Nic Ad Nic Ad
Nic Ad Nic Ad

खानेपानी मन्त्री प्रदीप यादवको आतङ्कः कार्यकर्ता भर्ती गर्न एक्लौटी उर्दी, नमान्ने उपसचिवको सरूवा

आइतबार, भदौ ३०, २०८१

काठमाडौं– १०औं बर्षदेखि करारमा जागिर खाइरहेका कर्मचारीलाई ठाडो आदेशमा हटाउने उर्दी जारी गर्दै पार्टीका कार्यकर्ता र भरौटे भर्तीका लागि खोपानी मन्त्रालयमा मन्त्री प्रदीप यादवले आतङ्क मच्चाएका छन्। 

मन्त्रालय स्रोतका अनुसार खानेपानी विभाग, खानेपानी डिभिजन कार्यालयमा पनि मन्त्री यादवको आतङ्कले सीमा नाघेको छ। 

कांग्रेस–एमाले गठबन्धनमा सहभागी भएको जनता समाजवादी पार्टी (अशोक राई)को दलका तर्फबाट मन्त्री बनेका यादवले मन्त्रालय सचिव र विभागका महानिर्देशकलाई दबाब दिएका छन्। 

यतिसम्म गरेकी विभागका प्रशासन प्रमुख रहेका एक उपसचिवले मन्त्री यादवको उर्दी नमान्दा आन्तरिक सरुवा गर्दै मन्त्रालयमा थन्क्याएका छन्। 

संघीय खानेपानी तथा ढल व्यबस्थापन आयोजना अन्तर्गत कार्यालय सहयोगी, कम्प्युटर अपरेटर तथा खानेपानी टेक्निसियनलगायतका अस्थायी कर्मचारीका लागि सरकारले २१० जनाको कोटालाई यस आर्थिक बर्षका लागि स्वीकृत गरेको थियो। 

ति सबै अस्थायी कर्मचारीमा दलका हुक्के, चम्मे र आफ्ना भारदारसहित भाई, भतिज अनि कार्यकर्ता भर्ती गर्ने मन्त्री यादवको तयारी रहेको छ।
‘सरकार र मन्त्री फेरिँदै जाँदा अस्थायी कर्मचारीको बिल्लीबाठ बनाउने काम भइरहेको छ। अहिलेका मन्त्री पनि त्यहि गरिरहेका छन्’, मन्त्रालय उच्च स्रोतले भन्यो।

यति मात्र होइन मन्त्रालय र विभाग अन्तर्गतका सरुवाको समय आएका कारण विभिन्न तहका हाकिमलाई बोलाएर परोक्ष रुपमा कमिशनको माग पनि हुने गरेको बताइएको छ।

मन्त्रीको हर्कतले खानेपानी विभाग नै आतङ्कित बनेको छ।

यादव पटक–पटक मन्त्री बनिसकेका छन्। यसअघि बन मन्त्रालयको जिम्मेवारीमा रहँदा पनि उनको यस्तै हर्कत रहेको बताइन्छ। मन्त्री पदका लागि उनले सत्ता र शक्तिसँग जहिल्यै सम्झौता गर्दै आइरहेका छन् भने पटक–पटक मन्त्री पदमा उनकै नियुक्ति गरिँदै आएको छ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १५:१४
प्रतिक्रिया दिनुहोस्