Nic Ad Nic Ad
Nic Ad Nic Ad

यसै वर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाइन्छ

शनिबार, भदौ २९, २०८१

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०८१ भित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाउने अठोट व्यक्त गरेका छन् ।

नेपाल बाल सङ्गठनद्वारा ६० औँ राष्ट्रिय बाल दिवसका अवसरमा आज प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले पनि ठुलो सङ्ख्यामा बालबालिकाहरू बेसहारा र अभिभावकविहीन हुनुका साथै शिक्षा र स्वास्थ्यका अवसरबाट वञ्चित भएको अवस्थामा यस्तो स्थितिलाई बदल्न सरकारले सङ्कल्प गरेको स्पष्ट गरे । 

प्रधानमन्त्री ओलीले दिवसका अवसरमा तय गरिएको ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ नारालाई सार्थक बनाउनुपर्नेमा जोड दिँदै बालबालिकाहरूले हप्की, दप्की, नियन्त्रण र बन्धनमा होइन उन्मुक्तिमा बाँच्न पाउनुपर्ने बताए। 

प्रथम महिला राधिका शाक्य, राष्ट्रिय बाल अधिकार परिषद्का सदस्यसचिव इन्दिरादेवी ढकाल, बाल सङ्गठनका अध्यक्ष विद्या न्यौपानेलगायत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घले गरेका बालअधिकारसम्बन्धी सम्झौता र नेपालको संविधानको मौलिक हकको कार्यान्वयन गर्दै बेसहारा बालबालिकालाई अभिभावकत्व दिएर हेरचाह गर्नपर्ने बताए।

‘बाल्यकालदेखि नै बालबालिकाहरूले असुरक्षाबाट ग्रस्त हुने स्थिति हुनु हुँदैन । अहिलेको सरकार बालअधिकार सन्दर्भमा होसियार छ । अघिल्लो पटक म प्रधानमन्त्री हुँदा बालबालिकाहरू अभिभावकविहीन भएर कोही बालबालिका सडकमा रहदैन भनेर भनेको थिएँ ।’, प्रधानमन्त्री ओलीले भने, ‘उनीहरुले आफ्नो नैसर्गिक अधिकारलाई अनुहारमा मुस्कानसहित उपभोग गर्न पाउनुपर्छ । भविष्यका कर्णधार बालबालिकामाथि आर्थिक स्थिति कमजोर भए पनि सरकारले लगानी गर्छ । उनीहरूको हितमा सुधार ल्याउन ठोस कदम चाल्नैपर्छ ।’

कार्यक्रममा दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १७:४३
प्रतिक्रिया दिनुहोस्