०८४ को निर्वाचनमा एमाले बहुमतमा आउने ओलीको दाबीमा कति ‘दम’ छ? तथ्यांकको विश्लेषण
काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ सालमा हुने प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीको बहुमत आउने दाबी गरेका छन्।
एमालेको पक्षमा खस्ने दाबीसहित माओवादी केन्द्रको मत घट्ने प्रक्षेपणसहित राष्ट्रिय पार्टीसम्म बन्ने हलुका टिप्पणी गरेका हुन्।
‘मिसन ०८४ लाई सफल पार्न यतिबेलै हामीले आफ्नो सारा सामर्थ्य लगाउनुपर्छ। अर्को पटक के हुन्छ के,’ भन्दै ओलीको यस्तो दाबी आएको थियो।
माओवादीको भोट प्रत्येक चुनावमा घट्दै गएको र अर्को चुनावमा थप ६÷७ लाख भोट घट्ने ओलीको दाबी थियो।
माओवादीप्रति कटाक्ष गरी उनले भने,‘एउटा चुनावमा ३१ लाख भोट आउँछ। अर्को चुनावमा पुग्दाखेरी १८ लाख जति आउँछ। अर्को चुनावमा पुग्दाखेरी १३ लाख आउँछ। अर्को चुनावमा पुग्दाखेरी ११ लाख आउँछ । अर्को चुनावमा पुग्दाखेरी ४/५ लाख आउँला कि! राष्ट्रिय पार्टीसम्ममा अडिएला कि!’
नयाँ दलसहित पुरातनवादी शक्तिको उदयका कारण पनि एमालेले ०८४ मा बहुमत ल्याउन सक्ने दाबीलाई अंक र विविध कारणमा पहिल्याउन सकिन्छ।
अंकका हिसाबमा गत निर्वाचनमा एमालेका पक्षमा जम्मा २७ लाख ९१ हजार ७३४ मत खसेको थियो। सबैभन्दा धेरै मत खसे पनि एमाले पहिलो दल बन्न सकेन।
०७४ को तुलनामा एमालेका लागि यो ०७९ मा खसेको मत नोक्सान थियो।
एमाले चोइटिनु तथा उसको लोकप्रियता खस्किएका कारण समानुपातिकमा नै खसेको उसको मत अलोकप्रिय बन्यो। ०७४ मा एमालेले ३१ लाख ७३ हजार ४९४ मत ल्याएको थियो। तर, त्यसको ५ बर्षपछि उसलाई झन्डै चार लाख मत घाटा लाग्यो।
एमाले निरन्तर ओरालो लागिरहेको अवस्थामा ओलीको दाबी ०८४ मा कति सत्य र तथ्यमा स्थापित हुनेछ आँकलन अस्वभाविक छ। किनभने एमाले नयाँ मतदाता र मत परिवर्तन गर्न चहाने मतदातालाई पनि चिढ्याइरहेका विविध कारण छन् भने भ्रष्टाचारलगायतमा नेताहरूको संलग्नताका कारण पनि अलोकप्रिय यात्रामा देखिन्छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध एमाले साइबर आक्रमणमा नै उत्रिएको छ। यसले ओलीको निजी सामाजिक सञ्जालमा क्षति पुग्यो। यसको अर्थ हो, नयाँ पुस्ताले एमालेलाई आगामी निर्वाचनमा रुचाउन सक्ने स्थिति छैन।
०७९ कै निर्वाचनलाई हेर्ने हो भने पनि सबैभन्दा बढी मतदाता रहेको काठमाडौंमा एमालेलाई घाटा भएको थियो।
२०७४ सालको निर्वाचनमा काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ६ वटामा एमाले विजयी भएको थियो। बाँकी चार निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए। गत चुनावमा नतिजा उल्टिँदा एमालेले वर्चस्व गुमाएको थियो।
०७४ मा एमाले क्षेत्र नं २, ३, ५, ७, ८ र ९ मा विजयी भएको थियो। २ मा माधव कुमार नेपाल, ३ मा कृष्णबहादुर राई, ५ मा ईश्वर पोखरेल, ७ मा रामवीर मानन्धर, ८ मा जीवनराम श्रेष्ठ र ९ मा कृष्णगोपाल श्रेष्ठले जितेका थिए।
यीमध्ये नेपाल र जीवनराम श्रेष्ठ एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा थिए। ०७९ मा आउँदा यीमध्ये निर्वाचन क्षेत्र नम्बर ९ मात्रै एमालेले जोगाउन सक्यो। क्षेत्र नम्बर ९ बाट पुनः कृष्णगोपाल श्रेष्ठ विजयी भए। बाँकी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी र कांग्रेसका उम्मेदवार विजयी भए।
एमालेलाई आगामी चुनावमा ठेस लाग्न सक्ने अन्य धेरथोर कारणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि पर्दछ। जनताले मत बदल्दै उसलाई सदनमा विस्तारै बलियो बनाउन थालेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संगठन विस्तारको गति पनि घातक हुनेछ। किनभने कायम रहेका मतदाता नै नयाँ पार्टीले खोस्ने हुन् भने नयाँ मतदाता आकर्षित गर्न नयाँ दल नै प्रभावकारी देखिएको छ। यसैकारण पनि रास्वपाले गत निर्वाचनमा समानुपातिकमा नै ११ लाख मत कटाएको थियो।
एमालेका निम्ति अर्को सकस हुन्, आफ्नै पूर्व केन्द्रीय सदस्य तथा मेडिकल व्यावसायी दुर्गा प्रसाईको अभियान। ओली र एमालेविरुद्ध काठमाडौंका सडकदेखि देशभरी नै प्रसाईंको अभियान भिडिरहेको छ भने मिडियामा पनि उनीहरूको गति बलियो बन्दा एमालेलाई धक्का लाग्न सक्छ।
समानुपातिकमा एमालेको मतमा लागेको घाटाको ट्रेन्डिङ हेर्ने हो भने ०८४ मा उसलाई कम्तिमा थप चार लाख मत घाटा लाग्न सक्छ। यसो हुँदा एमाले सदनमा दोस्रो दल बन्न सक्ला तर सांसद संख्या कम हुन्छन् भने उसको लोकप्रियता २२/२३ लाखको जनमतमा खुम्चिन सक्ने स्थिति छ।
यसर्थ, अहिले ओलीले आगामी निर्वाचनमा बहुमतमा आउँछ भनी गरेको दाबीमा ‘दम’ देखिने स्थिति छैन। दुई बर्षको सरकार सञ्चालन र डेढ बर्षको सरकारमा सहभागी भएर गरेका कामका आधारमा केही प्रतिशत मत तलमाथि हुन सक्ला।
अध्यावधिक गरिएको। –सम्पादक