Nic Ad Nic Ad
Nic Ad Nic Ad

भ्यालेन्सियामाथि एट्लेटिको मड्रिडको सहज जित, अल्भारेजले गरे पहिलो गोल

सोमबार, भदौ ३१, २०८१

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले भ्यालेन्सियामाथि सहज जित हात पारेको छ । 

घरेलु मैदानमा भएको खेलमा एट्लेटिको मड्रिडले भ्यालेन्सियालाई ३-० गोलअन्तरले पराजित गरेको हो । एट्‌लेटिको मड्रिडको जितमा कोनोर गल्लाघेर, एन्टोनी ग्रिजमन र जुलियन अल्भारेजले गोल गरे ।

खेलको ३९औँ मिनेटमा गल्लाघेरले गोल गर्दै एट्लेटिको मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता लिएको एट्लेटिको मड्रिडले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । खेलको ५४औँ मिनेटमा ग्रिजमनले गोल गर्दै एट्लेटिको मड्रिडको अग्रता दोब्बर पारेका थिए ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा अल्भारेजले गोल गरेपछि एट्लेटिको मड्रिड भ्यालेन्सियामाथि ३-० गोलअन्तरको जित निकाल्न सफल भएको हो । वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका अल्भारेजले एट्लेटिको मड्रिडको जर्सीमा पहिलो गोल गरेका हुन् । त्यसका लागि अल्भारेजले पाँचौँ खेलसम्म पर्खिनुपर्‍यो । 

जितपछि एट्लेटिको मड्रिड ५ खेलबाट ११ अंकका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको समान खेलबाट १५ अंक छ । ५ खेलबाट ११ अंक जोडेको रियल मड्रिड भने लिगको तेस्रो स्थानमा छ । पराजित भ्यालेन्सिया ५ खेलबाट १ अंकका साथ लिगको पुछारमा छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०८:५२
प्रतिक्रिया दिनुहोस्