योति गुरूङको ऋण तिरेको प्रमाण समेत फेला परेको छ। सहकारीको १४ करोड ८१ लाख रुपैयाँ रकम अपचलन गरेको आरोप लागेकी ज्योतिको नाममा भएको ऋण धनराजले तिरेको रसिद छानबिन गर्न गठित विशेष समितिले प्राप्त गरेको थियो।

सहकारीको रकम दुरूपयोगबारे छानबिन गर्न गठित विशेष समितिले मितेरी सहकारीसहित उपत्यकाका १३ सहकारीमा बिहीबार अनुगमन गरेको थियो। जसमध्ये १० वटा सहकारी बन्द थिए। 

सहकारीका अध्यक्ष कुम्भराजले सांसदहरूलाई धनराज र ज्योतिको सम्बन्धविच्छेद भए पनि उनीहरूले सहकारीबाट लिएको ऋण धनराजले नै तिरेको जानकारी समितिलाई दिएका थिए। ज्योति र धनराजको सम्बन्ध विच्छेद २०७६ सालमा भए पनि २०८१ सालसम्म पनि धनराजले ऋण तिरेको रसिदहरू समितिलाई सहकारीले दिएको छ।  

यसले उपसभापति गुरुङमाथि सदनमा नै प्रश्न खडा भएको नक्कली सम्बन्ध विच्छेदको विषयले अब जोडतोडका साथ हंगामा मच्चाउन सक्ने आँकलन गरिएको छ।

यसअघिको सरकारका  ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका माओवादी उपमहासचिव बस्नेत र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा रास्वपा उपसभापति अर्याल पदाधिकारी रहिसकेको हाम्रो नयाँ कृषि सहकारी संस्थाको समस्यामा हिस्सेदार रहेको विवरण सार्वजनिक भएको थियो। 

विभिन्न सहकारी ठगीमा मुछिएका गीतेन्द्रबाबु (जीबी) राई नै हाल हाम्रो नयाँ कृषि सहकारीको अध्यक्ष भए पनि बस्नेत र अर्याल त्यसअघि सहकारीमा पदाधिकारी रहिसकेका थिए। त्यसैले सहकारी स्थापनाकालदेखिको अनुसन्धान हुँदा मन्त्री बस्नेत र अर्याल समेत विवादमा तानिएका छन्।

निक्षेपकर्ताको ४ करोड रकम फिर्ता नगरेपछि सहकारी विभागको सिफारिसमा गएको बर्षको माघ १२ गते सरकारले सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो। सहकारीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरेको थियो।

माओवादी नेता बस्नेत हाम्रो नयाँ कृषि सहकारी संस्थाको संस्थापक अध्यक्ष हुन्। उनीपछि पत्नी सत्य पहाडी अध्यक्ष भइन्। त्यसपछि पहाडीका भाइ नाता पर्ने सूर्यबहादुर गुरुङ सहकारीका अध्यक्ष भए भने त्यसपछि राई अध्यक्ष भएका हुन्।

पछिल्लो पटक भने एमाले नेता पोखरेल पनि सहकारी घोटाला प्रकरणमा तानिएका छन्। श्रीमतीसँग मिलेर मोरङको धनपालथान गाउँपालिका–४, कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थामा हिनामिना गरेको आरोप उनीमाथि लागेको छ।

सो सहकारीबाट १२ करोड रूपैयाँ हिनामिना भएको भन्दै छानबिनका लागि विभिन्न निकायमा उजुरी परेको छ। उक्त सहकारीमा उनकी पत्नी अञ्जला कोइराला सञ्चालक समिति सदस्य थिइन्। अञ्जला सञ्चालक भएकै बेला सहकारीमा रकम हिनामिना भएको देखिन्छ।

बिना धितो केही सञ्चालकले सहकारीको रकम हिनामिना गरेका हुन्। सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार  यही मुद्दामा एक पटक पक्राउसमेत परिसकेका छन्। तर, सर्वसाधरणले आफ्नो बचत फिर्ता पाउन सकेका छैनन्। अञ्जला आफैं पनि सहकारीको कालोसूचीमा छिन्।

सहकारीको कर्जा चुक्ता नगर्दा उनी कालोसूचीमा परेकी हुन्। यद्यपि, सो सहकारीमा अध्यक्षले अनियमितता गरेको र आफू देखावटी सञ्चालक मात्र भएको उनको दाबी छ। अञ्जला शिक्षकसमेत हुन्। सहकारीका अध्यक्ष रौनियार सांसद पोखरेलका साथी हुन्। सोही आधारमा अञ्जला सञ्चालक बनेकी थिइन्।

पोखरेलले भने सो सहकारीमा भएको हिनामिनाबाट आफू पनि पीडित बनेको बताएका थिए। बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि सो सहकारी हाल बन्द छ भने बचतकर्ताले आन्दोलनको तयारी गरेका छन्।

देशैभरका सहकारी घोटालाको मुद्दा पेचिलो बनिरहेका बेला सदनमा रहेका प्रमुख दलका नेताको संलग्नताको विषय सतहमा आएको छ। यसले प्रष्ट पार्छ– सहकारी ठगी प्रकरणमा प्रत्यक्ष वा परोक्ष रुपमा राजनीतिक दलका नेताको नाता गाँसिन्छ।
 

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १२:२६
प्रतिक्रिया दिनुहोस्