Nic Ad Nic Ad
Nic Ad Nic Ad

झोलुङ्गे पुल तर्दै पहिलो पटक सुस्ता पुग्यो बिजुली

सोमबार, भदौ ३१, २०८१

काठमाडौं - नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । नारायणी नदीमा निर्माण गरिएको एक हजार ५७१ मिटर लामो झोलुङ्गे पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पूर्ण रूपमा पालना हुने गरी दायाँबायाँबाट ११ केभी लाइन निर्माण गरी सुस्ता बस्तीमा विद्युत् पुर्‍याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

सुस्ता बस्तीको विद्युतीकरण कार्य आर्थिक वर्ष २०७९/८० मा सुरु गरिएको थियो । लाइन नारायणी पार गराउन नदीमा पोल गाड्न सम्भव नभएपछि झोलुङ्गे पुल निर्माण सम्पन्न नहुन्जेलसम्म पर्खनु परेको थियो । एक करोड ३३ लाख रुपियाँ अनुमानित लागतमा यहाँ विद्युतीकरण गरिएको हो ।

प्राधिकरणले सुस्ता गाउँपालिका–५ स्थित सकरदिनयीबाट करिब पाँच किलोमिटर ११ केभी लाइन निर्माण गरी नारायणी नदीपारिको सुस्ता बस्तीमा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुर्‍याएको हो ।

तीनतिरबाट नारायणी नदीबाट घेरिएको र एकातर्फ भारतसँग सिमाना जोडिएको सुस्ता बस्ती राष्ट्रिय प्रसारण लाइनको विद्युत्सँग जोडिएको छ । गाउँपालिका, लुम्बिनी प्रदेश सरकार र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको साझेदारीमा जडान गरिएको एक सय किलोवाटको सौर्य ऊर्जाबाट सुस्ता बस्तीमा विद्युत् आपूर्ति हुँदै आएको थियो तर भरपर्दो थिएन ।

सुस्ता बस्तीमा विद्युत् आपूर्तिका लागि एक सय केभिए क्षमताका दुई वटा वितरण ट्रान्सफर्मर राखिएका छन् । अब त्यहाँबाट उपभोक्ताको घर घरमा विद्युत् आपूर्ति दिन सुरु गरिने प्राधिकरणले जनाएको छ । सुस्ता बस्तीमा करिब ३५० घरधुरी छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशलाई उज्यालो बनाउने अभियान अन्तर्गत पूर्ण विद्युतीकरणको अन्तिम यात्रामा सुस्तामा राष्ट्रिय प्रसारण लाइनको विद्युत्पुर्‍याइएको बताए ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०९:१२
प्रतिक्रिया दिनुहोस्