Nic Ad Nic Ad
Nic Ad Nic Ad
राजनीतिमा भ्रष्ट आचरण

‘रस्सी टुट गई ऐंठन बाँकी है’ भन्थे, नक्कली भुटानी प्रकरणले काराबासमा मच्छर धपाउँदैछन् 

राजनीतिक जीवनमा अनेक मोड, अवसर र मतिको यात्रा गरेका रायमाझी अहिले काराबासका कोठामा मच्छर धपाउने स्थितिमा
सोमबार, भदौ ३१, २०८१

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको अन्तिम फैसला आइनसके पनि राजनीतिमा भ्रष्ट आचरणको कसी अन्ततः दुखान्तको लेखा नै हुन्छ भन्ने प्रमाण हुन्– टोपबहादुर रायमाझी। 

उनी मात्र होइन सत्ता र शक्तिको आडमा गरिएको हर्कतमा छोरा सन्दीप रायमाझी पनि भागीदार छन्, जो सुन्धारा कारागारमा पूर्पक्षको जीवन बिगत एक बर्षभन्दा बढी समयदेखि भोगीरहेका छन्। 

राजनीतिक जीवनमा अनेक मोड, अवसर र मतिको यात्रा गरेका रायमाझी अहिले काराबासका कोठामा मच्छर धपाउने स्थितिमा पुगेका छन्। 

तत्कालिन नेकपा विभाजन भई एमाले र माओवादी ब्युँतिँदा रायमाझी एमालेका एक पदाधिकारी बनिसकेका थिए। उनलाई १०औं महाधिवेशनले सचिवमा सर्वसम्मत गरेको थियो भने एमालेबाटै अर्घाखाँचीमा निर्वाचन जितेका थिए। 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी कायम गरी अमेरिका पठाउने प्रकरणमा संलग्नता देखिएपछि भने राजनीतिक जीवनमा उनलाई ठूलो नोक्शान भएको छ। 

न एमाले सचिवको पद रहेको छ, न सांसद पद नै कायम छ। 

नेकपा विभाजनका बेला रायमाझी ओली खेमामा उभिएका थिए। त्यसबेला एमाले र माओवादी ब्युँतिनसक्दा रायमाझीले पुष्पकमल दाहाल प्रचण्ड पक्षधरलाई कटाक्ष गरी भनेका थिए,‘उहाँहरु भनेको रस्सी गल गई ऐंठन बाँकी है भन्ने उखानका पात्र बने। असली नेकपा त यहाँ छ, कमरेड केपी ओलीसँग।’

तर अहिले रायमाझीसँग न माओवादी छ न एमाले हुनुको अर्थ नै। 

रायमाझीलाई २०८० साल वैशाख ३० गते प्रहरीले पक्राउ गरेको थियो। काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिइएका उनी केही दिन अस्पताल बसेका थिए।

अनुसन्धानको पूरा एक महिनापछि उनीलगायतलाई जेल चलान गरिएको थियो। सोही बर्षको असार १ गते रायमाझी जेल चलान भए। जिल्ला अदालतले रायमाझीसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। 

यसपछि उनको सांसद पद पनि चिप्लियो। 

प्रतिनिधिसभा नियमावलीको नियम १४८ उपनियम ३ मा प्रतिनिधिसभा सदस्य रहेका व्यक्ति फौजदारी अभियोगमा पक्राउ परेर थुनामा गएपछि निलम्बनमा पर्ने व्यवस्था छ। अहिले निलम्बित सांसद हुन्। 

नियमावलीको व्यवस्थाअनुसार रायमाझीले सांसद भएबापत कुनै प्रकारको तलब सुविधा पाएका छैनन्। 

सोही बर्षको वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए। अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी त्यहीँबाट फरार थिए। 

यीनले त्यसबेला पक्राउबाट छल्नका लागि संसद सचिवालयलाई बिरामी भएको पत्र पनि पठाएका थिए। 

यसअघि पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मासहित १२ जना परिसकेका थिए।

अहिले खाँण भने धरौटीमा रिहा भइसकेका छन्। अन्य थुनामा नै छन्। कांग्रेस पूर्वसांसद आङटावा शेर्पा पनि थुनामा छन्। 

नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा जिल्ला अदालतको आदेशमा कारागार चलान भएका १६ अभियुक्तलाई सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइएको थियो। जहाँ दुईवटा छुट्टाछुट्टै ब्लकमा आठ–आठजना राखिएको छ। 

रायमाझी भद्र बन्दीगृहमा छन्। त्यहाँ उनलाई रात कटाउन मुस्किल पर्छ। कारागार स्रोतले भन्यो,‘जस्तो छ त्यसरी नै बसीरहनु भएको छ। अलि अलि मुस्किल त हुने नै भयो।’

अदालतको आदेशअनुसार १६ जनालाई फोटो खिचेर उनीहरूको अभिलेख दर्ता गराई कारागारभित्र राखिएको थियो। भित्र पुगेपछि इन्द्रजित राईले ‘यहाँ के–के खान पाइन्छ ?’ भनेर कारागार प्रशासनसँग सोधेका थिए।

रायमाझी माओवादी युद्धकालका एक अग्रपंक्तिका योद्धा थिए। माओवादी शान्ति प्रक्रियामा आएपछि पटक–पटक मौका पाएर मन्त्री बनेका उनी ओली सरकारमा पनि मन्त्री बन्न भ्याए। तर, राजनीतिमा भ्रष्ट आचरणको लतले सताएपछि अहिले काराबासको जीवन भोगीरहेका छन्।
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्