Nic Ad Nic Ad
Nic Ad Nic Ad

बिल गेट्सलाई चिया पिलाउने डली चायवाला किन आउँदैछन् नेपाल ?

शनिबार, भदौ २९, २०८१

विश्वकै धनाढ्य व्यक्ति तथा माइक्रोसफ्ट संस्थापक बिल गेट्सलाई चिया पिलाउने डली चायवाला नेपाल आउने भएका छन् । उनले सामाजिक संजालमार्फत् आफू नेपाल आउन लागेको जानकारी दिएका हुन्।

भाइरल चायवाला नेपालमा सेप्टेम्बर १६ अथवा यहिँ सोमबार आउन लागेका हुन् । उनले एक भिडियो राख्दै नेपालमा हुने सबैलाई भेट्ने समेत बताएका छन् । डली चायवाला लगायत पाँच जनाको टोली नेपाल भ्रमणमा आउन लागेको हो ।

नेपाली युवा वैज्ञानिक वा भौतिकशास्त्री आरिफ अलिले नेपाल आउनका लागि डलीलाई निम्तो गरेका हुन् । खासगरी, झापास्थित भद्रपुरमा रहेको ग्लोबल इनोभेसन पार्टनर नामक कन्सल्टेन्सीका प्रतिनिधि बनेर आरिफले चायवालालाई बोलाएका हुन् । अलिले एक पडकास्टको अतिथि बनाएर डली चायवालालाई नेपाल ल्याउन लागेका हुन्। अलिले डली चायवाला यहाँ घुम्न आउँदा नेपाली पर्यटनमा टेवा पुग्ने बताएका छन् । सामाजिक संजालमा भाइरल चायवाला मार्फत् विश्वका मानिसले नेपाल देख्ने उनले अपेक्षा गरेका छन् ।  

डली चायवाला भारतको सिलीगुडी नजिकको एयरपोर्ट बागडोगरा उत्रिने छन् । जसपश्चात्,गाडीमा नै भद्रपुर जाने उनको तालिका छ । चायवालाले अलिका पडकास्टमा अन्तरवार्ता दिनेछन् र सो रात भद्रपुरमै बिताउनेछन् । तर त्यसपछि भने, उनी असोजको पहिलो दिन, काठमाडौं आउनेछन् । यहाँ केही शैक्षिक परामर्शदाता संस्थासँग उनले भेटघाट गर्नेछन् । डली चायवालालाई हेलिकप्टर मार्फत् नै काठमाडौं तथा अन्य हिमाली भेगको भ्रमण समेत गराइने भएको छ।

यति मात्र नभई, डली चायवालाको पोखरा भ्रमणको तालिका रहेको छ । उनी तीन दिन पोखरा घुम्नेछन् ।

रजनीकान्त स्टाइलमा चिया पकाउने र साेहि स्टाइलमा नै चिया पकाउने र पस्किने उनको शैलीकै कारण डली चायवाला सामाजिक सञ्जालमा भाइरल भएका थिए । नागपुरस्थित स्टलमा चिया बेच्ने डलि चायवाला एक समय अत्याधिक चर्चित बने । विश्वकै धनाढ्य व्यवसायी बिल गेट्स उनकै स्टलमा गएर चिया पिएपछि उनको चर्चा चुलियो ।

त्यसयता उनले फर्केर हेर्नुपरेको छैन । अहिले पनि उनी कुनै बलिउड सेलिब्रेटीभन्दा कम छैनन् । 

को हुन् डली चायवाला ?

१७ वर्षदेखि चिया बेच्ने डलीको वास्तविक नाम सुनिल पाटिल हो । वास्तवमा उनकी पूर्वप्रेमिकाले उनलाई यही नामले बोलाउँथिन् तर अहिले उनी यही नामले चर्चित भएका छन् । बलिउड सेलिब्रेटीदेखि माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सलेसम्म उनको चिया पिएका छन् । अनन्त अम्बानीको वैवाहिक समारोहमा भारत आएका बिल गेट्सको टोलीले विशेष रूपमा डलीलाई हैदरावाद बोलाएर उनको र चियाको सुटिङ गरेको थियो ।

दक्षिण भारतीय चलचित्र र कलाकारहरूबाट प्रेरित भएर डलीले चिया बेच्ने अनौठो तरिका सिर्जना गरेका थिए । यति मात्र होइन, उनले क्याप्टेन जेस स्प्यारोबाट आफ्नो ड्रेसिङ स्टाइल पनि अपनाएका छन् । आज उनको इन्स्टाग्राममा ४१ लाख भन्दा बढी फलोअर्स छन् । उनको ठेलामा मानिसहरु चिया पिउन मात्र होइन फोटो खिच्न र अटोग्राफ लिन पनि लाइन लाउने गर्छन् ।

कहिले के त कहिले के गरेर उनी चर्चा बटुली नै रहन्छन् । केहि समयअघि, उनी निजी विमान चढेको विषयले सामाजिक संजाल तातेको छ । उनी माल्दिभ्स भ्रमणका कारण चर्चामा थिए । माल्दिभ्स पुगेर पनि उनले चिया बनाएर भिडियो राखेका थिए । विदेशीहरूलाई चिया पिलाउँदै उनले स्टाइल देखाएका थिए । त्यसअघि, ल्याम्बोर्गिनी चढेको पनि उनी देखिएका थिए ।

एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १४:३३
प्रतिक्रिया दिनुहोस्