Nic Ad Nic Ad
Nic Ad Nic Ad

दूध किसानले पाएनन् ७४ करोड भुक्तानी

शनिबार, भदौ २९, २०८१

चितवन- यहाँका दुग्ध उत्पादक किसानले रु ७४ करोडभन्दा बढी भुक्तानी पाएका छैनन्। फागुन यतादेखिको भुक्तानी बाँकी रहेको छ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार दुग्ध विकास संस्थानको मात्रै रु ३३ करोडभन्दा बढी भुक्तानी रोकिएको छ। जिल्लाका एक सय १५ सहकारी संस्थाले संस्थानसहित ४२ उद्योगलाई बिक्री गरेको दूधको भुक्तानी बाँकी रहेको हो।

भुक्तानी माग गर्दै सङ्घले विभिन्न निकायमा पटकपटक ध्यानाकर्षण गराउँदासमेत भुक्तानी नपाएको बगाले बताउँछन्। जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गर्दछ। त्यसमध्ये एक लाख ५१ हजार लिटर दूध जिल्ला बाहिर जाने गर्दछ। बगालेका अनुसार काठमाण्डौँ, पोखरा, मकवानपुर, भक्तपुर, ललितपुर लगायतका जिल्लामा यहाँबाट दूध जाने गरेको छ।

दूधको भुक्तानी समयमा नहुँदा यसको प्रभाव प्रत्यक्ष रुपमा किसानमा परेको छ। डेरी उद्योगले दूध बिक्री नभएपछि पाउडर र नौनी बनाएर राखेका छन्। ती सामग्री बिक्री नहुँदा भुक्तानी गर्न नसकेको उद्योगहरुले जनाउँदै आएका छन्। यद्यपि बिक्री भएकाहरूले पनि भुक्तानी नगरेको किसानको गुनासो छ।

यता गर्मी मौसमसँगै दूधको खपत बढेपछि यहाँको चितवन मिल्क उद्योगमा प्रशोधन गर्न दूध नपाउँदा उद्योग बन्द अवस्थामा छ । उद्योगले सहकारी र निजी फार्मबाट आएको दूध शुल्क लिएर प्रशोधन गरी पठाउने गरेको थियो। धुलो दूध र नौनी बिक्री नभएपछि उद्योगका गोदाम दूग्धजन्य पदार्थले भरिएका थिए। ती सामग्री घट्दै गएको भए पनि उद्योग भने सञ्चालन हुन सकेको छैन।

उद्योगका प्रबन्धक दुर्गा पराजुलीले पाँच महिनादेखि उद्योग बन्द भएको बताए। दूध नपाएपछि गएको वैशाखबाट उद्योग बन्द भएको हो। विभिन्न सङ्घ संस्थालाई दूधका लागि आग्रह गरिएको भए पनि पाउन नसकिएको उनले बताए। एक पटक सञ्चालन गर्नका लागि कम्तीमा ४० हजार लिटर दूध आवश्यक पर्दछ। उद्योगले एक सिफ्टमा एक लाख लिटर दूध प्रशोधन गर्न सक्छ।

सहकारी र फर्मले दूध नल्याएपछि आफैले दूध किनेर भए पनि मेसिन सञ्चालनका लागि उद्योग चलाउने योजनामा रहेको उनले बताए। गएको वर्ष यो मौसममा दूधको अभाव थिएन। अघिल्ला वर्षमा असार १५ बाट साउन मसान्तसम्म दूधको अभाव हुने भए पनि यो अवस्था नआएको पराजुली बताउँछन्।

उद्योगमा ३३ जना कर्मचारी रहेका छन्। उद्योग सञ्चालन नहुँदासमेत मासिक रु १५ लाख खर्च हुने पराजुली बताउँछन्। गत वर्ष प्रशोधन सामग्री सम्बन्धित सहकारी र फर्मले नलगेपछि दुई पटक झण्डै दुई महिना भण्डारणको अभावमा उद्योग बन्द गर्नु परेको थियो।

केही दिन अघि उद्योगले २० हजार लिटर दूध खरिद गरेर मेसिन सञ्चालन गरेको थिए। मेसिन लामो समय बन्द रहँदा बिग्रने भएकाले दूध आफै किनेर समय समयमा सञ्चालन गरिँदै आएको छ। पराजुलीले भने, ‘हामीले दूध किन्छौं भन्दा पनि पाएका छैनौं, आउँदो हप्ता सर्लाहीमा एउटा संस्थाले दिन्छु भनेको छ।’

विसं २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ। प्रतिलिटर पाउडर दूधको रु एक सय १३ र घ्यू (बटर) को प्रतिकिलो रु ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ। विसं २०६४ मा स्थापना गरिएको उक्त उद्योग भूकम्पसँगै बन्द भएको थियो। उद्योग भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको छ।

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १२:५१
प्रतिक्रिया दिनुहोस्