Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी ठगी छानबिन समितिको प्रतिवेदनमा हस्ताक्षर जारी, रविको नाम राखिएको प्रधानले पनि गरे पुष्टि

सोमबार, भदौ ३१, २०८१

काठमाडौं– सहकारी ठगी प्रकरणको छानबिनका लागि बनाइएको संसदीय समितिले तयार पारेको प्रतिवेदनमा संयोजकसहित सदस्यले हस्ताक्षर जारी राखेका छन्। 

समितिका सदस्य राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले क्यानडानेपालसँग भने,‘सहमतिमा नै प्रतिवेदन तयार पारी बुझाउने हो, हस्ताक्षर जारी छ। मैले गरिसकें।’

सहकारी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेको विषयमा विविध कोणबाट चर्चा भइरहेको विषयमा प्रधानले भने,‘त्यत्रो सदन अबरोध भएर बनेको समिति हो। गोर्खा मिडियाको नाम आएपछि उहाँको नाम नहुने कुरा नै हुँदैन।’

यसअघि सहकारीबाट सिधा गोर्खा मिडियामा रवि लामिछानेले रकम जम्मा नगरे पनि जीबी राईले ल्याएको रकम अपचलन र चलाउने काममा संलग्नता पुष्टि भएको अर्का सदस्य माओवादीका सांसद लेखनाथ दाहाल राजनले बताएका थिए। 

‘रकम अपचलन भएको छ। सहकारीको पैसा गोर्खा मिडियामा आएपछि दस्तखत गरेर उहाँले चेक काटेको, अन्यत्र दिएको, हस्ताक्षर गरेको, ग्लोबल आईएमबी बैंकलगायतका प्रमाण छन्’, दाहालले क्यानडानेपालसँग भने,‘रविजीको नाम यसै पनि राख्नुपर्ने स्थिति हुन्छ।’

यता रास्वपाका सांसद तथा समिति सदस्य शिशिर खनालले भने सहकारी ठगीमा लामिछानेको संलग्नता नभएको बताएका थिए। उनीबाहेक रकम अपचलनमा लामिछानेको संलग्नताको पर्याप्त प्रमाण रहेको सबै सदस्यले बताइसकेका छन्।

समितिले प्रतिवेदन सोमबार प्रतिनिधि सभामा बुझाउनेछ।
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्